प्रकृति र संस्कृतिका विविधताको उपयोगमा जोड्

- भञ्ज्याङ समाचारदाता (पोखरा)
गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रममा ग्रामीण क्षेत्रका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत शनिबार बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँकोटस्थित शिवधुरी सामुदायिक घरवास र गलकोट नगरपालिका-११ स्थित रिघा सामुदायिक घरवासमा गरिएका अन्तरक्रिर्यामा वक्ताले नेपालमा ग्रामीण क्षेत्रमा पर्याप्त पर्यटकीय सम्भावना भएर पनि त्यसको अझै उजागर हुन नसकेको बताए । कोरोना कहरका कारण थलिएको पर्यटनलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै चलायमान गराउनुपर्नेमा पनि वक्ताहरूले जोड दिए ।
भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले ‘हरेक गाउँ, पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ भिटोफले गाउँ पर्यटनको प्रवर्द्धन र विकासमा जोड दिएको बताए । लामो समयदेखि कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीसहितको टोली पुनःउत्थान एवं प्रवर्द्धन कार्यक्रममा सहभागी भएको उनले बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय गाउँको प्रवर्द्धनका माध्यमबाट आन्तरिक पर्यटनको विकास गर्न सकिने बताए । पर्यटनमा बाटोको सहजता अपरिहार्य हुने बताउँदै उनले गाउँसम्म आउने बाटोलाई व्यवस्थित गर्नेतर्फलाग्नुपर्ने आवश्यकता औल्याए । पर्यटकीय सम्भावनाका आधारमा गाउँको प्राथमिकीकरण गर्दै अघि बढ्नुपर्ने उनको भनाई थियो ।
नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले रमणीय गाउँहरूमा पर्यटनका धेरै सम्भावना रहेको भन्दै पूर्वाधार विकास लगायतमा स्थानीय जागरुकता अपरिहार्य हुने बताए । स्थानीय जागरुकता भएमा बजेटको अभावमा पूर्वाधार नरोकिने उनको तर्क छ । शिवधुरी सामुदायिक घरवासका अध्यक्ष प्रेमबहादुर श्रीषले घरवास पर्यटनमा पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह हुनुपर्ने आवश्यकता औल्याए । घरवास सञ्चालनका लागि निर्धारित मापदण्डलाई सहज बनाउनुपर्ने उल्लेख गर्दै उहाँले सुन्दर गाउँहरू प्रवर्द्धनको पर्खाइमा रहेको बताए । घरवासका सचिव प्रेमबहादुर पुन, उपाध्यक्ष ध्रुवबहादुर कँडेल, काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य हेमबहादुर विकलगायतले शिवधुरी र आसपासका ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थललाई पर्यटनसँग जोड्न सकिने धेरै आधार रहेको उल्लेख गरे।
गन्तव्य वर्ष घोषणाले उत्साहित
रिघा सामुदायिक घरवासमा आयोजित अन्तर्क्रियामा जनप्रतिनिधि एवं घरवास सञ्चालकले रिघा सामुदायिक घरवासलाई भिटोफ गण्डकी प्रदेशद्वारा गन्तव्य वर्ष घोषणा गरिनुले यहाँको पर्यटकीय विकासमा उत्साह थपेको बताए । गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले भिटोफले रिघा समुदायिक घरवासलाई गन्तव्य वर्ष घोषणा गर्नुले यहाँका स्थानीयवासीलाई उत्साहित बनाएको बताउँदै कृषि र पर्यटनलाई सँगसँगै लैजाने उल्लेख गरे । स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्दै स्थानीयवासीको आयआर्जन बढाउने सोच राखेर पर्यटकलाई प्राङ्गारिक उत्पादन खुवाउने गरी स्थानीयवासी क्रियाशील बनेको उनले बताए । गलकोट नगरपालिकाका प्रवक्ता खिमबहादुर भण्डारीले नगरपालिका भित्र रिघासहित चार घरवास सञ्चालनमा आएको जानकारी दिँदै धेरै सम्भावना भएर पनि लुकेका पर्यटकीय गाउँको प्रवर्द्धन गर्न आवश्यक हुने बताए । रिघा सामुदायिक घरवासका अध्यक्ष सुमन श्रीसले कोरोना महामारीसँगै सुस्ताएको घरवास पर्यटन विस्तारै पूर्ववत् अवस्थामा आउने विश्वास व्यक्त गरे । गलकोट नगरपालिका-११ का वडाध्यक्ष डम्बर श्रीसले समुद्री सतहबाट एक हजार ७०० मिटर उचाइमा रहेको रिघा हिमाली एवं पहाडी दृश्यावलोकनका लागि आकर्षक गन्तव्य भएको उल्लेख गरे ।










