तनहुँका ७० प्रतिशत कोरोना संक्रमित निको भए, हालसम्म १२४० जनालाई संक्रमण पुष्टि
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ७० प्रतिशत संक्रमितहरु निको भएर घर फर्किएका छन् । कोरोना निको भएर घर फर्किएका मध्ये ६०.३५ प्रतिशत महिला र ७३.६९ प्रतिशत पुरुष संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
कोरोना भाइरस पुष्टि भएकामध्ये ३७.९० प्रतिशत महिला र २५.०८ प्रतिशत पुरुष अझै आइसोलेशनमा उपचारत रहेको कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए । उनले भने, ‘पिसिआर परीक्षण गरिएको ११ हजार ७२४ जनामध्ये १० हजार ४५४ जनाको नेगेटिभ र एक हजार २४० जनाको रिपोर्ट पोजेटिभ आएकोमा ८६८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।’ हालसम्म जिल्लामा ६ महिला र ११ पुरुष गरी १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
यस्तै, तनहुँमा मंगलबार १ बर्षीय बालक सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखरा अनुसार व्यास नगरपालिकामा ३०, १९ वर्षीया महिला, २६ वर्षीय पुरुष, भानु नगरपालिकामा १ बर्षीय बालक, भिमाद नगरपालिकामा ११ वर्षीय पुरुष र आँबुखैरेनी गाउँपालिकामा २७, ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। हाल दमौली अस्पतालमा १४, जिपी कोइराला श्वासप्रश्वास उपचारकेन्द्रमा ५, आँबुखैरेनीमा ३ गरी २२ जना स्थानीय तहले निर्माण गरेको आइसोलेसन कक्षमा उपचारत छन्। यस्तै, २०१ जना सुरक्षा सावधानी अप्नाएर होम आइसोलेसनमै बसेको कार्यालयले जनाएको छ ।
मौसम चिसो हुँदै गएको कारण संक्रमितको संख्या दैनिक जसो देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताए । उनले भने, ‘स्थानीय तहहरुले कन्ट्यक ट्रेसिङ मार्फ समय समयमा परीक्षणका लागि स्वाब संकलन गरिनै रहेको छ । तर, केही लक्षण देखि शंक लागेका व्यक्तिहरुले आफैले पनि परीक्षण गरिरहनु भएको छ।’
चिसोमा संक्रमण बढ्न सक्ने खतरा रहेको बताउदै जिल्लाबासीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी दैनिक रुपमा मक्स र सेनिटाइजरको प्रयोग गरी सामाजिक जुरी कायम राख्न उनले अनुरोध गरेका छन् ।
अस्पतालको सेवा बन्द
यस्तै, शुक्लागण्डकी नगरपालिका-११ राइपुरस्थित ढोर फूलबारी शहीद अस्पतालको सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई आइतबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले सोमबारदेखि अर्को सूचना नआएसम्मका लागि सेवा स्थगित गरिएको हो । अस्पतालमा कार्यरत कर्मचारी संक्रमितको कन्टयाक्ट ट्रेसिङमा परेकाले कोरोना परीक्षणका लागि अस्पतालको सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा प्रतिक्षा आलेले बताए । उनका अनुसार ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनमा राखी स्वाब परीक्षण गरिनेछ ।
समुदायबाट सञ्चालित उक्त अस्पताल गत वर्षो वैशाख १ गतेदेखि शुक्लागण्डकी नगरपालिका मातहत सञ्चालनमा आएको थियो । अस्पतालमा शुक्लागण्डकी नगरपालिकाले मेडिकल अधिकृतसहित कर्मचारी नियुक्त गरेको थियो । जर्मनी स्वंयमसेवीहरूको संस्था इभी कास्यलको सहयोगमा सञ्चालित सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
विसं २०५५ फागुनमा सो सस्थाको सहयोगमा छब्दी र भक्कलमा फूलबारी सेवा केन्द्रका रूपमा सञ्चालित अस्पताल एक दशकयता साँखेबाट सञ्चालित थियो । अस्पतालबाट शुक्लागण्डकी नगरपालिका र स्याङ्जाको बिरुवा, हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकावासीले सेवा लिँदै आएका छन् ।