ईन्जिनियर्स एसोसिएसन लोकतान्त्रिक समुहको दाबी “देशैभर चुनाव जित्छौं”
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल इन्जिनियर्स एशोसिएसन लोकतान्त्रिक समुहले मंसिर २४ गते हुने चुनावमा देशैभर निर्वाचित हुने दाबी गरेका छन् । लोकतान्त्तिक समुहले बुधबार दमौलीमा उम्मेदवार परिचयात्मक एवं निर्वाचन लक्षित कार्यक्रममा केन्द्रीय अध्यक्षका प्रत्यासी डा. हरिबहादुर दर्लामीले आफ्नो टिमले देशैभर जित्ने दावी गरे । २०१९ सालदेखि स्थापना भएको एसोसिएसनको इतिहास हेर्दा अधिकांश कार्यकाल लोकतान्त्रिक समुहले जितेको भन्दै दर्लामीले यहि मंसिर २४ गते हुने निर्वाचनमा पनि जित्ने निश्चित भएको दाबी गरे ।
अहिले कम्युनिष्ट निकटका इन्जिनियरहरूले हार्ने डरले चुनाव सार्नको लागि विभिन्न बहाना बनाउँदै कहिले केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने त कहिले महासचिवको कुर्सी जलाउने जस्तो लज्जित काम गरिरहेको उनले आरोप लगाए ।
गण्डकी प्रदेशका अध्यक्ष प्रत्यासी सुरेन्द्र पाण्डेले पहिला कम्युनिस्ट निकटका सबै मिलेर लोकतान्त्रिक समुहलाई हराए पनि अब कम्युनिष्टहरू चिराचिरा भएकोले त्यो सम्भव नभएको बताए । महासचिवका प्रत्यासी रविभुषण झाले दुइ वर्षमा हुनुपर्ने निर्वाचन विभिन्न बहाना बुन्दै तीन वर्षसम्म गर्न नसक्नु अहिलेको कार्यसमितिको असफलता भएको बताए ।
एसोसिएनमा हाल ३६ हजार आवद्ध रहेको र यसपटक २१ हजार मतदाता रहेको तनहुँबाट केन्द्रीय सदस्य प्रत्यासी रविन्द्रलाल मुलले बताए । नेपालको विभिन्न ठाउँमा हुने मतदान केन्द्र मध्ये गण्डकी प्रदेशको पोखरामा हुने मुलले जानकारी दिए ।
चुनाव केन्द्रीत भइ देश दौडाहमा निस्केको टोलीले तनहुँबाट पत्रकार सम्मेलन गरी प्रचारप्रसारलाई तीव्रता दिएको छ । पत्रकार सम्मेलन अगाडिको कार्यक्रममा कांग्रेस तनहुँको सभापति एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले टिमलाई विजयको शुभकामना दिएका थिए ।










