खैरेनी माविमा बालिका शिक्षा कार्याक्रमको अवलोकन

तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित खैरेनीटार माध्यमिक विद्यालयमा बालिका शिक्षा कार्यक्रमको प्रभावकारीताका विषयमा अध्ययन तथा अवलोकन गरिएको छ । ‘रूम टु रिड’को आर्थिक तथा प्राविधिक सहयोग र सूर्याेदय क्लवको ब्यवस्थापनमा संचालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत जीवन उपयोगी सीप कक्षको तनहुँका जिल्ला स्तरीय सरोकारवालाहरुबाट अवलोकन तथा अनुगमन गरिएको हो ।
सूर्याेदय क्लवकी सामाजिक परिचालिका अनिता भण्डारीले सोही विद्यालयको कक्षा ७ मा अध्ययनरत बालिकाहरुसँग गरिएको क्रियाकलापका विषयमा सहजिकरण गरेकी थिइन् । खैरेनी माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशवराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका उप–प्रमुख बासु थापा, शिक्षा तालिम केन्द्र दमौलीका प्रमुख नेपालहरी रानाभाट, शिक्षा बिकास तथा समन्वय ईकाइका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, सुर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठ, कार्यक्रम अधिकृत रेशमलाल श्रेष्ठ, रुम टु रिड कार्यक्रम अधिकृत नृत्य नन्द पाण्डे, कार्यक्रम प्रवन्धक द्रोणाचार्य तिमिल्सिना लगायतले जीवन उपयोगी सीप तालिम अत्यन्तै आवश्यक र प्रभावकारी भएको चर्चा गर्दै यसबाट प्राप्त सिकाइलाई विद्यार्थीहरूले व्यवहारमा उतार्न सक्ने गरी सञ्चालन गर्न सुझाएका थिए ।
उनिहरुले इन्टरनेट तथा सामाजिक सञ्जाल सुरक्षित प्रयोगबारे जागरूकता फैलाउने यस्ता कार्यक्रमले विद्यार्थीलाई जिम्मेवार र सजग बनाउने विश्वास व्यक्त गर्दै समुदाय, विद्यालय र स्थानीय सरकारबीचको संयुक्त सहकार्यले मात्र बालिका शिक्षा र स्वास्थ्य सुरक्षामा दीर्घकालीन सकारात्मक असर पर्ने बताए ।
शुक्लागण्डकी–६ का अध्यक्ष बुद्धिबहादुर थापाले तालिममा सहभागी छात्राहरूलाई यस्तो कार्यक्रमले उनीहरूलाई अझ खुला, आत्मविश्वासी र परिपक्क बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै सेनेटरी प्याडको गुणस्तर सुधार तथा विद्यालयको भौतिक सुधारका लागि पालिकाले आवश्यक कदम चाल्ने उल्लेख गरे । उनले प्रशिक्षक र विद्यार्थीबीच अझ प्रभावकारी समन्वय हुनुपर्ने सुझाव दिंदै विद्यार्थीको भावना बुझेर कार्यक्रमलाई अझ सुदृढ र परिणाममुखी बनाउन आयोजक पक्षले ध्यान दिनुपर्नेमा बताए ।










