तनहुँको शुक्लागण्डकीमा निर्माणाधीन सोलार आयोजनाबाट भदौ १५ गतेभित्र ५ मेगावाट विद्युत उत्पादन गरिदै

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माणाधीन सोलार आयोजनाबाट भदौसम्म विद्युत् उत्पादन हुने भएको छ । भदौ १५ गतेभित्र पाँच मेगावाट विद्युत् उत्पादन गर्ने गरी धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।

विसं २०७६ साउनमै निर्माण सम्पन्न भइसक्नुपर्ने आयोजना कोरोना कहरका कारण ढिलाइ भएको सोलार फार्म प्रालिका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । “सम्झौताअनुसार पहिल्यै विद्युत् उत्पादन भइसक्नुपर्ने थियो तर कोरोना कहरका कारण काममा ढिलाइ हुँदा प्रगति हुन सकेन”, उहाँले भन्नुभयो, “अहिले काम लगभग अन्तिम चरणमा पुगिसकेको छ ।”

उहाँका अनुसार अहिले दैनिक ४० बढी कामदारले आयोजनाको काम गरिरहेका छन् । “६० प्रतिशत सोलार पाता हालिसकिएको छ, भदौ १५ गतेभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम तीव्र पारिएको छ”, श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार केही दिनदेखि परेको वर्षाका कारण पनि काम प्रभावित भएको थियो ।

आयोजनामा १३ हजार ४९४ वटा सौर्य प्यानल जडान हुनेछन् । सोलार फार्म प्रालिले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित भानुभक्त क्याम्पसको १०० रोपनी जग्गामा काम गरिरहेको छ । आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ले लगानी गरेको छ । आयोजना सम्पन्न गर्न रु ६० करोड अनुमान गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७५ साउनमा विद्युत् खरिद सम्झौता (पिपिए) हुँदा आयोजनाबाट विसं २०७६ साउनदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो । सुरुमा प्रसारण सम्झौता हुँदा उत्पादन हुने विद्युत् दमौली सबस्टेशनमा जोडिने भनिएको थियो । अहिले ५०० मिटर दूरीको बेलचौतारा सबस्टेशनमा जोड्ने गरी प्राधिकरणसँग प्रसारण सम्झौता संशोधन गरिएको छ ।

आयोजना सम्पन्न हुँदा दैनिक ३० हजार युनिट विद्युत् उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट रु ७.३० मा खरिद गर्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ अनुसार प्राधिकरणसँग पिपिए गर्ने यो पहिलो सौर्य विद्युत् आयोजना हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker