तनहुँमा ७ जना महिला उपप्रमुखमा, २ वडाध्यक्षमा निर्वाचित
भञ्ज्याङ समाचारदाता/दमौली

स्थानीय निर्वाचनको मतगणना सकिएसंगै पालिकाका प्रमख उपप्रमुखले आ-आफ्नो जिम्मेवारी सम्हाल्न थालेका छन् । जिल्लाका १० पालिकामध्ये ९ पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ भने व्यास नगरपालिकाको भने मतगणना जारी छ । मतपरिणाम सार्वजनिक भएको पालिकामध्ये कुनैपनि पालिकाको मुख्य पदमा महिला निर्वाचित हुन सकेनन् भने १० पालिमध्ये ७ पालिकाको उपप्रमुखमा मात्र महिला निर्वाचित छन् ।
घिरिङ गाउँपालिकामा राधादेवी अधिकारी, आँबुखैरेनी गाउँपालिकामा दुर्गा अर्याल, भिमाद नगरपालिकामा शारादा खनाल, बन्दिपुर गाउँपालिकामा पञ्चमाया गुरुङ, ऋषिङ गाउँपालिकामा गिनुमाया थापा, भानु नगरपालिकामा उमा गोतामे उपप्रमुख/उपाध्यक्ष पदमा निर्वाचित भइसकेका छन् भने व्यासको भने गतगणना गरी छ । व्यासको उपप्रमुखका लागि नेपाली कांग्रेसबाट इन्दिरा दरै र नेकपा एमालेबाट बसुन्धरा धर्तिको प्रतिस्पर्धा चलिरहेको छ ।
गठबन्धनका कारण जिल्लामा महिला सहभागिता कम भएको देखिन्छ । प्रमुख/अध्यक्ष वा उपप्रमुख/उपाध्यक्ष मध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएपनि गठबन्धनका कारण त्यो भएको देखिदैन । नेपाली कांग्रेसको गठबन्धन नेकपा माओवादी केन्द्रसंग हुँदा देवघाट गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा प्रमुख र उपप्रमुखमा दुइ पार्टीबाट पुरुष उम्मेद्वार उठाए र उनीहरु नै निर्वाचित भए ।
यसैगरी म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट प्रमुखमा श्रीप्रसाद श्रेष्ठ र नेपाली कांग्रेसबाट उपाध्यक्षमा बालकृष्ण घिमिरे निर्वाचित हुँदा दुवै प्रमुख पदमा पुरुष आए । यस पालिकामा कांग्रेसले अध्यक्षमा महिला उम्मेद्वार उठाएको थियो । गाउँपालिकाको निवर्तमान अध्यक्ष मायादेवि रानालाई पार्टीले चुनेपनि जनताले पत्याएनन् ।
२०७४ सालको निर्वाचनमा जिल्लाको एक पालिकामा महिला प्रमुख र ९ पालिकामा महिला उपप्रमुखको सहभागिता थियो । नेतृत्व पदमा महिलाहरुको सहभागिता कम र अहिले झनै गठबन्धनका कारण जिल्लामा नेतृत्व भूमिकामा महिलाहरुको सहभागिता घटेको जिल्ला समन्वय समितिका निवर्तमान उपप्रमुख पवित्र पौडेलले बताइन् । ‘नेतृत्व पदमा उठाउनका लागि सबै पार्टीले महिला भन्दा पनि पुरुषकै नाम अघि सर्छन्’, उनले भनिन्, ‘अहिले गठबन्धनका कारण दुइ फरक पार्टीले आफ्नो उम्मेद्वार उठाउदा पुरुषलाई नै विश्वास गरेर उठाए। यसले गर्दापनि महिलाको सहभागिता कम हुन पुग्यो ।’
‘जुन जुन पार्टीबिच गठबन्धन गरेपनि प्रमुख अथवा उपप्रमुख पदमा एकजना महिला अनिवार्य गर्नुपर्ने थियो’, उनले भनिन्, ‘पुरुषप्रदान समाजमा महिलालाई उसै त पछाडि राखिन्छ त्यही माथी गठबन्धनको नाममा महिलालाई अनिवार्य भनिएको एक सिट पनि पुरुषलाई दिइयो । गठबन्धनको नाम लिएर महिलाहरुलाई पछाडि नै राख्ने काम भयो ।’
अझैपनि पार्टीले महिला भन्दापनि पुरुषलाई नै बढि विश्वास गरी अगाडि सार्ने गरेको व्यास नगरकी निवर्तमान उपप्रमुख मिरा जोशीले बताइन् । उनले भनिन्, ‘राजनीति, समाज जहाँत्यही पुरुषप्रदान सोच हावी छ। जे जस्तो परिस्थिति आएपनि महिलाभन्दा पुरुषले नै सामाना गर्न सक्छन् भन्ने सोचका कारण महिलाहरु पछि पर्नु परेको छ ।’
यस्तै, जिल्लाको १० पालिकाका ८५ वडामध्ये २ वटा वडामा महिला वडाध्यक्ष निर्वाचित भएका छन् ।










