तनहुँको वेलचौतारास्थित जिपी कोइरालामा शल्यक्रिया सेवा, जिल्लावासीलाई राहत

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले नियमितरुपमा शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई राहत भएको छ ।

उक्त केन्द्रले साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि बाहिरी जिल्ला जानुपर्ने बाध्यता अन्त्य भएको हो । उपचार केन्द्रमा बिहीबारमात्रै पित्तथैलीमा पत्थरीको सफल शल्यक्रिया गरिएको थियो । शुक्लागण्डकी नगरपालिका–७ निवासी ६१ वर्षीया कुमारी गाहा मगरको पित्तथैलीमा पत्थरीको उक्त उपचार केन्द्रमा गरिएको शल्यक्रिया सफल भएको थियो ।

जिल्लामै शल्यक्रिया सेवा पाएपछि उपचारका लागि पोखरा, चितवन वा अन्यत्र जानुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो। “बाहिर उपचार गर्न जाँदा खर्च बढी हुन्थ्यो, आफ्नो घर नजिकैको अस्पतालमा शल्यक्रिया सेवा पाउँदा सहज भयो,” उहाँले भन्नुभयो ।

उक्त केन्द्र नियमितरुपमा शल्यक्रिया सेवा सञ्चालन भएपछि सामान्य शल्यक्रियाका लागि पनि पोखरा, भरतपुरलगायत ठूला शहरमा जानुपर्ने बाध्यता अन्त्य भएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नीलगायतमा शल्यक्रिया सेवा दिइरहेको उहाँले बताउनुभयो । “यहाँ नियमितरुपमा सञ्चालन भएको शल्यक्रिया सेवा तनहुँलगायत आसपासका जिल्लावासीलाई सहज भएको छ,” डा। श्रेष्ठले भन्नुभयो ।

केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा। विद्याभुषण ताम्राकार, सर्जन डा। परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा। रमेश घिमिरे, डा। अभिषेक पौडेललगायत हुनुहुन्छ । केन्द्रबाट शल्यक्रिया सेवा सुरु भएपछि तनहुँसँगै सीमा जोडिएका स्याङ्जा, पाल्पा, नवलपुरका सर्वसाधारणलाई पनि राहात भएको छ । केन्द्रमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् ।

उक्त केन्द्रले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गर्नाका साथै केही समय अगाडिदेखि कल्चर सेवा पनि शुरु गरेको छ । बिहान १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायत सेवा पनि उक्त केन्द्रबाट सञ्चालन भइरहेको छ ।

पचास शैय्याको उक्त केन्द्रमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेट सम्बन्धी र हाडजोर्नीका बिरामीहरु नियमित आउने गरेका छन् । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले केही वर्ष अघि पूर्वप्रधानमन्त्री स्व. गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रिय स्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।

उक्त केन्द्रमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमार्फत् उपचार केन्द्रमा पूर्वाधार निर्माणका लागि सहयोग गर्ने घोषणा गरेको थियो । केन्द्रमा अक्सिजन प्लान्ट जडान गरी अक्सिजन उत्पादन भइरहेको छ । रु दुई करोड १८ लाखको लागतमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन हुन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker