सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

पूर्णप्रसाद मिश्र

दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले सोह्र श्राद्धका सबै तिथिको समय निकाल्नुभएको हो ।

पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस वर्ष असोज ५ गते मङ्गलबारदेखि सुरु भएको छ । सोह्र श्राद्धमा अपराह्नकालमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय मत छ । मङ्गलबार प्रतिपदा तिथिको श्राद्ध दिँउसो १ः०८ देखि ४ः२२ बजेसम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा एवं पितृ ब्राह्मणको आह्वान र पूजा तोकिएको समयअघि नै गर्न सकिने विधि छ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

असोज ६ गते बुधबार द्वितीया तिथि श्राद्ध दिउँसो १ः०८ देखि ४ः२२ बजेसम्मको समय दिइएको छ । असोज ७ गते तृतीया तिथि श्राद्धको समय १ः०७ देखि ४ः२३ बजेसम्म छ । यस वर्ष असोज ८ गते शुक्रबार चतुर्थी तिथि श्राद्ध पनि १ः०७ देखि ४ः२३ बजेकै समयमा गनुपर्छ ।

यसैगरी पञ्चमी तिथि श्राद्ध असोज ९ गते शनिबार दिउँसो १ः०६ देखि ४ः२२ बजेसम्ममा गर्नुपर्नेछ । षष्ठी तिथि श्राद्ध असोज १० गते आइतबार १ः०६ देखि ४ः२२ बजेसम्ममा गर्नुपर्नेछ । सप्तमी तिथि श्राद्ध असोज ११ गते सोमबार १ः०५ देखि ४ः२३ बजेसम्ममा गर्नुपर्नेछ । यस वर्ष असोज १२ गते मङ्गलबार कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पञ्चाङ्ग (पात्रो) मा उल्लेख छ ।

अष्टमी तिथि श्राद्ध असोज १३ गते बुधबार दिउँसो १ः०४ देखि ४ः२३ बजेसम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ । नवमी तिथि श्राद्ध असोज १४ गते बिहीबार दिउँसो १ः०४ देखि ४ः२३ बजेसम्मै गर्नुपर्नेछ । दशमी तिथि श्राद्ध असोज १५ गते शुक्रबार १ः०३ देखि ४ः२३ बजेसम्ममा गर्नुपर्नेछ ।

एकादशी श्राद्ध असोज १६ गते शनिबार दिउँसो १ः०३ देखि ४ः२३ बजेसम्मैमा गर्नुपर्नेछ । द्वादशी तिथि श्राद्ध असोज १७ गते आइतबार १ः०२ देखि ४ः२३ बजेसम्ममा गर्नुपर्नेछ । यस वर्ष द्वादशी तिथिमा मघा परेको छ । मघा नक्षत्र परेका दिन छोरा हुनेले श्राद्ध गर्दैनन् । त्रयोदशी तिथि श्राद्ध असोज १८ गते सोमबार १ः०२ देखि ४ः२४ बजेसम्ममा गर्नुपर्नेछ ।

यसैगरी चतुर्दशी तिथि श्राद्ध असोज १९ गते मङ्गलबार १ः०१ देखि ४ः२४ बजेसम्ममा गरिसक्नुपर्ने सम्पादक पन्तले बताउनुभयो । औँसी तिथि श्राद्ध असोज २० गते बुधबार दिउँसो १ः०१ देखि ४ः२४ बजेसम्ममा गरिसक्नुपर्नेछ । अपराह्नकाल पारेर पिण्डदान नगरेमा श्राद्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय प्रमाण छ ।

विशेषगरी काठमाडौँ उपत्यकालगायत ठूला सहरमा यो समस्या छ । आवतजावत गर्दा कोरोना फैलन सक्ने चिन्ता छ । कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ ।

पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले आश्विन शुक्ल पञ्चमीसम्म पनि गर्न शास्त्रसम्मत् हुने उहाँले सुनाउनुभयो । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सिर्जना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।

चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । दशैँ, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवङ्गत पितृलाई सम्झन सोह्र श्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आस गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker