संघीय संरचना : भूगोलअनुकूल कि राजनीतिक सहमतिको परिणाम ?

गल गुरुङ (दीपु)

नेपाल संघीय शासन प्रणालीमा प्रवेश गरेसँगै तीन तहका सरकार– संघ, प्रदेश र स्थानीय तह सञ्चालनमा आएका छन्। संघीयताको मुख्य उद्देश्य के थियो भने, देशका सबै भूभागमा सन्तुलित विकास होस्, दुर्गम गाउँदेखि शहरी बजारसम्म समान अवसर र पहुँच सुनिश्चित होस्, नागरिकले आफ्नै गाउँठाउँमै शासनको अनुभूति गर्न सकोस् । तर संघीयता लागू भएको करिब एक दशक पुग्दा पनि ती अपेक्षाहरू धेरै हदसम्म अपूरा देखिन्छन् ।

विशेष गरी तनहुँको उत्तरी भेग, माथिल्ला डाँडाकाँडा र दुर्गम गाउँहरू अझै पनि स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, रोजगार जस्ता आधारभूत सेवाबाट वञ्चित छन् । संघीय संरचनाबाट अपेक्षित परिवर्तन र सन्तुलन त्यहाँ पुग्न सकेको छैन । यसको प्रमुख कारण संघीय संरचना निर्माणमा भूगोलभन्दा बढी राजनीतिक सहमति र समीकरणलाई प्राथमिकता दिनु हो ।

संघीयता लागू गर्दा न त भूगोलको वास्तविकता र पहुँचका कठिनाइहरूलाई ध्यान दिइयो, न त विकासका आवश्यक पूर्वाधारका आधारमा पालिका र वडाको सीमांकन गरियो । बरु राजनीतिक दलहरूको स्वार्थ, भोट बैंक र जनसंख्या सन्तुलन जस्ता कारकले संरचनाको रूप निर्धारण गरे । फलस्वरूप, पहाडका दुर्गम गाउँ र बजार क्षेत्र एउटै बजेट संरचनामा परे– तर आवश्यकतामा आकाश–पातालको फरक रह्यो ।

गाउँमा सडक बनाउँदा, विद्यालय वा स्वास्थ्यचौकी स्थापना गर्दा लागत निकै उच्च हुन्छ । तर नीति र योजना बनाउँदा ती वास्तविकताहरूलाई ध्यान नदिँदा गाउँलेहरू अझै राज्यको सेवाबाट टाढा छन् । संघीयताको मर्म नै जनताको घरदैलोमा शासन पुगोस् भन्ने हो, तर व्यवहारमा यो केवल प्रशासनिक पुनर्संरचनामा सीमित देखिन्छ ।

यदि संघीय संरचना भूगोलअनुकूल बनाइएको भए– माथिल्लो डाँडाको गाउँदेखि तलको बजारसम्मको पहुँच र आवश्यकतालाई केन्द्रमा राखिएको भए– आज विकासको स्वरूप फरक हुन सक्थ्यो। प्रत्येक स्थानीय तहमा योजनाको प्राथमिकता भूगोल र सामाजिक यथार्थसँग मिल्ने गरी तय हुनुपर्ने थियो । सडक, स्वास्थ्य, शिक्षा, कृषि, बजार र जलस्रोत व्यवस्थापनका योजना त्यही आधारमा बन्यो भने मात्रै संघीयताको उद्देश्य पूरा हुन सक्छ ।

तर अहिलेका योजनामा त्यो सोच कमै देखिन्छ । धेरै ठाउँमा सहर नजिकका बस्तीले बढी लाभ पाउँछन्, जबकि दुर्गम गाउँका बासिन्दा अझै हिउँदमा बाटो नखुलेर अस्पताल पुग्न नसक्ने अवस्थामै छन् । यसले संघीयताको वास्तविक आत्मालाई प्रश्नमा ल्याएको छ ।

संघीयता केवल शासनको तह बढाउने प्रक्रिया होइन– यो लोकतान्त्रिक सहभागिताको आधार हो । यसको सार गाउँका नागरिकले प्रत्यक्ष निर्णय प्रक्रियामा सहभागी हुन पाउनु हो । तर जब गाउँका बासिन्दाले राज्यको उपस्थिति महसुस गर्न सक्दैनन्, सेवा र सुविधा पाउन सक्दैनन्, त्यतिबेला संघीयताको आत्मा नै कमजोर हुन्छ ।

विकास र पहुँचको असमानता घटाउन अब संघीय संरचनाको पुनरावलोकन अनिवार्य देखिन्छ । राजनीतिक सहमतिको भरमा बनाइएका सीमांकनहरूलाई भौगोलिक यथार्थअनुसार परिमार्जन गर्नुपर्छ। स्थानीय तहले बजेट र योजना बनाउँदा दुर्गम गाउँलाई प्राथमिकतामा राख्नुपर्छ, किनभने त्यहाँ सेवा विस्तारको लागत र चुनौती दुवै फरक छन् ।
त्यस्तै, विकास बजेट वितरण गर्दा दुर्गम र सुलभ क्षेत्रबीच फरक पहिचान आवश्यक छ । विद्यालय, स्वास्थ्यचौकी, खानेपानी योजना वा सडक विस्तारमा एउटै मापदण्ड प्रयोग गर्नु अन्याय हो । भौगोलिक कठिनाइका कारण दुर्गम गाउँमा पुग्ने एक किलोमिटर सडकले बजारको एक किलोमिटरभन्दा बढी प्रभाव पार्छ– त्यसैले नीति बनाउँदा यस्तो भिन्नतालाई स्वीकार्नुपर्छ ।

संघीयताको सफलता मापन गर्ने आधार पनि यही हुनुपर्छ– दुर्गम गाउँ र बजार क्षेत्र दुबैमा समान अवसर र सुविधा पुगे कि पुगेन ? यदि ग्रामीण क्षेत्रका बासिन्दाले आफ्नै गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर पाउँछन् भने मात्रै उनीहरूले संघीयताको मूल्य महसुस गर्न सक्छन् । अहिले भने त्यस्तो समानता देखिँदैन ।

संघीयता जनताको ढोकासम्म शासन पुगोस् भन्ने विचारसहित आएको थियो । तर आज पनि धेरै गाउँका नागरिकले सरकारी कार्यालयसम्म पुग्न घण्टौँ पैदल हिंड्नुपर्छ । संघीयता त्यसबेला मात्र सफल हुन्छ जब नागरिकले आफैं भोगेका कठिनाइ घटेको महसुस गर्छन्–नत्र यो केवल कागजी प्रणालीको नाममा सीमित रहन्छ ।

अबको बाटो स्पष्ट छ– संरचना पुनरावलोकन गरी भूगोलअनुकूल बनाउनुपर्छ । प्रत्येक स्थानीय तहले आफ्नो भौगोलिक अवस्थाअनुसार प्राथमिकता तय गर्नुपर्छ । उदाहरणका रूपमा, पहाडी गाउँका लागि सडक र स्वास्थ्य सेवा पहिलो प्राथमिकता हुन सक्छ भने तराईका गाउँका लागि कृषि र बजार पूर्वाधार मुख्य आवश्यकता हुन सक्छ। एउटै नीतिले सबै ठाउँका समस्या समाधान गर्न सक्दैनन् ।

संघीयता स्थायी र सुदृढ बनाउन ग्रामीण भेगका आवाज सुन्ने र उनीहरूको सहभागितामा नीति बनाउने अभ्यास गर्नुपर्छ। संघीयताको अर्थ स्थानीय सशक्तिकरण हो– राजनीतिक सत्ता बाँडफाँड होइन । जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसक्ने संघीयता केवल प्रशासनिक भार मात्र बन्छ ।

संघीयताको प्रारम्भिक चरणमै यदि माथिल्लो दुर्गम भेगलाई केन्द्रमा राखेर संरचना तयार गरिएको भए, आजका डाँडाका गाउँहरू यति पछाडि रहने थिएनन्। त्यो बेला भूगोललाई “काक्रो चिरेझैँ” विभाजन गरेर नगर र गाउँ एकै तहमा राख्ने निर्णय राजनीतिक सम्झौताको परिणाम थियो, योजनागत सोचको होइन ।

संघीयताको वास्तविकता तब मात्र अनुभूत हुनेछ जब हरेक गाउँले नागरिकले भन्न सक्नेछन्– “अब हामी राज्यदेखि टाढा छैनौं ।” जब गाउँका बासिन्दाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका समान अवसर पाउँछन्, तब मात्रै संघीयताको मूल्य प्रकट हुन्छ ।

नेपालको संघीय संरचना हाल भूगोलअनुकूल छैन; यसले राजनीतिक सहमतिको स्वरूपमा आकार लिएको छ । त्यसैले विकास असमान भएको छ, पहुँच र अवसरमा फरक देखिएको छ । अबको समाधान पनि स्पष्ट छ– संरचनाको पुनरावलोकन गर्दै भूगोलअनुकूल संघीयता सुनिश्चित गर्नु, दुर्गम र सुलभ क्षेत्रबीचको फरक आवश्यकतालाई नीति र बजेटमा समेट्नु ।

संघीयता तब मात्र सफल हुनेछ जब यो साँच्चै जनताको जीवनमा स्पर्श गर्ने शासन प्रणाली बन्नेछ– जब डाँडाकाँडाका बासिन्दाले शासनको हात आफ्नो ढोकामा महसुस गर्नेछन् । संघीयताको सार त्यही हो– समानता, पहुँच र सहभागितामार्फत विकासको वास्तविक अनुभूति ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker