मापदण्डविपरीत सञ्चालित आँवुखैरेनीका तीन बेकरीको उत्पादन रोक्का

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकामा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका तीन बेकरी उद्योगको उत्पादन रोक्का गरिएको छ । गाउँपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, उद्योग वाणिज्य संघ आँबुखैरेनी, इलाका प्रहरी कार्यालय र होटल व्यवसायी संघको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा ती उद्योगमा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी कमजोरी भेटिएपछि उत्पादन रोक्का गरिएको हो ।

अनुगमनका क्रममा काठको प्लाइउडमा डो बेल्ने, उद्योग परिसरमा आवश्यक सरसफाइ नगर्ने, म्याद नाघेका सामग्री फिर्ता ल्याएर व्यवस्थित रूपमा भण्डारण नगर्ने तथा उद्योगको दर्ता र नवीकरण अद्यावधिक नगरेको पाइएको थियो । टोलीले तत्काल उत्पादन रोक्दै उद्योगमा सुधारका लागि विभिन्न निर्देशन दिएको छ ।

बेकरीमा मार्बल वा स्टेनलेस स्टिलको टेबल प्रयोग गर्न, उद्योग परिसरको सरसफाइ तथा रंगरोगन गर्न, प्रशोधन कक्ष र भाँडावर्तन सफा राख्न तथा मैदालगायत कच्चा पदार्थको भण्डारण व्यवस्थित गर्न निर्देशन दिइएको छ ।

त्यस्तै, उद्योगको दर्ता तथा नवीकरणसमेत समयमै अद्यावधिक गर्न टोलीले निर्देशन दिएको छ । खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम तीनवटै उद्योगको उत्पादन रोक्का गरिएको हो । आवश्यक सुधार गरी गाउँपालिका वा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयलाई जानकारी गराएपछि पुनः अनुगमन गरिने उनले बताए ।

‘अनुगमनमा देखिएका कमजोरी सुधार गरेपछि पुनः अनुगमन हुन्छ’, आचार्यले भने, ‘मापदण्ड पूरा भएको अवस्थामा मात्र उत्पादन सञ्चालनको अनुमति दिइनेछ ।’ अनुगमन टोलीले खाद्य पदार्थ उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योगले खाद्य स्वच्छता र गुणस्तरका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker