असहायको साहारा बन्दै व्यास नगर जेसिज
भञ्ज्याङ समाचारदाता/दमौली

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि यतिबेला जिल्लामा निषेधाज्ञा जारी छ । स्थानीय प्रशासनले अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द गरेको छ । निषेधाज्ञाका कारण यातायातका साधान समेत सञ्चालन भएका छैनन् । सार्वजनिक यातायातका साधान सञ्चालन नहुँदा सर्वसाधारणले सहज रुपमा स्वास्थ्य उपचार सेवा लिन समेत नसेको अवस्था छ । कोभिड-१९ ले देश नै आक्रान्त बनिरहेको अवस्थामा समस्यामा परेका सर्वसाधारणलाई साहारा दिने अभियानमा अहिले व्यास नगर जेसिज लागि परेको छ ।
जेसिजले समाजिक उत्तरदायित्व वहन गर्दै कोभिडका कारण गाउँमा रहेका अशक्त, असहाय निर्धन जनतामा हुने समस्यालाई समाधानका लागि निःशुल्क यातायातको व्यवस्थापन गर्न जुटेको अध्यक्ष लक्ष्मीभक्त खनालले बताए । यो निषेधाज्ञाको समयमा सार्वजनिक सवारी साधन नचल्ने, एम्वुलेन्समात्रको सेवाले विरामीले समयमा नै उपचार पाउँन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै निःशुल्क यातायात सेवा प्रवाह गरेको अध्यक्ष खनालले बताए । उनले भने, ‘विरामी तथा अशक्तलाई निःशुल्क सवारी साधनका माध्यामबाट सेवा दिएका छौ, जसले गर्दा अशक्त तथा असहाय जनताले समयमै सेवा लिन पाउन भन्ने हाम्रो उद्देश्य हो ।’
जेसिजले गर्भवती महिलालाई जिल्ला अस्पतालसम्म र जिल्ला अस्पतालमा उपचार सम्भव नभए पोखरासम्म निःशुल्क रुपमा सवारी साधनमार्फत पुर्याउने गरेको छ । आर्थिक विपन्नता भएका व्यक्तिले यस कार्यले धेरै नै राहत पुर्याउने जेसिजको विश्वास छ । जिल्ला प्रशाशन कार्यलय लगायत सम्वन्धित क्षेत्रसँगै समन्वय गरी व्यास नगर जेसिजले निःशुल्क सवारीको व्यवस्थापन गरेका हो । सम्भव भएसम्म जिल्लाभर यो सेवा प्रवाह गर्ने योजनमा जेसिज लागि परेको छ । जेसिजले हालसम्म अप्ठ्यारोमा परेका ८ जनाको परिवारलाई सेवा दिईसकेको छ । असहाय र अशक्तको घरबाट विरामीलाई जिल्ला अस्पतालसम्म सवारी साधन उपलव्ध गराइएको छ । मानव सेवा नै जेसिसको कर्म हो भन्दै युवाहरु यो कार्यमा जुटेका छन् ।










