एक घर एक धारा अभियान : घिरिङको नयाँटारका ११६ घरधुरीमा खानेपानी पुग्यो
भञ्ज्याङ समाचारदाता/घिरिङ

तनहुँको घिरिङ गाउँपालिकाले सञ्चालन गरेको एक घर एक धारा अभियान अन्तर्गत खानेपानी योजनाहरु निर्माण सम्पन्न गरी घरघरमा खानेपानी सुविधा पुर्याउन थालेको छ ।
गाउँपालिकाले गोरखा वेलफेयर ट्रष्ट नेपालको आर्थिक र प्राविधिक सहयोगमा वडा नं. ४ को नयाँटारमा निर्माण सम्पन्न गरेको छ । निर्माण सम्पन्न नयाँटार खानेपानी तथा सरसफाई आयोजनाबाट स्थानीय ११६ घरधुरीमा पानीको सुविधा पुगेको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।
८२ लाख १५ हजार ४६१ रुपैयाँको लागतमा योजना निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष हिना गुरुङले बताए । योजनाका लागि वेलफेयर ट्रष्टले ४९ लाख ९ हजार ५६१ र घिरिङ गाउँपालिकाले ३ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । स्थानीय उपभोक्ताको २९ लाख ८० हजार रुपैयाँ बराबरको लागत सहभागिता रहेको समितिका अध्यक्ष गुरुङले बताए ।
घरघरमा धारा नहुँदा खोल्सा र पँधेराको पानी उपभोग गर्न बाध्य स्थानीयवासी घरघरमा खानेपानी सुविधा पुगेपछि हर्षित भएका छन् । योजना निर्माण सम्पन्न भएपछि ५८१ जना लाभान्वित भएको अध्यक्ष गुरुङले बताए ।
‘घरघरमा धारा नहुँदा बिहानै उठेर कुवा, खोल्सामा पानी लिन जानुपर्ने बाध्यता थियो, अब त घरमै धारा खोलेपछि पानी आउँछ’, उनले भने, ‘खानेपानीको जोहो गर्नुपर्ने दुःख हटेको छ । अब पानी खोज्ने समयको पनि वचत भएको छ ।’

खहरे मूलबाट पानी ल्याएर टयाङ्कीमा संकलन गरी घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको छ । योजना अन्तर्गत एक रिजर्भ टयाङ्की, एक वासवाउट, सात गेट भल्व निर्माण गरिएको छ । योजना निर्माणका क्रममा ८ हजार ५८५ मिटर पाइप विस्तार गरिएको बताइएको छ ।
उक्त खानेपानी योजनाको शनिबार उद्घाटन गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले खानेपानी योजना निर्माणका लागि सहयोग गरेकामा वेयलफेयर ट्रष्टप्रति आभार व्यक्त गरे ।
गाउँपालिकाले सञ्चालन गरेको एक घर एक धारा अभियान अन्तर्गत घिरिङका अधिकांश बस्तीमा खानेपानीको सुविधा पुगिसकेको र बाँकी बस्तीमा पनि खानेपानी पुर्याउने काम भइरहेको अध्यक्ष थापाले बताएका छन् ।










