शुक्लागण्डकीको नगरप्रमुखमा माओवादी केन्द्रबाट कोइराला, एकीकृत समाजवादीबाट थापा
भञ्ज्याङ न्यूज

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै यतिबेला दलहरु आकांक्षीहरुबाट उम्मेदवार चयन गर्ने कसरतमा जुटेका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रमुखका लागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले उम्मेदवारी टुङ्ग्याएका छन् ।
नेकपा माओवादी केन्द्रले पूर्वमन्त्री आशा कोइरालालाई शुक्लागण्कडीको नगर प्रमुखमा उठाउने निर्णय गरेको छ । नगर कमिटीको शनिबार बसेको बैठकले उनलाई प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
गठबन्धनमा शुक्लागण्डकीको प्रमुख माओवादीले दाबी गर्दै प्रमुखमा कोइरालालाई सिफारिस गरेको नेकपा माओवादी केन्द्र शुक्लागण्डकीका अध्यक्ष मनराज गुरुङले बताए । कोइरालाले २०७४ साउनमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् । उनी गण्डकी प्रदेशसभा सदस्य समेत हुन् । पार्टीले आवश्यकता महशुस गर्दै उम्मेदवार बनाएकामा आफूले सहर्ष स्वीकार्ने कोइराला बताएकी छन् ।
यस्तै, नेकपा (एकीकृत समाजवादी) शुक्लागण्डकी नगर कमिटीको शनिबार बसेको बैठकले नगर प्रमुखमा चित्र थापालाई सिफारिस गर्ने निर्णय गरेको छ । पार्टीको पाँचौ पूर्ण बैठकले केन्द्रीय सदस्य तथा तनहुँ इन्चाज समेत रहेका चित्र थापालाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।










