नेपाली इतिहासको बिर्सन नसकिने महान षड्यन्त्रहरुमा–कोतपर्व

देव बस्न्यात

विषय प्रवेश 
नेपालको इतिहासमा पटक पटक विभिन्न घटनाहरु घटेका छन् । ति मध्येको एउटा महानपर्वमा कोतपर्व थियो। यस घटनाको विकास क्रम कसरी भयो यस घटना पश्चात नेपालको शासन सत्ताको बागडोर कस्को हातमा पुग्यो, कसरी सञ्चालन भए। यस पश्चात कस्ता कस्ता घटना घटे क्रमस समेट्ने प्रयत्न गरिनेछ। तत्कालमा कोत पर्व र भण्डारखाल पर्वलाई भिन्न भिन्न शिर्षकमा व्याख्या गर्न जरुरी सम्झेको हो। तत्कालीन परिवेशमा घटना घट्दा देखिएका पूर्वअभ्यास र समापनमा देखिएका राजनैत्तिक तिकडमका धरातल कसरी बुनिएका रहेछन भन्ने विषयमा यो लेखमा प्रष्ट्याउने प्रयत्न सम्म गरिएको हो। यस घटना घट्दा देखिएका तत्कालीन परिवेशह समेत सुक्ष्म रुपमा विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।

१) कोतपर्व पूर्वको पूर्वाङ्ग

नेपालको सैनिक इतिहासमा वि.सं. १८०३ सालमा ३२ वर्षीय शिवरामसिंह बस्न्यातले प्रथमसेनापति बन्ने सुअवसर प्राप्त गरेका थिए। उनी त्यो समय नालदुम विजय अभियानका दलमुखी बनेका थिए। वि.सं. १८०३ फागुन ५ गतेका दिन शत्रुपक्षबाट मध्यरातमा भएको अप्रत्याशित आक्रमण हुँदा बहादुरीका साथ युद्ध मैदानमा होमिएका शिवरामसिंह बस्न्यातले युद्धभूमिमा वीरगति प्राप्त गरेका थिए । यस्तैगरि किर्तिपुरको युद्धमैदानमा वि.सं. १८२१ मा वीरभद्र वस्न्यात र वि.सं. १८२८ पुस ५ गतेको दिन स्याङजाको सतहुँमा चौविसेहरूसंग भएको युद्धमा काजी केहरसिंह बस्न्यातले वीरगति प्राप्त गर्नु भएको थियो । वि.सं. १८५५ फागुन २८ गतेमा मूलकाजी अभिमानसिंह बस्न्यातलाई काजी परिषदबाट हटाई पर्सादेखि मोरङ्गसम्मको कालाबञ्जरमा बस्ती बसाउने काम गर्न खटाइएको थियो । यसै गरी नेपाल अधिराज्यको राजस्व सम्वन्धि कार्यको जिम्मेवारी दिएका काजी धौकलसिंह बस्न्यातलाई वि.सं. १८५७ को अन्त्यतिर कुमाउँगढवालको प्रमुखप्रशासक बनाइ पठाइएको पाइन्छ । फौजी असन्तोषका कारण ढाकचा सिपाहीले हिर्काएको वन्दुक पिडा सहन नसकी वि.सं. १८५८ वैसाखको अन्त्यमा उहाँको दुःखद नीधन हुन पुगेको थियो । वि.सं. १८५८ को आश्विन १५ गते साँझ दरवारबाट घर फर्कदै गरेका मूलकाजी किर्तिमानसिंह बस्न्यातलाई हात्तीसार निर खाञ्चा खवास र श्यामदत्त शाहद्वारा निर्मम हत्या गरिएको थियो । किर्तिमानसिंह बस्न्यातको हत्या षडयन्त्रमा सामेल हुने देवदत्त थापा, सरदार प्रतिमान राना, इन्द्रसिंह खवास र गने खवासलाई रानी सुवर्णप्रभाले मुत्युदण्ड दिएकी थिइन। वि.सं. १८६० को अन्त्यतिर बखतावरसिंह बस्न्यातलाई काजी पदबाट हटाई माझकिरातको विद्रोह दबाउन हाकिम बनाई खटाइएको पाइन्छ । वि.सं. १८०४ तिर गढवाल विजय अभियानमा गएका रणधिर बस्न्यातको काठमाडौं स्थित किर्तिमन्दिर र त्यस्को सम्पूर्ण सेरोफेरो जग्गा अधिग्रहण गरियो । वि.सं. १९११–१२ को भोटसङ्गको युद्धमा लेफ्टीनेन्ट जगतजितसिंह बस्न्यातले वीरगति प्राप्त गरेका थिए । काजीप्रसाद सिंहका ज्वाई जङ्गवहादुर कुँवरले वि.सं. १९०३ को कोतपर्वमा अग्रणी भूमिका खेलेर प्रधानमन्त्री पद हत्याएका थिए भने प्रसादसिंह बस्न्यातका छोरा मेघगम्भिर सिंहको वि.सं. १९०५ मा नाक कान काटिएको थियो ।
अनेक षडयन्त्र र दाउपेचबाट बस्न्यातहरूको शक्ति क्षीण गराउने प्रयासका बाबजुद श्रीपाली बस्न्यातहरू नेपाल दरवारमा सर्वशक्तिमान भएर रहेका थिए। राजभक्त र देशभक्त श्रीपाली बस्न्यात, थापा, पाण्डे आदि जातिहरू रहुन्जेल नेपाललाई आफ्नो अधिकार भित्र राख्न नसकिने सोच गरी नेपालका राजभक्त तथा देशभक्तहरूलाई एक एक गरी मार्दा समय धेरै लाग्ने र षड्यन्त्रको पोल खुल्न सक्ने भयले माथवरसिंह थापा र गगनसिंह खवास जस्ता शक्तिशाली भारदारहरूको निर्मम हत्या गरी कोतपर्व जस्तो सामुहिक हत्याको षड्यन्त्र गर्न व्रिटिश दुतावास र नवोदित शक्तिपुञ्जका भारदार जङ्गवहादुर कुंवरको संयुक्त मिलेमतो भएको बुझिन्छ । कम्पनी सरकार व्यापारिक दृष्टिकोणले महत्वपूर्ण ठानिएको तिव्वतमा आफ्नो प्रभाव जमाउन चाहन्थ्यो । तिव्वतमाथि प्रभाव जमाउन उद्धत व्रिटिस कम्पनी सरकार नेपाललाई पनि आफ्नो औपनेवेसिक भूमि वा आफ्नो अनुकुलको भारदारिया शक्ति जन्माउनु परम आवश्यकता भइसकेको थियो । त्यसैको फलस्वरुप नेपालमा कोतपर्व जस्तो भयंकर सामुहिक हत्याको योजनाले मूर्तरुप पाउन सफल भएको थियो ।

२) राष्ट्रभक्तहरुको सामुहिक हत्याको षडयन्त्र

कोत हत्याकाण्ड पृथ्वीनारायण शाहको मरणोपरान्त देखिएको राजनैतिक अस्थिरता, षडयन्त्र र शक्तिका लागि भएका दाउपेचको पराकाष्ठा थिएन भन्न सकिन्न । भारदार भारदार बीच चल्देै आएको सत्ता संघर्ष, षडयन्त्र, स्वार्थपरक राजनीति, नेपालका राजगद्धीका उत्तराधिकारीहरू निरन्तर नावालक राजा मात्र गद्यिनसिन हुने परम्परा, राजपरिवारको सदस्यहरूको वहुविवाहका कारण सौतेनी रानी रानी बीचका इष्र्या एवंं वैमनस्यताले सत्ता संघर्षमा होडबाजी झिना झपटी, व्यैयक्तिक स्वार्थ, राजाहरू समयमा अनिर्णयका बन्दि र राजशाही र भारदार बीचको सत्तासंघर्षले राष्ट्रिय एकतामा धमिरो सल्किएको देखिन्छ । जस्का कारण अकल्पित कोतपर्व जस्तो भयंकर दुष्परिणम राष्ट्रले भोग्नु परेको देखिन्छ । कोतपर्वका घटना घट्नुमा निम्न कारणहरूलाई अघिसार्न समिन्छ ।

क) गुट उपगुटको सृजना

सर्वप्रथम राजा प्रतापसिंह शाहको मरणोपरान्त नेपालको सत्तासंघर्षमा गुट उपगुटले प्रश्रय पाउँदै गएको देखिन्छ । प्रतापसिंह शाहको विवाहित रानी राजेन्द्रलक्ष्मी, भाइ बहादुर शाह, र मित्रीनी रानी मनमैंजुका कारण दरवारमा गुट उपगुट सृजित हुन गएको थियो । जस्को फलस्वरुप शक्रियताको लागि प्रतिपक्षी गुटहरू माझ सत्तासंघर्षको स्थिति सृजना हुन गई राजेन्द्र लक्ष्मी र बहादुर शाहमा रणबहादुर शाहको नायवी ग्रहण गर्ने विषयमा मतभेद बढ्न पुगेको थियो । बहादुर शाहको दोश्रो नायवीकालमा देवर भाउजु बीच फाटो पैदा गर्न सफल काजी स्वरुपसिंह कार्की र उन्का गुटकालाई सफाय पार्ने आन्दोलन चलाइयो। बहादुर शाहलाई आजीवन कैद गरी कैदमा नै जीवनलिला समाप्त गर्ने कुटिल चाल चलाइयो । राजा रणबहादुर शाहको उपद्रव कार्यहरुले बस्न्यात थापा पाण्डेहरुबीच गुट उपगुट जन्मायो । यहि गुट, उपगुटमा विभाजनको कारणले मुलकाजी किर्तिमान सिंह बस्न्यात, मूलकाजी दामोदर पाण्डे, काजी वंशराज पाण्डेको हत्या गरायो ।
सत्ताको खिचातानीमा मैजुरानीका छोरा शेरबहादुर शाहले स्वामी महाराज रणवहादुर शाहको हत्या भयो भने थापा वंश सत्तामा पुग्दा पाण्डेहरूको विनाश र पाण्डेहरू सत्तामा पुग्दा थापाहरूको पूर्णसफाय गर्ने भारदारी इबीले सगरमाथा नै चुम्न पुगेको थियो । जस्को कारण जनरल भिमसेन थापा जनरल कमाण्डर इनचिफ माथवरसिंह थापाहरूको षडयन्त्र पूर्वक हत्या हुन पुग्यो । यही गुट उपगुटका कारणले नै कोतपर्वका घटना घटाउन मलजल गरेको थियो । त्यसै गरी एकीकरणको अभियान रोकिएपछि नेपाल र अंग्रेज बीचको युद्धमा नेपाल पराजित भएकाले वार्तालाप प्रारम्भ गरी वि.सं. १८७२ (२ डिसेम्वर) १८१५ मा भएको सुगौली सन्धीले नेपाल र अङ्ग्रेज बीच चिरस्थायी शान्ती प्रदान ग¥यो । जस्को परिणाम स्वरुप नेपाल एकीकरण अभियानमा व्यस्त भारदारहरूलाई फुर्सदै फुर्सद मिल्यो । फुर्सदको क्षणमा राज्यले भारदाहरूलाई नयाँ काम सुम्पन सकेन । यहि फुर्सदको क्षणमा भारदारहरूको मनमा सैतानले घर ग¥यो ।  भारदारहरु विभिन्न गुट उपगुट संञ्चालन गर्ने, शक्तिको लागि जाल रच्ने, र भाइ भारदार र दरवार बीच फुटाउने षड्यन्त्रका जालहरुबुन्न थालियो । यही गुट उपगुटका कारणले कोतपर्वलाई निम्तो दिएको देखिन्छ ।

ख) नातवाद र कृपावादको चरमोत्कर्ष

ब्राह्मण पुत्री रानी कान्तीमतीको वि.सं. १८५४ असोज २२मा मृत्यु भएको कारण विक्षिप्त भएका स्वामी महाराज रणवहादुर शाहले समाज तथा धर्म विरोधी कार्य गरेकाले र राज्य संचालनमा सरकार माथि प्रत्यक्ष हस्तक्षेप गरेका कारण नुवाकोट र कान्तिपुरबाट नेपालमा द्वैध शासन प्रारम्भ हुन पुग्यो । स्वामी महाराज रणबहादुर शाह काशी जाने निर्णय गरेपछि संभावित गृहयुद्ध टर्न गयो । रणबहादुर संगै काशी गएका भीमसेन थापा वि.सं. १८६० मा रणवहादुरसंगै नेपाल फर्किए। वि.सं.१८६१ मा भीमसेन थापालाई काजी पद दिई नेपालको आर्थिक प्रशासन र सैनिक प्रशासन तर्फको पूर्ण जिम्मेवारी सुम्पिएको थियो । यसै समयमा भीमसेन थापाले आफ्ना भाई नयनसिंह थापाको छोरी ललितात्रिपुरासुन्दरीसङ्ग रणबहादुर शाहको विवाह गराइदिएर कुटुम्बेरिता जोडेका थिए । यहि वैवाहिक नाताले र आफ्नो बलबाहु, वुद्धि र कुटनीतिले भीमसेन थापालाई अधिक शक्तिशाली बन्न सघायो ।
वि.सं. १९८२ मा भीमसेन थापा कमाण्डर इनचिफ बनी राज्यको सम्पूर्ण कार्यको मुख्तियारी प्राप्त हुनासाथ पिता अम्मरसिंह थापा, भाई रणवीरसिंह थापा, भतिजा माथवरसिंह थापा, भाइ वखतावर सिंह थापालाई जनरल पद र भतिजा उजिरसिंह थापालाई कर्नेल बनाए भने भाइ नयनसिंह थापाका ज्वांइ बालनरसिंह कँुवरलाई काजी बनाए । वडाकाजी अम्मरसिंह थापा, भक्ति थापा, वीर वलभद्र कुंवर, उजी रणजोर थापा जस्ता, पुराना विश्वासिला भारदारहरूलाई उपेक्षा गरी आफ्ना शाखा सन्तानहरूलाई उच्च प्रश्रय दिई नातावाद र कृपावादको श्री गणेश गरे । जस्को फलस्वरुप भाई भारदारहरूमा मनमो्टाव बढ्न गयो । अन्तत पारिवारिक सम्मान र शक्ति वृद्धि गर्नमा पाण्डे र थापा वंशजको होडबाजीले धेरै वस्न्यात पाण्डे र थापाहरू काटिए मारिएको पाइन्छ । भारदार भारदार बीचको बापवैरी साँध्ने प्रकृयाका सुरुआतले कोतपर्व जन्माएको देखिन्छ ।

ग) पद र शक्तिको लोलुपताले निम्ताएका हत्या प्रसङ्ग

विशेषत थापा वंश र पाण्डे वंश बीच बापवैरी साँध्ने कार्यमा दुबै वंशज उत्तिकै जिम्मेवार देखिन्छन् । त्यसो त बहादुर शाहले आफ्नो नायवी निष्कंटक रूपमा सञ्चालन गर्न भाउजु राजेन्द्रलक्ष्मीलाई कैद गर्नु र राजेन्द्रलक्ष्मीले देवर बहादुर शाहलाई कैद एवं देशनिकालाका प्रकृया सुरु गर्नु वापवैरी सांध्ने कृयाको प्रारम्भिक चरण हो । भीमसेन थापा र दरवारका काजी स्वरुपसिंह कार्कीको चुक्लीको भरमा देशभक्त वंशराज पाण्डेलाई वि.सं. १८४२ को सुरुमा भण्डारखालमा काटियो भने वि.सं. १८६० सालको चैत्रमा काजी दामोदर पाण्डे र उन्का जेठा छोरा ललितवम पाण्डेलाई र अन्य केही भारदारहरूलाई भद्रकाली नजीक सहिद गेटनेर भीमसेन थापाको सल्लाह मुताविक रणवहादुर शाहले काट्ने आदेश जारी गरेका थिए। दामोदर पाण्डेको अवसान पछि भीमसेन थापाले मुख्तियार भई निष्कंटक शासन चलाए भने वि.सं. १८९६ भीमसेन थापाको अवसान नभएसम्म शासन सत्तामा निष्कण्टक बस्न नसकिने देखि राजकुमार देवेन्द्रलाई विष खुवाएको आरोप लगाई उनी लगायत रणवीर थापा र एकदेव वैद्य समेतलाई कैद गरी सर्वस्वहरण समेत गरियो । भीमसेन थापा निरपराध निर्दोष र निष्कलङ्क भनी मुद्दा खारेज गरी बन्दिगृहवाट मुक्त भएका थापालाई पुनः सोही केस दोहोराई कैद गरियो । आफ्नो धर्मपत्नीलाई नाङ्गो पारेर सहर घुमाउने र भीमसेन थापालाई मलको पोखरीमा राखी यो दृष्य देखाउने भन्ने समाचार सुनाइयो। यही समाचार सुनेका भीमसेन थापालाई खुकुरीले सेरिइ आत्महत्या गर्न बाध्य पारियो ।
पद शक्ति प्राप्त भएपछि माथवरसिंह थापाले वि.सं. १९०० बैसाख ६ गतेका दिन रणबम पाण्डे, करवीर पाण्डे, रणदल पाण्डे आदिलाई काटी मारेको हृदयविदारक दृष्य देखेका रणजंग पाण्डेको पनि हृदयगति बन्दभै मृत्यु भयो पद र शक्तिको लोलुपताले वि.सं. १९०२ जेष्ट २ गतेका दिन जंगबहादुर कुंवर र गगनसिंह खवासको संयुक्त मिलिभगतमा माथवरसिंह थापाको हत्या गरियो भने वि.सं. १९०३ भाद्र ३१ गतेका दिन गगनसिंहको हत्या स्वयं जंगबहादुर कुँवरले गरेका थिए । सत्तासंघर्षको मैदानमा बापवैरी नसांधे पनि उच्चपद पाउने लोलुपताले वरिष्ठ उच्च पदासिनहरूको हत्या गरिने श्रृंखलाबद्ध कार्यले नै कोतपर्व निम्ताएको हो ।

घ) रानी रानीहरू वीच सौतिने डाह र इष्र्या

श्री ५ प्रतापसिंह शाहका रानीहरू श्री ५ राजेन्द्रलक्ष्मी र भित्रेनी रानी मनमैंजु बीच आपसी सौतीनी द्वन्द्व थियो । प्रतापसिंह शाह राजेन्द्रलक्ष्मीलाई वास्ता नगरी मैंजु रानी प्रति बढी आकर्षित थिए नै। मैजु रानी र राजेन्द्र लक्ष्मी बीचको गुटबादिताले कोतपर्वको शिलन्यास गरेको थियो । रणबहादुर शाहको राजराजेश्वरी, कान्तीवती, चन्द्रावती तथा ललितत्रिपुरासुन्दरी समेत चार रानीहरू थिए । रणवहादुर शाहको कान्तिवती प्रतिको बढी झुकाव र गिर्वाणलाई राजा बनाउने लिप्सा र स्वामी महाराज बनी रानीहरूमा नायवी सुम्पिने प्रकृयाले राजपरिवार एवं भारदार बीच नराम्रो फुट पैदा ग¥यायो। आफ्ना पक्षका भारदारहरूलाई प्रकृती हावी हुन गयो। एकतामा रहेको भारदार शक्तिहरूलाई अनेकतामा विभाजन गरेका कारण कोतपर्व निम्ता गर्नमा इट्ट थप्ने काम भयो ।
श्री ५ राजेन्द्रका साम्राज्यलक्ष्मी र राज्यलक्ष्मी रानीहरू थिए । राज्यलक्ष्मीको निधन पश्चात नेपाल दरवारमा रानी राज्यलक्ष्मीमा राज्यको सर्वोच्च शक्ति गएको थियो । यहि शक्तिको उन्मादमा सौतेनी युवराज सुरेन्द्रलाई हटाई आफ्नै छोरा रणेन्द्रलाई युवराज र भावी राजा बनाउने उत्कृष्ट चाहनाले अप्रिय निर्णयहरू गर्न गराउनमा भारदारहरूलाई दबाव दिने कार्य र नमान्ने भारदारहरूको हत्या गर्ने शिलशिलाले चरमोत्कर्ष रूप लिइसकेको थियो । जस्को फलस्वरुप प्रधानमन्त्री माथवरसिंह थापा र शक्तिशाली भारदार गगनसिंह खवासको हत्या हुन गई कोतपर्व सर्वोच्चको विन्दुमा पुगेको थियो ।

ङ) षडयन्त्रको केन्द्रभूमि ब्रिटिस रेजिडेन्सी

नेपालको राजनीतिमा आफ्नो प्रत्यक्ष प्रभावको तीक्ष्ण भोको ब्रिटिस राजदुताबासले आफ्नो हित विपरितका भारदारहरूलाई उचाल्ने र पछार्ने गरेको पाइन्छ । भीमसेन थापाको पतन गराउनमा पाण्डे भारदारहरू र माथवरसिंह थापाको पतन गराउनमा जंगबहादुर र गगनसिंह खवासलाई प्रयोग गरिएको थियो भने गगनसिंह खवासको पतन गराउन जंगवहादुर कुवंरलाई साम, दाम र दण्ड सबै प्रकारको सहयोग पु¥याइएको थियो । जस्को फलस्वरुप दर्दनाक कोतपर्व जस्तो भयंकर दुर्घटना हुन पुगेको थियो ।

च) भारदारहरूको मातहतमा सेनाहरुको प्रयोग

रानी राज्यलक्ष्मीले आफ्नो छोरा रणेन्द्रलाई राजा बनाउने उत्कट अभिलाषाले आफना अनुकुलका भारदारहरूको व्यैयक्तिक प्रभाव रहने गरी सैनिक संस्था राख्ने प्रथाको सुरुआत गरिन । यस प्रकृयाले गगनसिंह खवासको मातहतमा सात पल्टन, जंगवहादुरको मातहतमा ३ पल्टन, अभिमान सिंह रानामगरको मातहतमा ३ पल्टन र चौतरिया फत्यजङ्ग शाहको मातहतमा ३ पल्टन रहेको देखिन्छ । यसरी जनरलहरूको मातहतमा सैनिक रहने प्रथाले एक आपसमा मपाईत्वको भावना जागृत भएको थियो । यस समयमा सबै भन्दा बढी फूर्ति गगनसिंह र तत्पश्चात जंगबहादुरकै पूmर्ति बढेको थीयो। सत्ता र शक्तिका भोका जंगहादुरले माथवरसिंह थापा र गगनसिंह खवासको हत्या गरेको कारण कोतपर्व जस्तो नरसंहारकारी घटना हुन पुगेको थियो। रानी राज्यलक्ष्मीको दाहिने हात मानिएका शक्तिशाली भारदार गगनसिंहको हत्याले रानीको आफ्नो अन्तर मनमा ठूलो ठेस पु¥यायो। गगनसिंहको हत्यारा पत्ता लगाई निजलाई दण्डसञ्जाय दिने रानीको दृडअठोट एवं तत्काल निर्दोष कपरदार वीरकेशर पाण्डेलाई मृत्यु दण्ड दिने अप्रिय निर्णय प्रति प्रधानमन्त्री फत्येजङ्ग शाह र राजा राजेन्द्र शाह सहमत हुन सकेनन् ।
प्रधानमन्त्री राजाको आफ्नो निर्णयमा असहयोग गरेको महसुस गरेकी रानीको व्यवहारदेखि हुन सक्ने अप्रिय घटनाबाट तर्सिएर वच्नको लागि राजा राजेन्द्र घटनास्थलबाट बाहिरिन गए । राजाको बर्हिगमन युवराजको अनुपस्थिति र रानीको शिशमहल तर्फको गमनले जङ्गवहादुरलाई रोकने, छेक्ने र सन्तुलन एवं नियन्त्रण गर्ने कोही नभएकाले यो नरसंहारकारी कोतपर्व घटना घट्न गएको हो । तत्समयमा काजी अभिमानसिंह रानामगर आफ्ना सैन्यबलका साथ रानी छेउ जाने उद्देश्यले कोतबाट बाहिरिंदा सेन्ट्री सिपाही भीमवहादुर आलेले संगिनले घोची अभिमान सिंह रानालाई मृत्युको शैयामा पु¥याइ दियो। आफु मृत्यु शैयामा पुग्न लागेका रानाले गगनसिंहको हत्यारा जङ्गेनै हो भनी सबैले सुन्ने गरी कराउने र रगतले भित्तामा लेख्ने काम गरे । चौतरियाको छोरा खड्क विक्रमले अभिमानसिंह रानकाको भनाई ठिक ठह¥याउँदै जङ्गलाई सञ्जाय दिनुपर्ने कुरा उठाउना साथ चौतरिया खलक र जङ्गेको सेना बीच घमसान युद्ध हुन गयो । धीरशम्सेरको तरवारबाट खड्कविक्रम शाहको मृत्यु भयो भने राममेहर अधिकारीको तरवारले फत्येजङ्ग शाहको प्राणपखेरु नै उडाई दियो । सो दिन ७÷८ जना चौतरिया खलक सहित ३२ जनालाई मृत्यु शैय्यामा पु¥याइएपछि कोतपर्वको नाटकको मञ्चन समापन गरियो ।

छ) कोतपर्वको परिणाम

यस पर्वले नेपालका राजखलक, भारदार, काजी, जनरल आदि सबैको एकै चिहान बनायो । जनरल गगनसिंहको हत्याले सृजित गरेको यस कोतपर्वमा सर्वप्रथम मारिनेमा जनरल अभिमान सिंह रानामगर र तत्पश्चात मारिनेहरूमा चौतरिया खड्गविक्रम शाह, चौतरिया फत्येजङ्ग शाह, चौतरिया वीरवहादुर शाह, काजी दलवहादुर शाह, काजी गोप्रसाद शाह, काजी दलमञ्जन पाण्डे, काजी रणगम्भीर पाण्डे, काजी रणजोर थापा, काजी नरसिंह थापा, काजी वखतवीर भण्डारी, काजी वीरकिशोर पाण्डे, कपरदार कीर्तिध्वज पाण्डे, सरदार भवानीसिंह खत्री, सरदार समरबहादुर शाह, सरदार गुणप्रकाश शाह, सरदार रससिंह, सरदार शत्रुभञ्जन शाही, काजी अर्जुन थापा, कप्तान मोहनवीर शाही, वद्रीवान शाहीको छोरा, कुम्वेदान गैडु मल्ल, ददा दण्डकेशर, द्वारे जोगराज, जमदार शत्रु, जमदार विष्णुभक्त, हवल्दार कालु खवास, अर्दली इन्द्रवीर राउत र सुव्वा पुरन्धर थापा लगायतका थिए ।
ब्राह्मण जाति भएकाले खडानन्द उपाध्याय कुइकेल, रङ्गनाथ खनाल आदिको जातिच्युत गरिएको थियो भने माथवरसिंहको सबै परिवार, जनरल रणसिंह थापा र कर्णेल शेरजङ्ग थापा, काजी तिलविक्रम थापा, कप्तान भवानीभक्त शाहीको सपरिवार निष्कासन गरिएको थियो। त्यसै गरी चौतरिया इयान शाह, चौतरिया दण्डजीत शाह, काजी जङ्गवीर पाण्डे, कप्तान भैरवबहादुर पाण्डे, कप्तान सन्तवीर थापा कप्तान कीर्तिवीर थापा, कप्तान भक्तिकुमार हमाल, कुम्वेदान औसनसिंह खत्री, ज्ञाननिधि उपाध्याय, सुवेदार अजयसिंह, जमदार सर्वजीत थापा, चोपदार देव उपाध्याय, सहदत्त पण्डित, वैद्य त्रिलोचन उपाध्याय, जमदार काशीनाथ उपाध्याय, मुंशी धामी, हुद्धा जुद्धवीर राउत, दधिराम उपाध्यायको भतिजा र द्वारे रत्नवदन आदि व्यक्तिगत निष्कासनमा परेका थिए । एवं रितका घटना घट्न थाले पछि भाग्नेहरूमा कान्छा गुरु नारायणसिंह पण्डित, होमनाथ पण्डित, चौतरिया दक्ष शाह, चौतरिया शहज शाह, कर्णेल नारायण सिंह थापा, काजी कालु शाही, चौतरिया रणशेर शाह, पूर्णचन्द्र शाही कप्तान जयविक्रम शाह, सरदार सुयेदसिंह, सुवेदार जयद्रथ अधिकारी, कप्तान कुलचन्द्र रानामगर, कप्तान रत्नसिंह रानामगर, कुम्वेदार सिंहदर गुरूङ्ग, कुम्वेदान केशर सिंह राउत, कुम्बेदान भुुमिनन्द उपाध्याय कप्तान शेरसिंह, ददा वीरसिंह, सुवेदार विक्रम मल्ल, गोपि पण्डित, रघुनाथ ढुङ्गाना, लेफ्टीनेन्ट भोटु थापा, जमदार रघुवीर बस्न्यात र जुद्धवीर राना मगरहरु थिए ।
कोतपर्वको सफलता मिलेपछि जङ्ग परिवारले सम्पूर्ण शक्ति आफ्नो हातमा पारे । जङ्ग बहादुर कुंँवर क्षत्री कुंवरबाट राणा ठकुरी र राणाबाट श्री ३ महाराज बन्न पुगे जस्को फलस्वरुप नेपालले १०४ वर्षसम्म राणाहरूले पारिवारिक सत्तामा हालीमुली चलाएको इतिहांस साछी छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker