७५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा ७५ हजार भन्दा बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । चैत २५ गतेदेखि जिल्लाका बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो । त्यसक्रममा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

टाइफाइड ज्यानै जोखिममा पार्न सक्ने संक्रामक रोग भएकाले खोप लगाउन सबैले उत्प्रेरणा जगाउनुपर्ने अधिकारीले बताए । धेरै विद्यार्थी भएको विद्यालयमै खोप केन्द्र राखेर खोप लगाइनेछ भने कम विद्यार्थी भएको विद्यालयलाई नजिकैका विद्यालय वा स्वास्थ्यमार्फत् खोप लगाउने व्यवस्था मिलाइनेछ ।

चैत २५ देखि २९ गतेसम्म पहिलो चरणमा र चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म दोस्रो चरणमा खोप अभियान सञ्चालन हुनेछ । विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा खोप लगाउन नहुने कार्यालयले जनाएको छ । साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा पनि खोप लगाउन नहुने कार्यालयले जनाएको छ ।

टाइफाइड खोप लगाएपछि अन्य खोपमा जस्तै केही सामान्य दुखाइ, सुन्निने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हातगोडा तथा जोर्नी दुख्ने हुने भए पनि विस्तारै ठिक हुने अधिकारीले बताए । उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने टाइफाइडका मुख्य लक्षण हुन् ।

स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्र चौधरीका अनुसार खोप टोलीमा खोप दिने स्वास्थ्यकर्मी कम्तीमा एक जना र आवश्यकता अनुसार थप गरिनेछ । प्रत्येक खोप केन्द्रमा एक जना महिला स्वास्थ्य स्वयंसेविका र अनिवार्य रूपमा एक जना तोकिएको महिला शिक्षिका परिचालन हुनेछन् । विद्यालय बाहिर खोपकेन्द्र भएमा एक जना स्वयंसेविका र खोपकेन्द्र नरहेको नजिकैको विद्यालयबाट महिला शिक्षिका एक जनालाई स्वयंसेवक छनोट गरिने चौधरीले बताए ।

टाइफाइड ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट र्सदछ । यो रोग सबै उमेर समूहको व्यक्तिमा लागेको पाइए तापनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ । टाइफाइड जस्ता पानीजन्य संक्रामक रोगबाट बच्नका लागि पानीलाई उमालेर वा फिल्टर गरेर पिउन, खाना खानुअघि, दिसापिसाब गरेपछि, खाना बनाउनु वा छुनु अघि, बालबालिकालाई खाना खुवाउनु अघि साबुनपानीले हात धुन कार्यालयले अनुरोध गरेको छ ।

स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालय तनहुँले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तथा योजना गोष्ठी सुरु गरेको छ । आगामी चैत २५ गतेदेखि सुरु हुने खोप अभियान सञ्चालनका लागि कार्यालयले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरेको हो ।

खोप अभियान सफल बनाउन स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले स्वास्थ्यकर्मीलाई योजना निर्माणसहित प्रशिक्षण दिइएको स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । स्वास्थ्यकर्मीलाई कोल्डचेन व्यवस्थापन, आपूर्ति, खोपकेन्द्र निर्धारणका बारेमा जानकारी गराइनेछ । जिल्लामा नियमित खोपको प्रगति अवस्था न्यून रहेकाले खोपलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।

स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्र चौधरीले टाइफाइड खोपको औचित्यका बारेमा जानकारी गराउनुभयो । १५ वर्षमुनिका बालबालिकामा टाइफाइडको बढी जोखिम हुने भएकाले उक्त उमेर समूहका बालबालिकालाई खोप दिन लागिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले टाइफाइड विरुद्धको खोप अभियानबारे समाजलाई बुझाउनुपर्ने बताए । खोपका बारेमा अफवाह फैलाउने प्रवृत्ति कायम रहेको जनाउँदै उनले कोभिड खोप अभियानले आम मानिसमा खोपबारे सकारात्मक सोच भने विकास भएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker