तनहुँमा ६१ जना कोरोना संक्रमित थपिए, अधिकांश संक्रमित भोजभतेरमा संलग्न, सक्रिय संक्रमितको संख्या २०२ पुग्यो
भञ्ज्याङ न्यूज

तनहुँमा एकैसाथ हालसम्मकै अधिक कोभिड-१९ संक्रमणको तथ्याङ्क सार्वजनिक भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा तनहुँका ६१ जनामा संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भिमादका १८ जना, व्यासका १३ जनामा संक्रमण पुष्टि भएको छ भने अन्य पालिकाकाका नागरिकहरुमा संक्रमण देखिएको छ । यस्तै, व्यास १ की ६० वर्षीया महिलाको संक्रमणका कारण शुक्रबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
यस्तै, दमौली अस्पतालमा गरिएको एन्टी जेन परीक्षणका क्रममा पाँच जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी राजधानीको विध ल्याबको रिपोर्टमा तनहुँका १४ पुरुष र १४ महिला गरी २८ जनामा संक्रमण देखिएको भनिए पनि तहगत विवरण भने प्राप्त नभएको निर्देशनालयले जनाएको छ ।
तनहुँमा पछिल्ला दिनमा ठूलो स्तरमा संक्रमित थपिने क्रम जारी छ । निर्देशनालयका अनुसार तनहुँमा हाल २०२ जनामा सक्रिय संक्रमण देखिएको छ । संक्रमितको संख्या बढ्दै गएपछि तनहुँ प्रशासनले अहिले आंशिक निषेधाज्ञा जारी गरेको छ ।
यस्तै, जिल्लामा कोरोना संक्रमित भएका अधिकांश विवाह, वर्तबन्धको भोजभतेर तथा भिडभाडजन्य गतिवधिमा सहभागि हुँदा संक्रमण भएको आशंका गरिएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाबासिलाई शुभकार्य तथा अन्य भिडभाडजन्य गतिविधिमा सहभागि नहुन आग्रह गरेपनि लापरवाहीपूर्ण गतिविधि भएका कारण पछिल्लो समय दैनिक जसो संक्रमितको संख्या बढ्दै गएको औल्याएको छ ।
गत वर्षो चैतमा लकडाउन भएपछि त्यसयता विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रम हुनसकेका थिएनन् । गत फागुन महिना र वैशाख ५ गतेसम्म पनि शुक्रअन्ध भएका कारण शुभकार्य गर्न नहुने धार्मिक मान्यता थियो । लामो समयदेखि रोकिएका यस्ता कार्यक्रम वैशाख पहिलो हप्तापछि धमाधम भएका थिए । यस्ता कार्यक्रममा सहभागी नै बढी संक्रमित भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ तथा ट्राभल हिस्टि्रलाई हेर्दा अधिकांश विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रममा सहभागि भएका तथा भारत लगायत अन्य मुलुकबाट फर्किएका समेत रहेको भेटिएको छ । उनले भने, ‘नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण जोखिम बढेकाले नागरिकलाई सावधानी अपनाउन सचेत गरिएता पनि नागरिकहरुकै लापरवाहीजन्य गतिविधिका कारण अहिले जिल्लामा समुदायस्तरमै संक्रमण फैलिन पुगेको छ ।
वैशाखयता जिल्लामा संक्रमितको संख्या वृद्धि हुँदै गएको छ । कार्यालयको प्रारम्भिक र्सर्वेक्षणमा अधिकांशले विवाह, व्रतबन्ध, भोजभतेरमा सहभागी भएपछि संक्रमणमा परेको बताएका छन भने कतिपयले जिल्ला बाहिर गएर आएपछि संक्रमणमा परेको पनि जनाएको प्रमुख अधिकारीले बताए । यस्तै जिल्लामा संक्रमण पुष्टि भएका केही व्यक्तिले आफ्नो नाम, ठेगाना सहि उल्लेख नगर्दा समेत कहाँ कसरी संक्रमण भयो भन्ने विषयमा तथ्याङ्क लिन समस्या आएको उनले बताए ।
विवाहमा २५ जनाभन्दा बेहुलापट्टीका २५ र बेहुलीपट्टीका २५ भन्दै फरक-फरक व्याख्या गरेर सरकारले गरेको निर्देशन अधिकांशले अटेर गरेका छन् । गत वर्षपनि यस्ता कार्य हुन नसकेकाले कोरोना सक्किइहाल्यो नि भन्दै धेरैले मन फुकाएर आफन्त डाक्ने गर्दा अहिले जिल्लामा दैनिक जसो संक्रमितको संख्या बढ्दै गएको पाइएको छ ।
पछिल्लो समयमा विगतकै तुलनामा विवाह, व्रतबन्ध धुमधामका साथ हुने गरेका थिए । यस्ता कार्यक्रममा विभिन्न जिल्ला र विदेशबाट आउनेसमेत सहभागी हुने गर्दथे । कतिपय भारतबाट समेत यस्ता कार्यक्रममा सहभागी हुन आएका थिए । जुन आज कोरोना फैलाउने माध्यम बनेको विज्ञहरू बताउँछन् । संक्रमण भयावह हुँदासमेत हिजोआज पनि लुकीछिपी यस्ता कार्यक्रम हुँदै आएका छन् । प्रशासनले घरमा परिवार मात्रै बसेर यस्ता कार्य गर्न भने पनि अटेर गरेर आफन्त बोलाउँदै कार्यक्रम गरिरहेका कारण अहिले कोरोना संक्रमणले भयवह रुप लिदै गएको छ ।










