व्यासमा डेंगु नियन्त्रणका लागि पूर्व तयारी

गर्मी मौसम सुरु भएसंगै तनहुँको व्यास नगरपालिकाले डेंगु नियन्त्रणका लागि पूर्व तयारी गर्न आग्रह गरेको छ । नगरपालिकाले सोमबार १४ वटै वडा, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय तथा टोल विकास संस्थालाई पत्रचार गरी डेंगु नियन्त्रणका लागि पूर्व तयारी गर्न अनुरोध गरेको हो ।

गत वर्ष डेंगु संक्रमणका कारण आक्रान्त बनेको व्यास नगरपालिकाले यस वर्ष गर्मी सुरुभएसंगै डेंगु संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वतायारीमा जुट्न आफ्ना मातहतका सबै निकायलाई सचेत गराएको छ । गत वर्ष तनहुँमा डेंगु संक्रमितको संख्या करिब सात हजार पुगेको थियो भने डेंगु संक्रमणबाट चार जनाले ज्यान गुमाएका स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले गत वर्ष नगरपालिकाका सबै वडामा डेंगुको संक्रमण फैलिई जनस्वास्थ्य समस्याको रुपमा रहेको र तनहुँ जिल्ला मध्ये व्यास नगरपालिका क्षेत्र सबैभन्दा बढि प्रभावित भएकाले यस रोगको संक्रमणबाट अकल्पनीय रुपमा जनधनको समेत क्षती पुगेको हुँदा यस वर्ष समयमै सचेत बन्न अनुरोध गरिएको बताए ।

डेंगु ज्वरो लाग्न नदिन पूर्व तयारी, रोकथाम, लामखुट्टे नियन्त्रण जस्ता कार्यलाई प्रभावकारी रुपमा समयमै सञ्चालन गरी नागरिकको स्वास्थ्य सुरक्षाको लागि प्राथमिकतामा राखी यस रोगको रोकथाम, नियन्त्रण र न्युनिकरणका लागि सरोकारवाला सबैसँग समन्वय गरी जनस्तरसम्म सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गर्नुरपर्ने स्वास्थ्य प्रमुख सोतीले बताए ।

डेंगु नियन्त्रणका लागि लामखुट्टेको वासस्थान र फुलपार्ने ठाउँ खोजी गरी लार्भा ‘खोज र नष्ट गर अभियान’ सञ्चालन गर्न परिपत्र गरिएको प्रमुख सोतीले बताए । सबै वडा कार्यालय, संघसंस्था, स्वास्थ्य संस्था, सरोकारवाला निकाय र जनसमुदायलाई उक्त अभियान सञ्चालन गर्न अनुरोध गरिएको छ ।

घर वरपर सरसफाइ गरी पानी जम्न नदिन, खाडल पुर्ने, टिनका डब्बा, थोत्रा टायर, गमला, फूलदानी बाल्टीमा पानी जम्न नदिने, बिहान र साँझपख डेंगु संक्रमण गर्ने लामखुट्टे बढी सक्रिय हुने र टोक्ने हुँदा सकेसम्म घर बाहिर ननिस्कने र यदि निस्कनै परेमा पुरै शरिर छोपिने किसिमका लुगा लगाउने लगायतका सचेतना र सावधानी अपनाउन आग्रह गरिएको छ ।

यस्तै, घरका झयाल ढोकामा जाली लगाउने तथा सुत्दा झुलको प्रयोग गर्ने, हाँस, सुँगुर-बंगुर पालन फर्म वरपर सँधै सरसफाई गर्ने, जमेको पानीमा लामखुट्टेले फुल पारेर बृद्धि विकास गर्ने हुँदा त्यस्ता सम्भावित स्थानहरुमा सरोकारवालाहरुको सहयोगमा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने तथा एक्कासी उच्च ज्वरो आउने, टाउँको दुख्ने, शरीर दुख्ने, गलेको महशुस हुने, आँखाको भित्री भाग दुख्ने, वाकवाकी लाग्ने, पखाला लाग्ने, शरिरमा विविरा जस्ता लक्षण जस्ता स्वास्थ्यमा समस्या देखिएमा आफुखुसी औषधी सेवन नगरि तत्कालै स्वास्थ्य संस्थामा परीक्षणका लागि जान आग्रह गरिएको छ ।

यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिकाले पनि डेंगु नियन्त्रणका लागि पूर्वतयारी थालेको छ । गर्मी मौसम सुरु भएसँगै डेंगुको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो । आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले पछिल्लो समय पालिकामा डेंगुको जोखिम बढिरहेकाले समयमै नियन्त्रण गर्न पूर्वतयारी थालिएको बताए । उनका अनुसार गत गर्मीमा यहाँका एक सयभन्दा बढी संक्रमित भएका थिए।

‘गत वर्षको गर्मीमा डेङ्गुबाट जनधनको क्षति भएको थियो । अब वर्षात् सुरु हुने समय भएकाले स्थानीयमा सजगता अपनाउनुपर्ने अवस्था छ’, स्वास्थ्य शाखा प्रमुख उपाध्यायले भने, ‘लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी काम सञ्चालनमार्फत नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी यसको रोकथाम, नियन्त्रण र न्यूनीकरण गर्नुपर्छ ।’

डेंगु नियन्त्रणका लागि गाउँपालिकाले छवटै वडा कार्यालय, आठ स्वास्थ्य संस्था तथा सरोकारवाला निकायलाई ‘खोज र नष्ट गर अभियान’ सञ्चालन गर्न परिपत्र गरिसकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker