तनहुँको दुम्सीचौरमा नगर स्तरीय कोभिड अस्पताल निर्माण सुरु

तनहुँको व्यास नगरपालिकाले दुम्सीचौरमा नगर स्तरीय कोभिड अस्पताल निर्माण सुरु गरेको छ । व्यास–१० स्थित पीसीआर प्रयोगशालाको आडमै रहेको सार्वजनिक जग्गामा नगरपालिकाले नगरस्तरीय कोभिड अस्पतालको भवन निर्माण सुरु गरेको हो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उक्त भवनको आज शिलान्यास गर्नुहुँदै सङ्घीयताका कारण जनताले गाउँघरमै सेवा लिन पाएको बताउनुभयो । स्थानीय तह नभएको भए कोभिडको महामारीमा जनताले अकालमा मृत्युवरण गर्नुपर्ने स्थिति आउने जनाउँदै उहाँले भन्नुभयो, “संविधानले व्यवस्था गरेबमोजिमको सङ्घीयताले आज जनताले वडा–वडामै स्वास्थ्य सेवा पाउन सफल भएका छन् ।”

स्वास्थ्यको क्षेत्रमा सिंहदरबारले मात्र केही गर्न नसकेको जनाउँदै उहाँले कोभिड महामारी नियन्त्रणका लागि स्थानीय सरकारले गरेको प्रयास सराहनीय रहेको बताउनुभयो । सङ्घीयता सार्थकसिद्ध भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “कोभिड अस्पतालले यस क्षेत्रका बासिन्दालाई गुणस्तरीय सेवा दिने विश्वास लिएको छु ।”

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कोभिड–१९ नियन्त्रणका लागि विगतदेखि नै व्यासको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । कोभिड–१९ को महामारीमा आफ्नै अस्पताल नहुँदा समस्या भएकाले नगरस्तरीय अस्पतालको आवश्यकता खड्किएकाले नगरपालिकाले अस्पताल निर्माण सुरु गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । दमौली आसपास सार्वजनिक जग्गा नपाइएपछि पीसीआर प्रयोगशाला भएकै ठाउँमा अस्पताल निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।

रु एक करोड ५६ लाखमा अस्पताल निर्माणका लागि बोलपत्र आह्वान गरे पनि रु ८९ लाख ९४ हजार ३१४ मा ठेक्का लागेको छ । अस्पताल निर्माणको जिम्मा क्वालिटी इन्द्रावती कन्स्ट्रक्सन प्रालिले पाएको छ । आठ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।

अस्पताल २५ शय्या क्षमताको हुनेछ । अस्पताल भवनमा चिकित्सकको आवाससमेत व्यवस्था गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । नगरपालिकाले सोही ठाउँमा पीसीआर प्रयोगशाला सञ्चालन गरिरहेको छ । कोभिड–१९ को महामारीका बेला पीसीआर रिपोर्ट आउने नौ/दश दिन लागेपछि विभिन्न सङ्घसंस्था, व्यक्ति र नगरपालिकाको लागत सहभागितामा प्रयोगशाला सञ्चालन भइरहेको छ । उक्त प्रयोगशालाबाट नगरपालिकाले निःशुल्करुपमा पीसीआर परीक्षण गरिरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker