भानु नगरपालिकामा एसईई परीक्षा २०८० को समीक्षा

भानु । तनहुँको भानु नगरपालिकामा एसईई परीक्षा २०८० को समीक्षा गरिएको छ । भानुको नगर शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा २०८० को समीक्षा तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाको भूमिका विषययक एकदिवसीय अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख आनन्दराज त्रिपाठीले शिक्षा क्षेत्रको विकास विना नगर क्षेत्रको समृद्धि हाँसिल गर्न नसकिने हुँदा यस तर्फ हामी सबै एक भएर लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले शैक्षिक सत्र २०८० को भानुका विद्यालयगत जिपिएको अवस्था तथा विषयगत नतिजा प्रस्तुत गरेका थिए । भानु नगरपालिकाले शिक्षा क्षेत्रमा सञ्चालन गरेका केही प्रयासहरुका बारेमा सदृश्य सहजिकरण गरिएको कार्यक्रममा बेनिघाट रोराङ् गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठकले आफ्नो पालिकामा भएका शिक्षा क्षेत्रका राम्रा अभ्यासहरुका बारेमा अनुभव शेयरिङ गरेका थिए ।
एसईई परीक्षा २०८० को नतिजा हेर्दा राष्ट्रिय मानकमा आधारमा हामी केही कमजोर देखिएका छौं तथापि समग्र तनहुँ जिल्लाको नतिजाका आधारमा भानु माथि रहेको नगर शिक्षा अधिकारी पौडेलले बताए। तनहुँको समग्र नतिजा ४१.६ प्रतिशत रहेकोमा भानुको ४२.४७ प्रतिशत रहेको उनले बताए । तनहुँ जिल्लाबाट एकमात्र ४ जिपिए प्राप्त गर्ने छात्रा भानुकै भएको र यसैगरी भानुका ८ वटा विद्यालयहरुले राष्ट्रिय मानक (४७.८६ प्रतिशत) भन्दा राम्रो नतिजा आएको भएपनि हामीले विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप तथा समग्र नतिजामा व्यापक सुधार गर्नु आवश्यक रहेको उनले सहभागिहरुलाई जानकारी गराए। उनले भने, ‘यहि नतिजा सुधारका लागि के गर्न सकिन्छ भनेर समस्याको पहिचान गरिएका प्रयत्नहरु हाम्रो सम्भावनाहरु आगामी कार्ययोजना र प्रतिवद्धताका लागि नै यस समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।’
कार्यक्रममा एसईई को नतिजा र समग्र विद्यालयको अवस्था, भोग्नुपरेका समस्याहरु, गुणस्तर सुधारका लागि गरिएका प्रयत्नहरु र आगामी कार्ययोजनाका बारेमा प्रधानाध्यापकहरुले क्रमशः प्रस्तुतीकरण गरेका थिए ।
यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, नगर शिक्षा समितिका पदाधिकारी र वडाध्यक्षहरुले भानुको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गर्नुपर्ने सुझावहरु दिएको नगर शिक्षा अधिकारी पौडेलले जानकारी गराए।
मूलतः विषय शिक्षक स्वयंले कर्तव्यनिष्ट, जवाफदेही र जिम्मेवार भएर सम्पादन गर्नुपर्ने कार्यहरु, विद्यालयका प्रधानाध्यापकले गर्नुपर्ने प्रशासनिक, समन्वयकारी र अनुगमनका कार्यहरु, विव्यसले गर्नुपर्ने व्यवस्थापकीय कार्यहरु र स्थानीय सरकारले सुधार गर्नुपर्ने नीतिगत सुधार र अनुगमन एवं सुपरीवेक्षणलाई बढाउनुपर्ने कुराहरुलाई सुझावको रुपमा राखिएको थियो ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती, उपप्रमुख उमा गोतामे र नगर प्रमुख आनन्दराज त्रिपाठीले छलफलमा उठेका कुराहरुलाई आ–आफ्नो क्षेत्रबाट इमान्दार, कर्तव्यनिष्ट र प्रभावकारी ढङ्गले सम्पादन गर्न र नगरपालिकाको तर्फबाट गरिनुपर्ने कतिपय नीतिगत सुधार कार्यक्रम र बजेटबाट गर्नुपर्ने सम्बोधन तथा अनुकरणीय काम गर्ने शिक्षक कर्मचारी तथा पदाधिकारी र विद्यालयलाई सम्मान गरी हौसला र प्रेरणा दिने कुराहरुलाई यथोचित रुपमा सम्बोधन गर्ने कुराको प्रतिबद्धता जनाएका थिए ।
छलफलमा हरेक विद्यालयले पठनपाठन प्रक्रियालाई सुव्यवस्थित, बालमैत्री, सिकाइमैत्री र प्रभावकारी बनाउनका लागि सबै पक्षको समन्वयात्मक भूमिका आवश्यक हुने भएकोले यस तर्फ सबैले सकारात्मक ढङ्गले प्रयास गर्ने, शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन, विद्यार्थी मूल्याङ्कन र उपचारात्मक शिक्षणका लागि मूल भूमिका विषयगत शिक्षकहरुको हुने भएकोले शिक्षकहरु नै विशेष जिम्मेवार र कर्तव्यनिष्ट हुनु जरुरी रहेको औल्याइएको थियो ।
यस्तै, एसईई परीक्षाको नतिजा भनेको विद्यालय शिक्षाको जगको रुपमा रहेको बाल विकास केन्द्र र आधारभूत तहका अन्य कक्षाको शिक्षण र यसको गुणस्तरको प्रतिबिम्व भएको हुँदा तल्लो तहका कक्षाहरुबाट नै सुधारको थालनि गर्नुपर्ने, यसका लागि बाल विकास केन्द्र र कक्षा १–५ का कक्षाहरुलाई स्रोतपूर्ण आकर्षक बालमैत्री र सिकाइमैत्री बनाउनुपर्ने, उपलब्ध साधन र स्रोतको अधिकतम् सदुपयोग र परिचालनबाट विद्यालयको पठनपाठनमा सुधार गरी नतिजालाई उत्कृष्ट र सिकाइमूलक बनाउनुपर्ने सुझाव दिइएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरुबाट प्राप्त सुधारका लागि दिइएका सिर्जनात्मक र समयसापेक्ष सुझावहरुलाई नगर शिक्षा समिति र नगर कार्यपालिका मार्फत सम्बोधन गरिनु पर्ने, पछिल्ला दिनहरुमा विद्यार्थीहरुमा पठन संस्कृति हट्दै गएको, मोवाइल फोनको लत बढ्दै गएको, अनुशासनका दायराहरु उलंघन हुँदै गएको र शहरोन्मुख स्थानहरुमा विद्यार्थीहरुलाई बजारको रमझम र नयाँ कुराले थप आकर्षित बनाएकोले यसमा सुधार गरी विद्यालयमा अनुशासन कायम गर्ने, अभिभावक शिक्षा मार्फत अभिभावकहरु माझ सचेतना कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिनुपर्ने अवस्था रहेको सुझावहरु दिइएको थियो ।
यस्तै, प्रत्येक विषयगत शिक्षकले आगामी दिनमा आफ्नो विषयको नतिजालाई कस्तो अवस्थामा पु¥याउने भन्ने बारेमा स्वयं शिक्षकहरुलाई नै कार्ययोजना बनाउन लगाई लक्ष्य किटान गरी सोको कार्यान्वयन गर्न लगाउने र उक्त कामको प्रगतिको अनुगमन प्रअ र विव्यसबाट गराउनु पर्ने, नगरपालिकाबाट नियमित रुपमा अनुगमन र सुपरीवेक्षण गरिनु पर्ने, यसमा विशेषतः कक्षा शिक्षणमा आधारित शिक्षकको पेशागत विकास तथा शिक्षण सिकाइ क्रियाकलापमा सुधारका लागि कक्षा अवलोकन तथा पृष्ठपोषण दिने कुरामा विशेष जोड दिनुपर्ने सुझाव संकलन गरिएको नगरशिक्षा अधिकारी पौडेलले जानकारी गराए ।
भानु नगर कार्यपालिकाले गरेको निर्णय बमोजिम सम्पूर्ण शिक्षक, कर्मचारी, जनप्रतिनिधि र विव्यस एवं शिअसंघका पदाधिकारीका बालबालिकाहरु सामुदायिक विद्यालयमा पढाउने कुरालाई अभियानको रुपमा अघि बढाउनुपर्ने, यसले गर्दा शिक्षाका सरोकारवालाहरुमा विद्यालय प्रति अपनत्व सिर्जना हुनुको साथै बालालिकाको प्रगति र विद्यालयको हरेक गतिविधिमा चासो र निगरानी रहने सहभागिहरुबाट निश्कर्ष निकालिएको छ ।
यस्तै, यहि मिति २०८१ श्रावण २३ गतेदेखि सञ्चालन हुने एसईई को ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीलाई उचित हेरचाह र अनुकुल शैक्षिक वातावरण निर्माण गरी बढी भन्दा बढी विद्यार्थीलाई उत्तीर्ण गराउन सबैले हरसंभव प्रयास गर्ने, लगनशील र कर्तव्यनिष्ट शिक्षक, अनुशासित र लगनशील विद्यार्थी तथा सचेत र जिम्मेवार अभिभावकको त्रिकोणात्मक सम्बन्धबाट मात्र शैक्षिक गुणस्तर कायम गर्न सकिने हुँदा यसका लागि सबैले आ–आफ्नो तर्फबाट सकारात्मक ढङ्गले सहयोग गर्ने, हामीले नगरे कसले गर्ने ? यहाँ नगरे कहाँ गर्ने ? र अहिले नगरे कहिले गर्ने ? भन्ने भनाइलाई आत्मसात गर्दै सकारात्मक सोचका साथ एकापसमा हातेमालो गर्दै अघि बढेमा परिवर्तन सम्भवन भएको सहभागिहरुले निश्कर्ष निकालेका छन् ।










