लिफ्ट सिस्टम बिग्रिएपछि ६० घर परिवारलाई खानेपानीको समस्या

- भञ्ज्याङ समाचारदाता (दमौली)
खानेपानीको लिफ्ट सिस्टममा समस्या आएपछि तनहुँको भानु नगरपालिका-१३ का ६० घर परिवारलाई खानेपानी उपभोगमा समस्या आएको छ ।
भानु-१३ को मिर्लुङ स्थित पयाँस्वारा, खत्रीगाउँ, गैराबारी लगायतका गाउँका बासिन्दाले बिगत एक हप्तादेखि खानेपानी सामस्या झेल्दै आएको स्थानीय सोम गुरुङले बताए ।
तीन वर्ष अगाडि स्थानीय सामाजिक कार्यकर्ता विमल गुरुङको सक्रियतामा निर्माण गरी सञ्चालनमा ल्याइएको जाड्पानी लिफ्ट सिस्टम खानेपानी योजनाको पानी तान्ने पम्प जलेपछि अहिले गाउँमा पानी आउन छाडेको बताइएको छ ।
बिग्रिएको पम्प मर्मत सुधार गर्न र नयाँ खरिद गर्न ठूलो रकम खर्चनुपर्ने अवस्था आएको छ । गाउँका बासिन्दाले उक्त रकम खर्च गरी तत्काल खानेपानी सुचारु गराउन सक्ने अवस्था नभएकाले खानेपानी उपभोगमा समस्या आएको स्थानीयले बताएका छन् ।
पानी तान्ने पम्प जलेपछि दमौलीमा मर्मतका लागि ल्याइएको र दमौलीमा पनि मर्मत हुन नसकेपछि पोखरा पठाइएको स्थानीय सोम गुरुङले जानकारी गराए । उनले भने, ‘सामाजिक व्यक्तिहरुको सहयोगमा गाउँमा लिफ्टबाट खानेपानी ल्याइएको थियो । पानी तान्ने पम्प बिग्रेपछि अहिले त्यो पम्प बनाउन र नयाँ खरिद गर्न उस्तै उस्तै रकम खर्च गर्नुपर्ने अवस्था आएकाले तत्काल खानेपानी सहज हुने अवस्था नहुँदा हामीलाई समस्या आइलागेको छ ।’