तनहुँको घिरिङमा भारतीय दूतावासको सहयोगमा विद्यालय भवन निर्माण
भञ्ज्याङ समाचारदाता/दमौली

भारतीय दूतावासको सहयोगमा तनहुँको घिरिङ गाउँपालिकामा एक विद्यालय भवन निर्माण गरिएको छ । घिरिङ गाउँपालिका-१ बैडीस्थित दीपक माध्यमिक विद्यालयमा दूतावासको सहयोगमा भवन निर्माण गरिएको हो ।
भारतीय दूतावासको रु दुइ करोड १९ लाख ५६ हजारको लागतमा विद्यालय भवन निर्माण गरिएको हो । उक्त भवनको आइतबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र भारतीय दूतावासका प्रथम सचिव डा साहिल कुमारले संयुक्तरुपमा उद्घाटन गरे ।
सो अवसरमा समन्वय समितिका प्रमुख वाग्लेले नेपालको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा भारत सरकारको सहयोग महत्वपूर्ण रहेको बताए । उनले भने ‘जिल्लाको ग्रामीण भेगमा अवस्थित यस विद्यालयको नयाँ भवन निर्माणका लागि भारतीय दूतावासले गरेको सहयोगको जति प्रशंसा गरेपनि कम हुन्छ ।’
भारतीय दूतावासका प्रथम सचिव डा कुमारले नेपालको स्वास्थ्य, शिक्षाको क्षेत्रमा भारत सरकार सदैव सहयोग गर्न प्रतिबद्ध रहेको बताए। घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङ गाउँपालिकालाई छनोट गरी सुविधासम्पन्न विद्यालय भवन बनाइदिएकामा दूतावासप्रति आभार व्यक्त गरे ।
नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद अधिकारीले बताए । विद्यालयको पुरानो भवनबाट पठनपाठन हुँदै आएको र उक्त भवन साँघुरो रहेकाले पठनपाठनमा असहज हुँदै आएकामा नयाँ भवन निर्माण सम्पन्न भएपछि सहज हुने उनले बताए ।










