बन्दिपुर गाउँपालिकाद्वारा प्रधानाध्यापकलाई नेतृत्व क्षमता विकास तालिम
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधनाध्यापकहरुलाई नेतृत्व क्षमता विकास तालिम प्रदान गरिएको छ । गाउँपालिकाको आयोजना तथा जाइका (आइमिन) परियोजनाको सहयोगमा ३१ विद्यालयका प्रधानाध्यापकहरुलाई पाँच दिने नेतृत्व क्षमता विकास तालिम प्रदान गरिएको हो ।
विद्यार्थीहरुको शैक्षिक कार्यसम्पादनमा सहयोग पुर्याउने क्रियाकलापहरु समावेश तालिम अन्तर्गत प्रधानाध्यापकहरुलाई गत वर्ष दिइएको तालिमका विषयवस्तुहरुको कार्यान्वयनका अवस्था बारे अनुभव आदानप्रदानमा केन्द्रित रहेको बताइएको छ । तालिममा विद्यालय सुधार योजनामा विद्यालयस्तरमा बिद्यार्थीहरु लक्षित, शिक्षक लक्षित तथा अभिभावक लक्षित क्रियाकलापहरु माथीको छलफल गरिएको थियो ।
विद्यालयस्तरमा भएका विभिन्न क्रियाकलापहरुको बारेमा छलफल, विद्यालयले गरेका राम्रा अभ्यासहरुको आदाननप्रदान गर्दै अब गर्न सकिने क्रियाकलापहरुको छलफल तथा त्यस्ता अभ्यासहरुलाई विद्यालय सुधार योजनाको बाषिर्क कार्यान्वयन योजनामा कसरी समावेश गर्न सकिन्छ भन्नेमा तालिम केन्द्रित रहेको गाउँपालिका शिक्षा अधिकृत विष्णु खत्रीले जानकारी गराए ।

तालिम अवधिमा प्रधानाध्यापकहरुबाट अनुभवको आदानप्रदान गर्दै विद्यालय सुधार योजनाको खाका समेत तयार गरिएको तालिमका समापन गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष महत्व दिंदै आइरहेकोमा बिद्यालयहरुको भौतिक पाटोमा उल्लेख्य लगानी रहेकाले अब शैक्षिक कार्य सम्पादनमा अघि बढ्दै बिद्यार्थीहरुको गुणस्तरीय शैक्षिक सक्षमता विकासमा ध्यान दिन आग्रह गरे । अध्यक्ष थापाले विद्यार्थी कार्यसम्पादनमा सुधार गर्नमा प्रधानाध्यापकको मुख्य भुमिका रहेकाले नेतृत्वदायी भुमिका खेल्न आग्रह गर्दै सिकाईलाई उपयोग गर्न अनुरोध गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले पाठ योजनाको प्रयोगमा जोड दिदै प्रधानाध्यापकले शिक्षकहरुको पाठ योजनालाई सुक्ष्म अध्ययन गर्दै आवश्यक पृष्ठपोषण गर्नुपर्ने र निरन्तर कक्षा अनुगमन गर्दै आवश्यक पृष्ठपोषण गर्नुपर्ने उल्लेख गरे । शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत विश्व रेग्मी, शिक्षा तालिम केन्द्रका प्रशिक्षक विदुरहरी आचार्य तथा गाउँपालिका शिक्षा अधिकृत विष्णु खत्रीले तालिममा सहजिकरण गरेका थिए ।










