दसैको अन्त्यसंगै तिहार पर्व सुरुवात
के.बि. मसाल

दसैको अन्त्यसंगै तिहार पर्व सुरुवात भएको छ । आयो दसै ढोल बजाई गयो दसै ऋण बोकाई । यो आख्यान मात्र होइन बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा दसै गयो, तिहार आयो तिहार गएको भोलिपल्ट नेवार आयो भन्ने पनि गरिन्छ । यो आख्यान गण्डकी प्रदेशका जिल्लाहरुमा प्रचलनमा छ । यो आख्यान चाडपर्व सकिना साथ साहु आयो भन्ने प्रशगमा भनिएको हो । हाम्रो समाजमा परम्परादेखि नै नेवार संंप्रदायका मानिसहरुले ब्यापार गर्दै आएका र चाडपर्वको समयमा गाउँघरमा उधारो कपडा लगायत आवश्यक सर–सामान उधारो बिक्री गर्दै हिडने र दसै तिहार सकिना साथ आफ्नो सामानको पैसा उठाउन जाने प्रचलन थियो । परंपरागत चल्दै आएको आख्यान जस्तै दसै र तिहार सकिना साथ अब धेरै नेपालीहरुको घरमा साहु पुग्न थालेका छन् ।
दसै र तिहारको पर्वको लागि आवश्यक सर–सामान किनमेल गर्दाको ऋणले सबैको मनमा हलचल बनाएको छ । साहुको ऋण तिर्न युवा, युवतीहरु दसै र तिहार पर्व सकिना साथ फेरि बिदेश फर्किने क्रम बढ्दै छ । कतिपय घर परिवारले यो वर्षको मात्र होइन, गएको सालको दसै र तिहारको ऋण तिर्न नसकेर घरखेत बेच्ने तर्खरमा लागेका छन् । दसै र तिहार पर्व हाम्रो संस्कृति हो । यसलाई तडकभडक साथ मनाउनु भन्दा पनि यसको महत्वको बारेमा हामीलाई थाहा हुन जरुरी छ । हाम्रो परंपरा र संस्कृतिलाई बचाउनु पर्दछ। यसलाई पर्वको रुपमा मनाउँदा आफ्नो आर्थिक अबस्थालाई ख्याल गर्न सकेनौ भने यसले हामीलाई दसै र तिहार नभएर दशाको रुपमा परिणत गरिदिन्छ। अहिले धेरै घरपरिवारमा त्यस्तै समस्या खडा भएको छ । चाडपर्वको बेला गरेको खर्चको ऋण तिर्न बिदेशिनु परेको छ । पाक्न थालेको धान र घरमा भएका बस्तुहरु सस्तो मूल्यमा बिक्री गर्नु परेको छ ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व सुरुहुन लागेको छ । झिलिमिलि पर्वको रुपमा परिचित तिहार पर्वको रमाइलो पक्ष देउसी र भैलो खेल्ने पनि हो। तर अहिले देउसी र भैलोमा विकृति थपिएको छ । कला र संंस्कृतिको जर्गेना गर्ने उद्देश्यले देउसी खेल्ने भए पनि हाल खेलिएका देउसी भैलो हेर्दा कमाउने मेसोको रुपमा यसलाई प्रयोग गरेको प्रष्ट रुपमा देखिन्छ । वास्तवमा भन्ने हो भने समूहमा मिलेर गाउने गीत हो देउसी र भैलो । यसमा एकजना भट्याउने हुन्छ भने अन्य समूहका साथीहरुले देउसी अथवा भैलो भनेर भट्टाउनेलाई साथ दिने गर्छन् । खासगरी देउसी भैलोमार्फत देउसी खेल्न गएका घरमा आशिष दिने तथा शुभकामना दिने गरिन्छ भने घरधनीले फलफूल, रोटी, दक्षिणा दिने गर्छन् । यो परम्परा अब लोप हुने अवस्थामा पुगिसकेको छ । कारण, देउसी र भैलोको नाममा विकृति विसंगती ह्वात्तै बढेको छ। परम्परागत तरीकाले देउसी खेल्नुको सट्टा पश्चिमेली फेसन गर्दै उफ्रने गर्न थालेका छन् । आफूले भने जति पैसा नदिए झगडा तथा तोडफोड गर्नसमेत पछि पर्देनन् उनीहरु । जसले धेरै पैसा दिन सक्छ, उसका घरमा मात्र जाने गर्न थालेका छन् ।
दसैं र तिहारले आम सर्वसाधारणमा एकातिर उल्लास ल्याइदिएको थियो भने अर्काेतिर अहिले चाडपर्व मनाएको ऋण कसरी तिर्ने भन्ने पिरलाले गाँज्न थालेको छ । हामीकहाँ दसैं र तिहार जस्ता चाडपर्वका बेला बजार अनियन्त्रित हुने गर्छ । महँगीले आकाश छोएको हुन्छ । सरकारले बेलाबखत बजार अनुगमन गरेको प्रचारबाजी गरे त्यसले प्रभाव पार्न सकेको हुदैन । विगतका वर्षको तुलनामा यस वर्षको दसैं र तिहार अत्यधिक महँगो किनमेलमा खर्च भएको छ । हाम्रा व्यवसायीहरु चाडपर्वलाई कमाउने गतिलो अवसर ठान्छन् । त्यसको असर सर्वसाधारण जनतामा परेको हुन्छ । जब दसैं र तिहार जस्ता महत्वपूर्ण चाडपर्व आउँछ तब बजारमा कृत्रिम मूल्य वृद्धि सुरु हुन्छ । खाद्यान्न, लत्ता कपडाजस्ता दसंै र तिहारमा बढी खपत हुने वस्तुको मूल्य छोइनसक्ने हुन्छ । मनोमानी ढंगले बजार मूल्य बढ्दा, बजारमा अराजकता र अनुशासनहीनता बढ्दै जाँदा सरकार र स्थानीय प्रशासन मूकदर्शक भएर बसिरहेको हुन्छ ।
दसैं र तिहारको धार्मिक र सामाजिक महत्व छुट्टै छ । दसै तिहारलाई नै महत्व मानेर कतिपयले यो चाडको सन्दर्भ पारेर नयाँ लुगा, गहना तथा घरायसी सामान जोड्ने प्रचलन पनि हाम्रो समाजमा छ । वर्ष दिनमा आउने यो चाडको मौका पारेर वर्ष दिनको दुःख कष्टलाई भुलेर राम्रो लगाउने मीठो खाने प्रचलन नराम्रो भने होइन । राम्रो लाउने, मीठो खाने प्रचलनका नाममा हुने खानेले तडकभडक देखाएर यो चाडलाई खर्च गर्ने चाडको रुपमा मनाउने गरेको पनि पाइन्छ । गरगहना जोड्ने, गाडी लगायतका विलासी सामान किन्ने जस्ता कुरा हुने खाने परिवारमा बढी रहेको छ। आफ्नो आर्थिक अबस्थालाई बिर्सेर हुनेखानेको देखासिकी गर्नेहरुले ऋण नै काढेर भए पनि राम्रो लाउने, मीठो खाने तथा बिलासीका सामग्रीहरु जोड्ने कार्य पनि हुँदै आएका छन्।् । यस्तो तडकभडकले हुने खानेलाई त खासै समस्या नपर्ला तर सानोतिनो आयश्रोत भएकालाई भने त्यसले धेरै नै अप्ठ्यारोमा पारिदिन्छ । त्यसैले गर्दा कतिपय घरपरिवारको लागि दसैं र तिहार दशामा परिणत भएको छ ।
नेपालमा जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, लैंगिक र क्षेत्रगत विधिवता भएकोले चाडपर्वमा पनि विविधता छ । नेपालमा ठूलो संख्याको जनसमुदायले मनाउने दसैंं तिहार, विश्वकर्मा पूजा, छठ, मोहनी, ल्होछार, चासोक तङनाम, साकेला, माघी, भूमि पूजा, करमलगायत छन । नेवारको जति धेरै चाडपर्व अरुको छैन । कतिपय जातजातिको चाडपर्व फरक समयमा हुन्छ भने कतिपयको एउटै तिथिमितिमा पनि हुन्छ । चाडपर्वलाई आफ्नो मौलिक संस्कृति र परम्परालाई जर्गेना गर्नु पर्दछ । संस्कृति जोगाउने नाममा विकृतिलाई प्रशय दिनु मुर्खता हो । दसै तिहार जस्तो चाड पर्वमा प्रतिस्प्रर्धा भैरहेको छ। छिमेकिका छोराछोरीले जस्तो लाउछन् उस्तै लाउनु पर्ने, जत्रो खसि काट्छन् आफुले पनि उस्तै काट्नु पर्ने परिस्थीतिको श्रृजना भईरहेको छ । देखासिकी, नचाहिने भड्काउ, समाजमा अशान्ति फैलिने कार्य गरी चाडपर्व मनाउनु पक्कै पानी राम्रो होइन । चाडपर्वमा सबै सुखी र खुसी रहनु पर्दछ घाटी हेरेर हाड निल्ने गरेमा अबस्य पनि सबैको चाडपर्व राम्रो हुनेछ, अन्यथा महान चाड पर्व दशा बन्न सक्छ । त्यसैले बर्षमा एकपटक आउने दसै तिहारलाई दशाको रुपमा होईन उल्लासमय वातावरणमा मनाउनु पर्दछ ।
के ऋण काढेरै भए पनि वा समाजलाई देखाउनैको लागि भए पनि चाडवाड मनाउनै पर्छ र ? पक्कै पनि पर्दैन दसै तिहार हरेक वर्ष आउँछ दसै तिहारमा खर्च पनि अलि बढी हुन्छ त्यसैले अलि पहिलेदेखी वचत गरेर राख्न सकियो भने सजिलो हुन्छ । चाडपर्व आफ्नो गच्छे अनुसार मनाउनु पर्छ कसैलाई देखाउनकै लागि दसै तिहार मनाउने होइन भन्ने मानसिकता हामीमा भयो भने चाडपर्व दशा नभई उत्सव हुन सक्छ । खर्च गरेर तडक–भडक गरेर पर्व मनाउने र नसक्ने वर्गले पनि ऋणधन जुटाएर यस्ता सांस्कृतिक पर्वहरु मनाउँदा एउटा वर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नुपर्ने अवस्थामा रहेको हुन्छ । अबका दिनहरुमा देखासिकी र आडम्बरयुक्त चाडपर्व मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्न जान्नुपर्दछ । अब पनि यस्ता खर्चिला पर्वहरुलाई परिवर्तन गर्न सकिएन भने समाजमा रहने विपन्न वर्गका मानिसहरुको अवस्था झनै दयनीय हुन जान्छ ।
चाड पर्वलाई एउटा परम्पराको रुपमा मान्ने, आफ्नो गच्छे अनुसार मनाउन प्रयास गर्ने, देखासिकी र प्रतिस्पर्धा नगर्ने, एकै दिन धेरै नखाने, सकेसम्म दैनिक ताजा खानेकुरा खाने, पैसा परेको चिज हो भन्दै बासी सडेगलेको खानेकुरा नखाने, विकृति र विसंस्कृति भित्रने गरी चाडबाड नमनाउने, आफ्नो स्वास्थ्यको ख्याल गर्ने, स्थानीय रुपमा उपलब्ध सामग्री प्रयोग गरि पर्व मनाउने, तडकभडक नगर्ने, धुम्रपान तथा मदिरा रहित जमघट बनाउने, घर परिवारसंगै बसेर चाडपर्ब मनाउने, सरकारले महंगी र कालोबजारी रोक्ने, सार्वजनिक यातायात व्यवस्थित गर्ने जस्ता कार्यहरु व्यवहारमा उतार्न सके सबै नेपालीको महान चाडपर्व दशा नभई पक्कै पनि खुसी र उमंगको चाड हुनेछ । फजुल खर्च गर्न भन्दा चाड पर्वको अवसर पारेर कुनै सामाजिक काम पनि गर्न सकिन्छ तपाँइले गरेको सानो प्रयास भाविपुस्ताहरुको लागि मार्गनिर्देशन हुनेछ ।
दसै र तिहार पर्वकै समयमा कतिपय मानिस जुवा, तासलाई महत्व दिएर गाउँघर र शहर बजारमा ब्यस्त देखिन्छन् । एक–दुईजनाले जुवातास जित्यो भन्ने सुन्नमा आए पनि धेरै मानिसले जुवा हारेको सुनिन्छ । घरबार बिगारेको सुनिन्छ । जुवाडेहरु प्रहरीले पक्राउ गरेको पनि सुनिन्छ। तर जुवाडेहरु कानुनी कारबाहीमा परेको अर्थात जेल सजाय भोगेको भने सुन्नमा आउँदैन । कानुन कार्यान्वयनमा फितलोपन भएकै कारण जुवा, तास खेल्नेहरु कारवाहीमा नपरेका हुन् भन्ने भनाइ पनि रहेको छ। तर फितलो कानुनले गर्दा जुवाडेहरुसंग पुलिस प्रशासनलाई चलखेल गर्न सजिलो भएको छ । कानुन कार्यान्वयनमा फितलोपन भएकै कारण जुवा, तास खेल्नेहरु कारवाहीमा नपरेका हुन् ।
चाडपर्वमा कुनै खास दिन तथा तिथिमा मानिसहरुले विशेष पर्वको रुपमा मान्ने र विभिन्न देवी देवताहरुको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने गरिन्छ । दसै र तिहार पर्व मात्र होइन समष्टिमा भन्नुपर्दा नेपालमा नयाँ वर्ष अर्थात विक्रम संंवतको पहिलो दिनबाट नै चाडपर्वहरु सुरु हुन्छन् । त्यसपछि राम नवमी, चैते दसैं, बुद्ध जयन्ती, साउन संक्रान्ति, नागपञ्चमी, जनैपूर्णिमा, कुसेऔँसी, ऋषिपञ्चमी, बडादसैँ, तिहार, नेपाल संवत प्रारम्भको दिन म्हपूजा, छठपर्व, हरिबोधनी र हरिशयनी एकादशीहरु, बालाचतुर्दशी, विवाह पञ्चमी, माघे संक्रान्ति, स्वस्थानी पूर्णिमा, श्रीपञ्चमी, होली, महाशिवरात्रि, र घोडेजात्रा, हाम्रा प्रचलित चाडपर्वहरु हुन। यो बाहेक विभिन्न जिल्लाहरुमा विभिन्न जनजातिका मानिसहरुको आ–आफ्नै विशेष प्रकारका चाडहरु पनि छन ।
चाडपर्व र संस्कृतिको धनी मुलुक, जहांँ रोजगारीको अबसर छैन । तर खर्च गर्ने अवसर भने हाम्रा चाडपर्वले प्रशस्त दिएकाछन्। देशभित्र काम नपाएर विदेशिएका झण्डै ३० लाख नेपालीको संख्या पुगिसकेको छ । रोजगारीको लागि बिदेशिएका युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिएको छ। तर तिनै युवा अत्यन्तै जोखिममा रहेको समाचारहरु बन्ने गर्दछन् । काम गरेको कम्पनी बाट नै ठगीमा पर्ने, समयमा तलव नदिने, भनेको काम नदिने तथा कार्यस्थलमा हुने दुर्घटनाजस्ता जोखिमका बीच ती युवाहरुले खाडी मुलुकहरुमा काम गर्नुपरेको छ । सरकारी तथ्यांक अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीका दैनिक सरदर चार वटा शव मुलुकमा भित्रिने मात्रै होइन बाँचेकाहरु पनि अनेकौं पीडाका कथा लिएर फर्कने गरेका छन् । १६ देखि ४० वर्ष उमेरका सक्रिय जनशक्ति खाडी मुलुक, भारत तथा अन्य देशहरुमा पसिना बगाइरहेका छन् । देशको अबस्था यस्तो हुँदाहँुदै हामीले चाडपर्वको समयमा ख्याल नगरी तडकभडकमा गरेको खर्चले ऋण लाग्दैन त ? आउँदा दसै र तिहारका पर्वमा आफ्नो औकात अनुसार खर्च गर्ने बानी बसालौ । हाम्रो आर्थिक अबस्था हेर्ने हो भने हामी नेपालीहरुले मनाउँदै आएका चाडपर्वहरु धान्न गाह्रो हुँदै गएको छ । साँस्कृतिक पर्वहरुमा तडकभडक नगरी सरल र सहज तरिकाबाट मनाउन सबैले सिक्न जरुरी छ ।