डुम्रे–भन्सार नयाँ सहर आयोजना : जनसंख्या आकर्षित गर्न चुनौती

कृष्ण न्यौपाने/दमौली

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर र भानु नगरपालिकामा अवस्थित डुम्रे भन्सार नयाँ सहर आयोजनाका रूपमा रहेको छ । आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरि दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरूप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साविकको भानु गाउँ विकास समिति–१, २, ३, ४ र साविकको बन्दीपुर गाउँ विकास समिति–१, २, ३ र ४ समेटी नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरूवात भएको हो ।
तीव्र रूपमा विकास भइरहेका तनहुँ सदरमुकाम दमौली पोखरा र भरतपुर नजिक पर्ने भएकाले यहाँ पर्याप्त जनसंख्यालाई आकर्षित गर्न चुनौती थपिएको नयाँ सहर आयोजना डुम्रे भन्सारका कार्यालय प्रमुख अभिषेक अधिकारीले बताए । उनले भने, “यस ठाउँलाई नमूना सहर बनाउने लक्ष्यसहित सरकारले नयाँ सहर घोषणा गरेको हो । नजिकै पर्ने ठूला सहरका कारण यहाँ बस्ती विकासमा समस्या भइरहेको छ ।”
बस्ती विकास कार्यक्रम कार्यान्वयनमा समस्या उत्पन्न भएकामा सोको समाधान गर्न तथा त्यसका लागि स्थानीय जनतालाई सहमत गराउन चुनौती रहेको अधिकारीको भनाइ छ । उनले भने, “सहरको मुख्य आवश्यकताका रूपमा रहने शिक्षा, स्वास्थ्य र औद्योगिक पूर्वाधार निर्माण गर्नुपर्ने स्थानीय जनताको माग छ । ती मागमा नयाँ सहरको लगानी शून्य भएकाले जग्गा विकास कार्यक्रम अगाडि बढाउन समस्या भइरहेको छ ।”
कार्यालय प्रमुख अधिकारीले कार्यालयले विभिन्न आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय समस्या भोगिरहेको भन्दै  समथर भूभागमा जग्गा प्राप्तिको समस्या, भिरालो भूभागमा पूर्वाधार विकास गर्न कठिनलगायत रहेका जानकारी दिए । स्थानीय तहको योजना छनोटमा सक्रियता भए पनि योजना कार्यान्वयनका क्रममा उत्पन्न भएका समस्याको सहजीकरणमा अभाव देखिएको उहाँले उल्लेख गरे ।
व्यवस्थित र योजनाबद्ध सहर र बस्ती विकासलाई अगाडि बढाउन शिक्षा, स्वास्थ्य, औद्योगिक पूर्वाधार, कृषिको आधुनिकीकरण लगायत क्षेत्रका लागि आवश्यक पूर्वाधारमा लगानी गर्नुपर्ने अधिकारीले जोड दिए । उनले भने, “२० वर्षमा रु ४४ अर्ब लगानी यस नयाँ सहरको कार्यक्षेत्रमा गर्ने भनी सुरू भएको आयोजनाको हाल दश वर्ष बितिसक्दा अपेक्षित पर्याप्त लगानी भएको पाइँदैन । नयाँ सहर आयोजनाको समग्र विकासमा लगानी बढाउनुपर्ने देखिन्छ ।”
नयाँ सहर आयोजना डुम्रे भन्सारको कार्यक्षेत्रअन्तर्गत बन्दीपुर क्षेत्रमा पर्यटकीय विकाससँग सम्बन्धित विषयमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको अधिकारीको भनाइ छ । त्यस्तै भानु नगरपालिकाको भन्सार लगायतका क्षेत्रमा व्यापार व्यवसाय र औद्योगिक पूर्वाधार साथै व्यावसायिक कृषिका लागि पूर्वाधार निर्माणमा लगानी बढाउनुपर्ने उनले बताए ।

रू ९५ करोड लगानी

नयाँ सहर आयोजना डुम्रे भन्सारले आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०८०/८१ सम्म विभिन्न योजनामा रू ९५ करोड ८७ लाख लगानी गरेको छ । कार्यालयले भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, सांस्कृतिक तथा पर्यटन, आर्थिक पूर्वधारलगायत क्षेत्रमा बजेट लगानी गरेको कार्यालय प्रमुख अधिकारीले बताए।
आर्थिक वर्ष २०७२/७३ मा रू तीन करोड ७४ लाख विनियोजन भएकामा रू दुई करोड ३६ लाख, आव २०७३/७४ मा रू १३ करोड २६ लाख विनियोजन भएकामा रू आठ करोड ८० लाख, आव २०७४/७५ मा रू २० करोड ६१ लाख विनियोजन भएकामा रू १९ करोड २४ लाख खर्च भएको अधिकारीले जानकारी दिए ।
उनका अनुसार आव २०७५/७६ मा रू सात करोड ३७ लाख विनियोजन भएकामा रू चार करोड ९१ लाख, आव २०७६/७७ मा रू १३ करोड दुई लाख विनियोजन भएकामा रू १० करोड २९ लाख, आव २०७७/७८ मा रू १४ करोड ५३ लाख विनियोजन भएकामा रू १३ करोड ४९ लाख, आव २०७८/७९ मा रू १९ करोड सात लाख विनियोजन भएकामा रू १० करोड ८५ लाख, आव २०७९/८० मा रू १७ करोड ५३ लाख विनियोजन भएकामा रू दश करोड ४४ लाख र गत आवमा रू १७ करोड ३७ लाख विनियोजन भएकामा रू १५ करोड ४४ लाख खर्च भएको छ ।
कार्यालयमार्फत् हालसम्म भौतिक पूर्वाधारतर्फ सडक सञ्जाल विस्तार, कालोपत्र, ग्राभेल र कच्ची सडक निर्माण भएका छन् । यस कार्यमा रू ६३ करोड लगानी भएको कार्यालय प्रमुख अधिकारीले उल्लेख गरे । ढल व्यवस्थापनतर्फ ४३ किलोमिटर नाली निर्माण गरिएको अधिकारीले जनाउँदै बिजुली तथा सञ्चारतर्फ सोलार बत्ती जडानमा रु दुई करोड ९० लाख लगानी भएको उनले बताए ।
कार्यालयले ६४३ रोपनी जग्गा पहिचान गरी डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया सुरू गरेको जनाएको छ । त्यसका लागि विसं २०७४ पुस १० गते आयोजनाको चारकिल्लासहित नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो । विसं २०७७ पुस १२ मा अन्तिम प्रतिवेदन बुझाइएको र बाटोको किल्ला तोक्ने कार्य सकिएको अधिकारीले बताउनुभयो। उनले भने, “अब नगर विकास समितिबाट स्वीकृत हुन बाँकी छ । जग्गा अधिग्रहण र जग्गा एक कित्ता कायम गर्न बाँकी रहेको छ ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker