तनहुँको बाढीपहिरो : २ को मृत्यु, ७ घाइते, ठूलोमात्रामा भौतिक र कृषि क्षेत्रमा क्षति
भञ्ज्याङ समाचारदाता/तनहुँ
बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण तनहुँमा पहिरोले घर पुरिएर दुइ जनाको मृत्यु भएको छ भने बाढीपहिराका कारण ७ जना घाइते भएका छन् । बन्दिपुर गाउँपालिका वडा नं. ३ तामुङमा पहिरोले घर पुरिदा ७२ वर्षीया हरिमाया सार्की र करिब ३२ वर्षीया सरस्वती थापाको मृत्यु भएको छ । ७२ वर्षीया हरिमाया घरमा एक्लै बस्दै आएकी र उनको घरमाथी सडकबाट बिहान ६ बजे खसेको पहिरोले पुरिएर मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।
यस्तै, बिहान करिब ३ बजेको समयमा खसेको पहिरोले च्यापिएर सरस्वतीको मृत्यु भएको बताइएको छ । मृतकका ससुरा ६६ वर्षीय दिलबहादुर थापा मगर, सासु ५८ वर्षीया दाउरीमाया र देवर २६ वर्षीय सुवास घाइते भएका छन् । घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ । उनीहरू खतरामुक्त रहेका छन् ।

बन्दिपुर गाउँपालिकाकी उपप्रमुख करुणा गुरुङ सहितको अनुगमन टोलीले बुधबार दिउँसो उक्त बस्तिको अनुगमन गरी पहिरोको उच्च जोखिम भएकाले अन्यत्र बस्न अनुरोध गरेपनि उनिहरु घरमै बसेको बताइएको छ । अनुगमन टोलीले सचेत गराएपनि घाइते सुवासकी श्रीमती र छोरा भने अन्यत्रै गएर बसेका कारण सुरक्षित रहेको गाउँपालिकाले जनाएको छ ।
# पृथ्वीराजमार्गको तनहुँ खण्डमा दर्जनौ सानाठूला पहिरो
# भित्री तथा ग्रामीण सडक पूर्णरुपमाबन्द
# बाढीपहिरोले कृषि र पशुपंक्षी क्षेत्रमा पनि ठूलो क्षति
घर माथिबाट खसेको पहिरोले घर ढल्दा उनीहरू च्यापिएको अवस्थामा फेला परेको वडा सदस्य खड्का बहादुर थापाले बताए । २ दिनअघि पनि घरमाथिबाट पहिरो खसेर सडकमा थुप्रिएको र राती त्यही थुप्रिएको पहिरो र सडक सहित खसेर घर पुरेको वडासदस्य थापाले जानकारी गराए । २ वर्षअघि मात्रै यहाँको सडक विस्तार गरी ८ मिटर फराकिलो बनाइएको थियो । सडककै कारण पहिरो खसेको स्थानीयको अनुमान छ । तामुङका आधा दर्जन घर पहिरोको जोखिममा परेका छन् ।

यस्तै, शुक्लागण्डकी नगरपालिका-१० मा पहिरोमा परेर ३ जना घाइते भएका छन् । सबैको अवस्था सामान्य छ । शुक्लागण्डकी-१० सिम्लेका चेतबहादुर भुजेलको घरमाथिको सडकबाट पहिरो खस्दा उनकी श्रीमती ६० वर्षीया खगीमाया र नाति १४ वर्षका विज्ञान घाइते भएको वडाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी गराए । घाइते दुबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
भुजेलको गोठसमेत पहिरोले पुर्दा १० वटा बाख्रा मरेका छन् । यस्तै, सोही स्थानका टेकबहादुर महतको पनि पहिरोले १० वटा बाख्रा र १ भैँसी पुरेको छ । शुक्लागण्डकी-१० खोरादीमा पनि पहिरोले घर बगाएर ५४ वर्षका भविलाल विक घाइते भएका छन् । उनको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको बताइएको छ ।

त्यस्तै, व्यास नगरपालिकाको छाब्दी खोलामा आएको बाढीले दमौली-घुमाउने सडक खण्डको पक्की पुलै बगाइदिएको छ । बाढीले बुद्धसिंह मोटर मार्गमा पर्ने व्यासको वडा नम्बर १ र १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बगाएको हो । पुल बगाएसँगै बुद्धसिंह मार्ग, केशवटार मार्गमा आउजाउमा समस्या भएको छ ।
पृथ्वी राजमार्गको ठाउँ-ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध छ । राजमार्गको आँवुखैरेनीदेखि कोत्रे सडक खण्डको विभिन्न ठाउँमा साना ठूला पहिरो खसेका छन् । पहिरो हटाउँदौ एकतर्फी सावरी साधान सञ्चालन गरिएपनि पहिरो खसिरहेका कारण पूर्णरुपमा सडक सुचारु गराउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

बुधबार रातीदेखि परेको झरीका कारण पृथ्वी राजमार्गको दुलेगौडा-खैरेनीटार सडक खण्ड जलमग्न बन्न पुगेको थियो । भारी वर्षाले जलमग्न सडकमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको छ । बाढीले यस खण्डको सडकमा ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ । जिल्लाका ग्रामीण सडक बाढीपहिरोका कारण अवरुद्ध बनेका छन् । सयौँ घर जोखिममा छन् । हजारौँ हेक्टरमा लगाइएको धानबालीमा बाढीले क्षति पुर्याएको छ ।
निरन्तर वर्षाका कारण अझै क्षति हुन सक्ने भएकाले चनाखो बन्न प्रशासनले अनुरोध गरेको छ । तनहुँ हुँदै बग्ने सेती, कालीगण्डकी, मादी, मर्स्याङ्दी नदीमा पानीको वहाब बढेको छ । साना खहरे खोलामा पनि बाढी आएको छ ।

त्यस्तै वर्षासंगै आएको बाढीपहिरोले पृथ्वीराजमार्गको तनहुँ खण्डमा व्यास-१२ घासीकुवा, बन्दिपुर गाउँपालिका-१ डुम्रेबजार र ४ चिसापानी, म्याग्दे-५ धारापानी स्थित खैरेनीटार भित्री सडक खण्डमा सडक माथीबाट आएको बाढी पहिरोको कारण सडक अबरुद्ध भएकोमा सशस्त्र प्रहरी बल, सम्बन्धित इलाका प्रहरी कार्यालयहरुबाट खटिएका प्रहरी अधिकृत समेतको टोली, स्थानीय जनप्रतिनिधी तथा अन्य निकायहरुसँग समन्वय गरी सडक सुचारु गरिएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले जानकारी गराए ।

यस्तै, पहिरो प्रभावितहरुको उद्धार तथा व्यवस्थापनमा सशस्त्र प्रहरी बल मनकामना गण भानु, नेपाली सेना, प्रहरी तथा स्थानीय खटिएका छन् ।










