नेकपा एमाले घिरिङका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले सुरु गरे घरदैलो अभियान
भञ्ज्याङ न्यूज

आसन्न स्थानीय तहको निर्वाचनका लागि तनहुँको घिरिङ गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्ष बनेका उम्मेदवारहरु चुनाव लक्षित घरदैलो अभियानमा जुटेका छन् । एमालेले घिरिङ गाउँपालिकाको अध्यक्षमा होम बहादुर थापा र उपाध्यक्ष राधादेवी अधिकारीलाई उम्मेदवार बनाई चुनावी मैदानमा उतारेको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरेसंगै अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष र सदस्यहरु सहितको टोलीले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै घरदैलो अभियान सुरु गरेका छन् । अध्यक्षका उम्मेदवार होम बहादुर थापा र उपाध्यक्ष राधादेवी अधिकारीले वडा नं. ३ को पोखरीछापमा ९८ बर्षीया वृद्धा आमा पेमा कुमारी थापाको हातबाट टीका र आशिर्वाद ग्रहण गरी शुक्रबार दिउँसोबाट घरदैलो अभियान सुरु गरेका हुन् ।

नेकपा एमाले पोलिटब्यूरो सदस्य टुक राज सिग्देल, गाउँपालिकाका कार्यकर्ताहरुको उपस्थितिमा घरदैलो अभियान सुरु गरी आवश्यक प्रचारप्रसारमा घिरिङ गाउँ कमिटी खट्टएिको छ ।
नेकपा एमाले नेतृत्वको सरकारले कुनै कसुर नराखी जनताको सेवा गरेको र फेरि पनि घिरिङका जनताको भावना बुझेको पार्टी एमाले मात्रै रहेको दाबी गर्दै आफुहरुको जित सुनिश्चित भएको अध्यक्षका उम्मेदवार थापाले बताएका छन् ।
गाउँपालिकाको अघिल्लो नेतृत्वले उज्यालो घिरिङ बनाउन सफल भएको र एक घर एक धारा, व्यवसायिक कृषि, सडकका पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य काम भएको भन्दै अध्यक्षका उम्मेदवार थापाले अब हाम्रो नेतृत्वमा गाउँपालिकालाई आर्थिक रुपमा सम्पन्न, गाउँमा उत्पादित कृषि उपजको बजारीकरण, व्यवसायीक र सिपमुलक शिक्षा, खानेपानी, सडक, स्वास्थ्य, सरसफाई लगायतका क्षेत्रको विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

घिरिङका जनतालाई सुख र समृद्धिको यात्रामा पुर्याउन सक्ने भिजन आफुसंग भएकोले अहिलेको परिस्थितिमा घिरिङ गाउँपालिकाको अध्यक्षमा निर्वाचत भएसंगै घिरिङबासिको आर्थिक, सामाजिक हैसियतमा आमुल परिवर्तन गर्ने मतदातासंग प्रतिवद्धता जनाएका छन् ।










