तनहुँको शुक्लागण्डकी-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा कृत्रिम हिमाल

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा कृत्रिम हिमाल निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको रु २० लाख लगानीमा कृत्रिम हिमाल निर्माण गरिएको हो । यहाँ रहेको १०८ धाराको माथिपट्टी निर्माण गरिएको कृत्रिम हिमालको महाशिवरात्रिको अवसरमा मंगलबार उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले कृत्रिम हिमालको उद्घाटन गर्दै मुक्तिनाथ च्वयनधाम गण्डकी प्रदेशकै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको बताउनुभयो ।

कृत्रिम हिमाल निर्माणसँगै उक्त ठाउँ आकर्षक देखिएको र यहाँ आन्तरिक पर्यटकको चहलपहल सुरु भएको धामका उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिनुभयो । अन्नपूर्ण हिमश्रृङ्खलाको झल्को दिने गरी हिमालय आकृति निर्माण गरिएको छ । मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मिलेनियम पथको सुरुआती बिन्दु हो ।

सन् २००० देखि सुरु भएको तनहुँ र स्याङ्जालाई जोड्ने ७२ किलोमिटर दूरीको मिलेनियम पथ यहाँबाट सुरु हुन्छ । च्यवनधामको नजिकै सेती नदीमा बग्ने पानीको वहावले कुँदेर बनाएको प्राकृतिक ढुङ्गे बगैँचाले जोकोहीलाई लोभ्याउन सक्छ ।

च्यवनधामलाई तनुहँकै उत्कृष्ट गन्तव्य बनाउन स्थानीवासीसँग स्थानीय सरकारले हातेमालो गरिरहेको वडाध्यक्ष जगतबहादुर गुरुङले बताउनुभयो । मिनी मुक्तिनाथको अवधारणा भएको हुँदा पूर्वाधार निर्माणमा नगरले वर्षेनी बजेट विनियोजन गर्दैआएको छ ।

पृथ्वी राजमार्ग नजिकै सेती नदी रहेको छ । गाछेपानीस्थित सेती नदी ढुङ्गाले भरिएका किनारको स्वरुप एक दशकमा फेरिएको छ । दिउँसै डरलाग्दो त्यो नदी छेउको थुम्को पवित्र धाम बनेको छ । झकिझकाउ मन्दिर ठडयाइएको छ । धार्मिक पर्यटकको गतिलो गन्तव्य बनेको छ ।

एक्लै हिँड्न पनि डरलाग्ने कुरुप साघुँरो ठाउँ फेरिएर यति सुन्दर र फराकिलो पर्यटकीय गन्तव्य बन्ला भन्ने गाछेपानीवासीले सोचेका पनि थिएनन् । त्यही किनारको स्वरूप फेरिएको छ । गाछेपानीवासीको एकताले यस ठाउँलाई तनहुँकै चर्चित धार्मिकस्थल बनाउन सफल भएका छन् ।

नदी छेउको थुम्को मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम (मिनी मुक्तिनाथ)को नामले कहलिएको छ । यस ठाउँ भगवान् शिवजीप्रति आस्थावान् भक्तजनको आकर्षणको केन्द्र बनेको छ । हिन्दू धर्मको मात्र होइन, च्यवनधाम बौद्ध धर्मलम्बीको पनि आस्थाको थलो हो ।

विसं २०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले कसैले हडप्न नखोजेको भए यो परिवर्तन सम्भव थिएन । यहाँको २३ रोपनी जग्गा हडप्न खोजिएको भए पनि स्थानीयवासीले जग्गाको संरक्षण गरेका थिए । जग्गा संरक्षणको दुइ वर्षपछि २०६७ सालमा काठमाडौं बस्दै आउनुभएका ऋषिगुरु श्रीराम पौडेलसँग स्थानीयवासीको सर्म्पर्क भयो । पौडेलले सेतीको तिर तपोभूमि भएको सुनाउनुभयो । त्यसो त शुक्लागण्डकी क्षेत्र च्यवन ऋषिको तपोभूमिको रुपमा पनि परिचित थियो ।

त्यही वर्षको कात्तिकमा मन्दिर सहितका पूर्वाधार निर्माणका लागि लालप्रसाद गर्तौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको थियो । माघमा यो क्षेत्रलाई श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम नामकरण गरियो । समिति मन्दिर बनाउन कस्सिए पनि आर्थिक अभाव आइलाग्यो ।

देशभर आर्थिक संकलनका लागि महायज्ञ गर्ने परम्परा चलेको बेला त्यसैलाई अनुशरण गर्ने उपाय समितिले निकालेको थियो । पूर्वाधार निर्माणमा आर्थिक सङ्कलन गर्ने उद्देश्यले सोही वर्षको चैत १० देखि १७ गतेसम्म सञ्चालन भएको महायज्ञमा रु एक करोड ५० लाख आर्थिक सङ्कलन भएको थियो । त्यसपछि मन्दिरमा पूर्वाधार निर्माणको क्रम सुरु भएको हो ।

मन्दिरको अलवा मुक्तिनाथकै झल्को दिने १०८ धारा, १०८ ओमकार कल्पवृक्ष, १०८ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, उद्यान लगायतका संरचना बनाइएको छ । बौद्ध धर्मावलम्बीको लक्षित गर्दै बौद्धगुम्बा पनि च्यवनधाम परिसरमा छ ।

बौद्ध धर्मावलम्बीको जागरुपतालाई सम्मान गर्दै गुम्बा पनि बनाएको छ । यहाँ बनाइएको गुम्बाले एकअर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने सापकोटाको भनाइ छ ।

मन्दिर क्षेत्रमा एक दशकको अवधिमा रु तीन करोड बढी पूर्वाधार निर्माणमा लगानी गरिएको छ । उक्त रकम दान सङ्कलनसँगै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि उपलब्ध गराएका छन् । च्यवनधाममा नयाँ वर्ष, साउने सोमबार, कृष्ण अष्टमी, बाला चतुर्दशी र शिवरात्रिमा भक्तजनको बढी घुइँचो लाग्छ । प्रत्येक वर्षको साउन महिनामा शिवपुराण लगाउने गरिएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker