पुस्तान्तरण नहुँदा संस्कृति धान्नै धौधौ

रामबहादुर थापा/बागलुङ

रीतिअनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन पर्ने गठेमंगलदेखि नै लाखे नचाउनुपथ्र्यो । पहिले-पहिले गठेमङ्गलमा सुरु भएको लाखे नाचलाई तीजमा अन्त गर्ने प्रचलन थियो । यसपालि भने लाखेको कुनै सुरसार छैन ।

अन्यत्र लाखे नाचको रौनक सुरु भइसक्दा पनि यहाँको नेवार समुदाय भने अन्योलमा छ । शाक्य कल्याण समाजका सचिव मञ्जुल शाक्यले पछिल्लो समय लाखे नाच्ने कलाकारै नभएको बताउनुभयो । “नाच्ने, बजाउने मान्छे नहुँदा लाखे नाच संकटमा छ”, उहाँले भन्नुभयो।

उक्त समाजको अगुवाइमा बर्सेनि लाखेनाच प्रदर्शन हुँदै आएको थियो । सचिव शाक्यले पछिल्ला दुइ वर्ष कोभिड-१९ ले पनि लाखेलगायत बर्खे नाच निकाल्न नसकिएको उल्लेख गर्नुभयो । “नयाँ पुस्तालाई सिकाउन नसक्दा पुरानो संस्कृति हराउने चिन्ता बढेको छ”, उहाँले भन्नुभयो । तीन वर्षअघि पनि नाच्ने कलाकार कोही नभएपछि पोखरामा बस्ने आशिष शाक्यलाई बोलाएर समाजले लाखे नाच प्रदर्शन गराएको थियो । लाखे नाचको कला र शिल्प पुस्तान्तरण नहुँदा समस्या निम्तिएको नेपाल भाषा मंकाः खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

उहाँका अनुसार नयाँ पुस्तामा लाखे नाच्ने मान्छे नै छैनन् । नेवार समुदायमा हुने बसाइँसराइ, युवाहरू पढ्न बाहिर जाने प्रवृत्तिले पुरानो कला, संस्कृति जोगाउन चुनौती थपिएको उहाँले जानकारी दिनुभयो । “सांस्कृतिक पर्वमा नाच्ने, गाउने, बजाउने पुराना पुस्ताका धेरै कलाकार अहिले काठमाडौँ, पोखरालगायतका सहरमा छन्”, उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई पनि आफ्नो इतिहास, भाषा, कला र संस्कृति प्रति उतिसारो रुचि छैन, पढ्न र रोजगारीका लागि बाहिर जाने प्रवृत्ति बढ्दो छ ।”

अध्यक्ष राजभण्डारीले अहिलेसम्म जेनतेन धानिएको नेवारी संस्कृति संकटोन्मुख रहेको बताउनुभयो । उहाँले विसं २०४६ पछिको परिवर्तन र आधुनिक विकासले पनि परम्परामा मार थपिएको धारणा व्यक्त गर्नुभयो । “पहिले कृषिमा आधारित समाज र जीवनशैली थियो, मानिसहरू एकै ठाउँमा बस्थे”, उहाँले भन्नुभयो, “अहिले आप्रवासन बढ्दो छ, युवापुस्ता बाहिर छ, यसले पनि पुरानो संस्कृति संरक्षणमा चुनौती थपेको छ ।”

लाखे मात्र नभएर बर्खे नाचका रूपमा देखाइने होबा, कटुवाल, रोपाइँ, जोगीलगायत नाच पनि जोगाउनै धौधौको स्थिति छ। इतिहास बोकेका नाच र जात्रा हराएर जाने हुन् कि चिन्ता छ । परम्परागत नेवारी गीत, नाच र संस्कृतिको संरक्षणमा खलः र समाजले अगुवाइ गरिरहेको छ ।

संस्कृतिकर्मी मुकुन्द शाक्यले पुस्तान्तरणको अभावमा तीन सय वर्षपुरानो लाखे नाचको अस्तित्व नै नासिने खतरा बढेको बताउनुभयो । संरक्षण नहुँदा नागनागिनीसहित कतिपय नाच र जात्रा हराइसकेकाले जात्राको परम्परा जोगाउन नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्ने उहाँको सुझाव थियो ।

संस्कृतिकर्मी शाक्यका अनुसार लाखे नाचमा ढोलक, झ्याली, बाँसुरीलगायत बाजा बजाउने कलाकार पनि औँलामा गन्न सकिने मात्र छन् । राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति वियोगमा व्युहल बनेकी उनकी श्रीमतीले लाखे बनेर नाचेको किंवदन्ती छ । त्यसकै प्रतीकस्वरुप नेवार समुदायमा बर्सेनि लाखे नाच निकालिन्छ । नेवारको जात र स्थानअनुसार फरक-फरक तरिकाले लाखे नाच नचाउने गरिन्छ । लाखे नाचको प्रचलन र यसको इतिबासबारे पनि विभिन्न तर्कहरू पाइन्छन् ।

लाखे नाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन् । राक्षसको स्वरुप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिँगारेर लाखे नचाउने गरिन्छ । भक्तपुरबाट बसाइँसराइ गरेर यहाँ आउँदा नेवारहरूले परम्परागत नाच र जात्राको संस्कृति पनि सँगसँगै भित्रयाएका थिए ।

भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रूपमा जात्रालाई लिइन्छ । भक्तपुर, धुलिखेल र भादगाउँबाट भित्रिएका नेवार जातिले बागलुङमा भदौरे जात्राको प्रचलन बसालेका थिए । जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग्य, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker