सहश्राव्दी पदमार्ग : पदयात्रा पर्यटनमा आशा र विश्वास जगाउँदै

तनहुँ : मध्यपहाडी क्षेत्रको पदमार्ग सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा पर्यटकीय गतिविधि बढाउने उद्देश्यसँगै पछिल्ला वर्षमा पदमार्ग क्षेत्रका स्थानीयले चासो बढाएका छन् ।

तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने यो पदमार्ग २०५६ सालदेखि सञ्चालनमा आएकोमा बीचका केही वर्ष सुस्ताए पनि पछिल्ला वर्षमा मिलेनियम ट्रेक व्यवस्थापन समितिको सक्रियता र स्थानीयवासीको जागरुकतामा पुनः चलायमान हुन थालेको हो ।

पछिल्ला वर्षमा यस पदमार्गमा स्वदेशी पर्यटकका साथै विदेशी पर्यटकको आगमन पनि बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो। पहिलो पटक विसं २०६४–६५ मा नक्शाङ्कन गरिएको यो पदमार्ग समुद्री सतहबाट ४२० मिटरदेखि एक हजार ७१५ मिटर उचाइसम्ममा रहेको छ । पछिल्लो समयमा दोस्रो नक्शाङ्कनसमेत गरी पोखरा महानगरपालिकाका केही भू–भाग पनि यस पदमार्गमा समेटिएको छ ।

उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि समेत उपयुक्त मानिएको यस पदमार्गमा पछिल्ला वर्षमा पर्यटक लक्षित घरवास पनि ठाउँठाउँमा सञ्चालन भएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवम् मिलेनियम भैँसेगाँैडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिनुभयो ।

यस पदमार्गमा पूरै पदयात्रा सम्पन्न गर्न भने एक हप्ता लाग्छ। बीचबीचमा छोटो दुरीमा एक दिने हाइकिङदेखि दुई तीन दिनका छोटो दूरीका पदयात्राका लागि पनि यो आकर्षक गन्तव्य बनिरहेको छ । दुलेगौँडादेखि रामबाछासम्म जोडिएको यस पदमार्गको लम्बाई ७२ किलोमिटर रहेको छ । महासचिव गुरुङका अनुसार दुलेगौँडाबाट सहश्राव्दी पदमार्गको पदयात्रा सुरु गर्ने पर्यटक यहाँको गाछेपानीस्थित रक गार्डेन हुँदै आफ्नो यात्रा प्रारम्भ गर्दछन् ।

पछिल्ला समयमा धार्मिक रूपमा चासो र चर्चा कमाएको च्यवनधामको दर्शन गर्दै ढोरबाराही मन्दिरबाट अघि बढ्ने यस पदयात्रा मार्गमा पहिलो दिन ऐतिहासिक ढोर मूलकोट दरबार हुँदै रजस्थलसम्म पदयात्रा गरिन्छ। रजस्थलमा स्थानीयवासीले घरवास सञ्चालन गरेका छन् । रजस्थलसहित यस क्षेत्रका लामागाउँमा पनि स्थानीयले घरवास सञ्चालन गरेका छन् ।

दोस्रो दिनमा पदयात्री घरेडी या सादीखोलामा पुगेर बस्छन् । घरेडी र सादीखोलाको बीचमा रहेका ऐतिहासिक महत्वको मिलेनियम गुफा यहाँको अर्को महत्वपूर्ण आकर्षण हो । घरेडी र सादीखोलामा घरवास सञ्चालन गरिएको छ ।

तेस्रो दिन पदयात्री काल्खु, राइपुर हुँदै कोल्मा पुगेर बस्न सक्छन्। यहाँका पोखरीछाप र कोल्मामा घरवास सञ्चालन भएको छ । कोल्मामा सामूदायिक घरवाससँगै व्यक्तिगत रूपमा कोल्मा होमस्टे एण्ड रेष्टुरेन्ट पनि सञ्चालन गरिएको छ।

चौथो दिन भैँसेगौँडाहुँदै चन्द्रकोटसम्म पुग्न सकिन्छ । पर्यटकलाई लक्षित गरी भैँसेगौँडामा रहेका मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टे तथा चन्द्रकोट होमस्टेले पर्यटकलाई सेवा दिइरहेका छन् । त्यस्तै यस क्षेत्रमा ज्यामिरे र चिरुवामा पनि होमस्टे सञ्चालन गरिएको छ ।

पाँचैदिन चन्द्रकोटबाट पर्यटक गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट हुँदै बुढाकोटसम्म पुग्न सक्छन्। यहाँका केघा देउराली र बुढाकोटमा घरवास सञ्चालन गरिएको छ ।

छैटौदिन बुढाकोटबाट राम्चे, गहते मनकामना हुँदै सुन्तलाबारी पुगेर बस्न सकिन्छ । यहाँका मनकामना र सुन्तलाबारीमा घरवास सञ्चालन गरिएको छ । सुन्तलाबारी बसेका पर्यटक सातौँ दिन त्यहाँबाट रामबाछा हुँदै स्याङ्जा बजार या पोखरा आउन सक्छन् ।

कम उमेरका बालबालिकादेखि ज्येष्ठ नागरिकसमेतले यस क्षेत्रमा पदयात्रा गर्न सक्ने भएको यो पदमार्गमा घरवाससहित अन्य पूर्वाधार पनि थपिँदै गएको उहाँको भनाइ छ ।

यस पदमार्गको प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले विगत केही वर्ष यता लागातार रूपमा सहयोग गरिहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो ।

पदमार्ग क्षेत्रमा साइनेज पोष्ट राख्नेलगायत पूर्वाधार विकास र प्रवद्र्धनका विभिन्न कार्यक्रममा निरन्तर सहयोग गरिँदै आइएको उहाँले बताउनुभयो ।

पदयात्रासँगै यहाँबाट उत्तरतर्फ देखिने लस्करै हिमाल, तलतिर सुरौदी खोला, वरपरको हरियाली पहाड हुँदै पारितर्फ भरतपोखरीको ऐतिहासिक मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोट, बरपाण्डेथुम निर्मल पोखरी, फोक्सिङकोट, कृष्ति आदिका मनोरम भू–भागले जो कोहीलाई लोभ्याउने गरेको छ। यहाँबाट देखिने मनोरम हिमाली तथा पहाडी दृश्यका साथै पदमार्ग क्षेत्रमा ऐतिहासिक एवम् धार्मिक सम्पदालाई विश्व पर्यटन बजारमा पु¥याउनका लागि आँफूहरू निरन्तर लागिरहेको महासचिव गुरुङको भनाइ छ ।

“यहाँका पर्यटकीय सम्भावना विश्व पर्यटन बजारमा पु¥याउन सकेमा त्यसबाट पदयात्रा पर्यटनमा महत्वपूर्ण फाइदा लिन सकिन्छ”, उहाँले भन्नुभयो, “यहाँ प्रचुर पर्यटकीय सम्भावनालाई नै उजागर गर्नका लागि हामी स्थानीयमा आशा र विश्वास जगाउँदै पूर्वाधार विकास एवं प्रवद्र्धनका कार्यक्रमलाई सँगसँगै अघि बढाइरहेका छौँ ।”

पदयात्रासँगै यस क्षेत्रमा अवलोकन गर्न सकिने झन्डै ३०० वर्ष पुरानो ढोर मूलकोट दरबारसहित यहाँका गढी, शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घरलगायत क्षेत्र यहाँका अन्य महत्वपूर्ण आकर्षण हुन् ।

पदमार्गमा पर्ने भिरकोट कालिका, यहाँस्थित किल्ला, मिलेनियम गुफा, राइपुरस्थित जन्तेढुङ्गा, गहते मनकामना, देउपुजे ढुङ्गादेखि एक हजार ७०९ मिटर उचाइको ऐतिहासिकस्थल बुढाकोट प्रवर्द्धनको पर्खाइमा रहेको उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker