भिरबाट लडेर मृत्यु, साढे तीन घण्टाको प्रयासमा भिरबाट शव निकालियो

तनहुँको ऋषिङ गाउँपालिका-७ बाजगारा बस्ने ५३ वर्षीय कृष्णकुमार थापाको भिरबाट लडेर मृत्यु भएको छ ।
दमौलीबाट घर फर्कदै गरेका थापाको गएराति १०:३० बजेको समयमा घर नजिकै रहेको चण्डि भयर सामुदायिक वनको गोरेटो बाटोदेखि अन्दाजी एक सय मिटर तल भिरमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
थापाको शव भद्रलेको रुखमा अडि्कएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको जानकारी आएपश्चात् प्रहरीले निजको शव निकालेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
दमौली आएर आँखा सम्बन्धी उपचार गरेर घर फर्किदै गर्दा थापा भिरबाट खसेको बताइएको छ ।
रुखमा अडि्कएको अवस्थामा शव देखेपछि स्थानीयवासीले ऋषिङ रानीपोखरी प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकको नेतृत्वमा गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिएको विपद् उद्धारको संयुक्त टोलीले साढे तीन घण्टाको प्रयासपश्चात् निजको शव निकालेको प्रहरीले जनाएको छ ।
घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।










