जीपी कोइरालामा विशेषज्ञ चिकित्सक सहितको श्वासप्रश्वास उपचार सेवा सुरु

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा विशेषज्ञ चिकित्सक सहितको श्वासप्रश्वास सम्बन्धी बैहिरङ्ग सेवा सञ्चालनमा ल्याइएको छ ।

शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित उपचार केन्द्रमा नेपाली राजनीतिका शिखर पुरुष तथा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १३औं स्मृति दिवसका अवसर पारेर मंगलबारबाट सेवा सञ्चालनमा ल्याइएको हो ।

जनरल अस्पतालको रूपमा सेवा दिंदै आएको यस केन्द्रले आफ्नो मुख्य उद्देश्य बमोजिम श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ चिकित्सक डा. शैलेश गुरुङको नेतृत्वमा सेवा सञ्चालनमा ल्याइएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।

सञ्चालक समितिका सदस्य शेषमणि आचार्यको श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य परीक्षण गरी डा. गुरुङले केन्द्रबाट श्वासप्रश्वास उपचार सेवा शुभारम्भ गरेका थिए । ‘केन्द्रबाट दैनिक २५० जना सेवाग्राहीले ओपीडी सेवा लिदै आएका छन्, जसमध्ये २५ प्रतिशत सेवाग्राही श्वासप्रश्वास सम्बन्धी समस्य लिएर आउनुहुन्छ’, डा. श्रेष्ठले भने, ‘हामीले पहिलेपनि श्वासप्रश्वासको सेवा दिंदै आएका थियौं, अब भने नियमित रुपमा विशेषज्ञ चिकित्सकद्वारा सेवा दिनेछौ ।’

विशेष गरी दम र निमुनियाका विरामीलाई प्राथमिकतामा राखी पहिलो चरणमा सोही अनुसारको उपकरणहरु ल्याइएको उनले बताए । केन्द्रमा हाल पुलमुनरी स्पाइरोमिटर, फोक्सोभित्र हेर्ने दुरविन (ब्रोन्चोस्कोप) उपलब्ध छ । चाडै नै टिवी परीक्षण गर्ने उपकरण पनि जडान गर्ने तयारी भएको छ । केन्द्रले विशेषज्ञ चिकित्सकहरुद्वारा उपचारसेवा प्रदान गर्न थालेपछि स्वास्थ्य उपचारमा सहज भएको शुक्लागण्डकी-६ दरगाउँका ५५ वर्षीय विष्णुबहादुर परियारले बताए । उनले भने, ‘पछिल्लो १/२ वर्षा अस्पतालले उपचार सेवालाई गुणस्तरीय बनाएको छ । हामीलाई सामान्य उपचार सेवा लिन अन्यत्र जानुपर्ने बाँध्यताको अन्त्य भएको छ ।’

‘अहिले आमाको स्वास्थ्य उपचार गर्न समयसमयमा पोखरा जानुपर्ने बाँध्यताको अन्त्य भएको छ’, उनले भने, ‘श्वासप्रश्वास र सुगर सम्बन्धी बिरामी आमालाई उपचारका लागि पोखरा धाइराख्नु पथ्र्यो । अहिले घरदैलोमै सहज रुपमा उपचार सेवा पाएका छौ ।’

यस्तै, श्रीमानलाई कोख दुखेपछि मंगलबार बिहानै केन्द्रमा उपचार गर्न आइपुगेकी भिमाद नगरपालिका-८ की खगिसरा आलेले पनि पछिल्लो समय अस्पतालको सेवामा सुधार आएको बताउँछिन् । उनले भनिन्, ‘पहिले केही हुने बित्तिकै पोखरा, चितवन, काठमाडौं जानुपथ्र्यो । अहिले भरपर्दो यहि अस्पताल बनेको छ ।’

५० वेडको उपचार सेवा दिंदै आएको केन्द्रसंग अहिले ७ सय रोपनी क्षेत्रफलको लालपुर्जा रहेको छ भने ४० रोपनी क्षेत्रफलको लालपूर्जा पक्रियमा रहेको छ । हाल केन्द्रमा एक सय जनाको हाराहारीमा करारमा जनशक्ति रहेका छन् । अझै ८० जना कर्मचारी आवश्यकता रहेको डा. श्रेष्ठले बताए । हाल केन्द्रमा १० जना विषेशज्ञ डाक्टर र १० जना मेडिकल अफिसर कार्यरत छन् । केन्द्रले १० वेडको भेन्टिलेटर सहितको आसियु कक्ष पनि सञ्चालन गरेको छ ।

यस्तै, केन्द्रले श्वासप्रश्वास सम्बन्धी ओपीडी सेवा, जनरल ओपीडी, हाडजोर्नी तथा नशा रोग, जनरल र्सजरी, इन्टरल मेडिसिन, फार्मेसी, स्त्री तथा प्रसुति, बालरोग, आइसियु सेवा, डिजिटल एक्सरे, इसीजी, भिडियो एक्सरे, सुरक्षित गर्भपतन, आँखा रोग, पिएफटि सेवा (मेशिनद्वारा फोक्सोको जाँच), इकोकार्डीयोग्राफी (मुटुको भिडियो एक्सरे) लगायतको सेवा प्रदान गर्दै आएको छ ।

केन्द्रले मेजर/माइनर अपरेशन (शल्यकृया) सेवा पनि उपलब्ध गराउदै आएको छ । गत असोज ६ गते पहिलो पटक पित्ताथैली (पत्थरी)को सफल शल्यक्रिया गरेको केन्द्रले चालु आर्थिक वर्षको हालसम्म ३६ वटा हाडजोर्नी र ३७ वटा र्सजरी गरेको डा. श्रेष्ठले बताए । केन्द्रमा हरेक हप्ताको सोमबार र बिहीबार मेजर अप्रेसन सेवा प्रदान गर्ने गरिएको छ ।

उपचार केन्द्रमै शल्यक्रिया हुन थालेपछि काठमाडौ र पोखरा जानुपर्ने बाध्यता अन्त्य भएको शुक्लागण्डकीकी यममाया गुरुङले बताइन् । उनले भनिन्, ‘पहिले स-साना समस्य लिएर पनि पोखरा जानुपथ्र्यो । अहिले सामान्य स्वास्थ्य परीक्षणदेखि जटिल प्रकृतिको शल्यक्रिया पनि घरछेउकै अस्पतालमा हुन थालेपछि उपचार सेवा लिन सहज भएको छ ।’

केन्द्रले करिव दुइ वर्षदेखि मेजर तथा माइनर शल्यक्रियाको सेवा दिंदै आएको छ । पित्ताथैली, हाडजोर्नी, पाइलस्, हर्निया लगायतको मेजर अप्रेसनका सेवा प्रवाह भएको केन्द्रले जनाएको छ । केन्द्रबाट तनहुँ, लमजुङ, पाल्पा, स्याङजा, नवलपुर लगायतका जिल्लाका ग्रामीण क्षेत्रका सेवाग्राहीहरुले सहज रुपमा उपचार सेवा पाउने गरेका छन् ।

केन्द्रले संघीय सरकारबाट प्राप्त २ करोड १८ लाख रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट निर्माण गरेका छ । केन्द्रले २०७८ पुस २७ गतेबाट अक्सिजन उत्पादन गर्दै आएको छ । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठका अनुसार सानो सिलिन्डरको २ सय र ठुलो सिलिन्डरको ५ सय रुपैयाँका दरले अक्सिजन अन्यत्र बिक्रीबितरण गर्ने गरिएको छ ।

जनस्तरबाट संकलित दान र चन्दबाट स्थापना गरिएको सेतीगंगा सामुदायिक अस्पातालको स्वामित्व नेपाल सरकारको २०७३ साल असार १२ गतेको निर्णयानुसार जीपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो।

सरकारले सेतीगंगाको स्वामित्व केन्द्रलाई हस्तान्तरण गरेपछि अस्पताल निर्माणका क्रममा चन्दा र दाना दिने दाताहरुको शिलालेखलाई व्यवस्थित नगरि राखेको स्थानीयले गुनासो गर्न थालेका छन् । सेतीगंगा अस्पताल निर्माण समितिका सदस्य तथा चन्दादाताहरुलाई केन्द्रको कुनैपनि समितिमा नराखिएको समेत स्थानीयले गुनासो गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker