शुक्लागण्डकी नगरपालिका वडा नं. ८ को कार्यालयद्वारा विपन्न परिवारलाई राहत वितरण
भञ्ज्याङ समाचारदाता/दुलेगौडा

शुक्लागण्डकी नगरपालिका-८ को वडा कार्यालयले विपत् तथा विपन्न परिवारलाई राहत अनुदान वितरण गरेको छ । चालु आर्थिक बर्ष २०७७/०७८ को कार्यक्रम अन्तर्गत नगर सभाबाट पारित वडाको कार्यक्रमबाट विपन्न २० घरपरिवारलाई दश हजार रुपैयाँको दरले मंगलबार राहत अनुदान वितरण गरेको हो । राहत अनुदानमा छनौट भएका परिवारलाई जिल्ला समन्वय समितिका सदस्य सरस्वती गौतम र वडाध्यक्ष रेग्मीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए । गत बर्ष वडाबाट अनुदान प्राप्त गरी पशुपालन र कृषिमा उत्कृष्ट कार्य गरे वापत तीन जना किसान, एउटा टोल विकास संस्था र एक पत्रकारलाई नगदसहित सम्मान् गरेको छ ।
मिलिजुली टोलका गुमान सिं थापा वडाभरिमै उत्कृष्ट बाख्रापालन कृषक पुरस्कारबाट सम्मानित भए । त्यस्तै, संगम टोलकी स्मृती शर्मा वाग्ले उत्कृष्ट भैसीपालक कृषक र उत्तम टोलकी मञ्जु श्रेष्ठ उत्कृष्ट आलु तथा तरकारी खेती कृषकको रुपमा सम्मानित भइन् । यस बर्षको बार्षिक कार्यक्रमको मुल्याङ्कनको आधारमा वडाका टोलमध्येबाट सफल एक्ले टोल विका संस्था उत्कृष्ट भएको छ ।
यस्तै, पत्रकारतर्फ रेडियो ढोरबाराहीका स्टेशन म्यानेजर तथा भञ्ज्याङ दैनिकका समचारदाता राजकुमार आले सम्मानित भए । आर्थिक बर्ष २०७७/०७८ मा वडाका विविध गतिविधिहरुलाई निरन्तर रुपमा पत्रकारिताको माध्यमबाट जनता समक्ष पुर्याइ वडाको विकासमा योगदान गरेको भन्दै आलेलाई सम्मान गरिएको हो । आलेलाई सम्मानपत्र र नगद ८ हजार रुपैयाँबाट सम्मानित गरिएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश विकले वडा कार्यालयले राहत अनुदान वितरण गरी राहत प्राप्त गरेकाहरुलाई व्यवसायी बन्नका लागि उत्प्रेरणा जगाउने र विभिन्न विद्यामा उत्कृष्ट भएकाहरुलाई थप हौसला मिल्ने अपेक्षा गरे । नेपाल रेडक्रस ढोरफिर्दी उपशाखाका सभापति विपेन्द्र सिं ठकुरीले वडाले आपत विपत र समस्यामा परेकालाई रातह उपलब्ध गराएर उदाहरणीय कार्य गरेको र विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेकालाई पुरस्कृत गरेर वडाले नमुनायोग्य कार्य गरेको भन्दै प्रशंसा गरे ।
कोरोना भाइरस कोभिड-१९ र निरन्तरको बर्षापछि आएको बाढीपहिरोले आक्रान्त पारेको अवस्थालाई मध्यनजर गरी छनौट समितिमार्फत् सिफारिस भएका घर परिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । उनले जनताको हरेक सुख-दुःखमा जनताबाट निर्वाचित जनप्रतिनिधिहरु जनताकै साथमा रहेको महसुस गराउन यो कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सरस्वती गौतमले सानो पुँजीबाट नै आर्थिकस्तर सुधार गर्न सकिने भएकाले राहत अनुदानको सहि सदुपयोग गर्नुपर्नेमा जोड दिइन् । उनले कोही पनि कमजोर आर्थिक अवस्थाको हुन नपरोस् भनेर कर्मप्रति प्राहोत्साहन गर्ने उद्देश्यले वडाबाट राहत अनुदान कार्यक्रम गरिएको र यो कार्यक्रम नगरपालिकाकै नौलो कार्यक्रम भएको बताइन् ।










