मनाइयो गुरु पूर्णिमा र व्यास जयन्ती
भञ्ज्याङ समाचारदाता/दमौली

प्राचीन गुरुकूल परम्पराबाट सुरु भएको गुरु पूर्णिमा पर्व बुधबार गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ । प्रत्येक र्वष् आषाढ शुक्ल पूर्णिमाका दिन बुधबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने गरिन्छ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रहृमा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ –
गुरुर्ब्रहृमा गुरुर्विष्णु गुर्रुर्देवो महेश्वरः ।
गुरुः साक्षात् पर ब्रहृम तस्मै श्री गुरवे नमस् ।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा बुधबार विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरेका छन् ।
यस्तै, वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा बुधबारै व्यास जयन्ती पनि मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । व्यासले पुराण र उपपुराणका माध्यमबाट सारमा यस्तो सन्देश दिन खोज्नुभएको छ धर्मशास्त्राचार्यहरुको तर्क छ-
‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय पापाय परपीडनम्’।।
अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवं अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । जीवनमा केही सिकाउने, बाटो देखाउनेलाई सम्मान गर्ने परम्परा प्राचीनकालदेखि चल्दै आएको हो ।
यस्तो वैदिक गुरु परम्परालाई गुरुकूलले विशेषरुपमा निरन्तरता दिँदै आएका छन् । आधुनिक शिक्षा परम्परामा भने गुरुको हुनुपर्ने जति सम्मान नभएको गुनासो पनि सुनिन्छ । आधुनिक शिक्षा प्रणालीमा गुरुप्रति सम्मान एवं श्रद्धा प्रकट गर्नेक्रम घट्दै गएको विश्लेषण हुने गरेको छ ।

यस्तै, व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषले बुधबार २८औं श्रीकृष्ण द्वौपायन व्यास अवतरण दिवश/गुरुपुर्णिमा/व्यास जयन्ती मनाएको छ । कोषले दमौली स्थित अनसन चौतारीदेखि भजन यात्रा शुरु गरि व्यास नगरपालिकाको प्राङ्गणमा व्यास ऋषिको शालिकमा पुजा तथा पुष्पाअर्पण गरी प्रवचन कार्यक्रम गरेको छ ।
कोषका अध्यक्ष अशोक कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित प्रवचन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङ, विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा रामचन्द्र अधिकारी, किराँत धर्मगुरु डा चन्द्र कुमार शेर्मा, जैन धर्म गुरु डा नमन उपाध्याय, व्यास नगर प्रमुख वैकुन्ठ न्यौपाने, व्यासका अध्यता काशीनाथ न्यौपाने, वेद अनुयायी प्रतिष्ठान नेपालका मुल संरक्षक दामोदर वावा, कृष्णकान्त काफ्ले, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, कोषका उपाध्यक्ष एक वहादुर राना लगायतले व्यास जयन्तीका विषयमा आ-आफ्ना विचार व्यक्त गरेको कोषका महासचिव विष्णु भक्त सिग्देलले जानकारी गराए ।










