कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु

रासस

कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो ।

श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस सङ्क्रमणका कारण होमआइसोलेशनमा हुनुहुन्छ ।

छ दिनअघि उहाँहरुलाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबै होमआइसोलेशनमा हुनुहुन्थ्यो । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित रहेको बताइएको छ । स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ ।

इलाममा बिहीबार थप २२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो । जिल्लाभर ३७१ सङ्क्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

दश स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ सङ्क्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र सङ्क्रमित रहेका छन् । हाल गाउँगाउँमा सङ्क्रमण बढ्दै गएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् । सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि सङ्क्रमण बढ्न थालेको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker