माघेसंक्रान्ति मेला व्यवस्थापन समिति गठन
भञ्ज्याङ समाचारदाता/देवघाट

पवित्र धार्मिक तिर्थस्थल तनहुँको देवघाटधाममा माघेसंक्रान्तिका दिन लाग्ने मेला व्यवस्थापनका लागि समिति गठन गरिएको छ । तनहुँ, नवलपरासी र चितवन जिल्लाको संगम देवघाटधाममा विभिन्न मेला पर्वहरू लाग्ने गर्दछ । जसमध्ये माघ १ गते लाग्ने माघेसंक्रान्ति मेला सबैभन्दा ठुलो मेलाको रूपमा लिइन्छ ।
मकरसंक्रान्ति तिथि मिति नजिकिदै जाँदा मकर स्नान गर्न आउने भक्तजनहरुको व्यवस्थापनका लागि देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले शनिबार एक कार्यक्रम गरी मेला व्यवस्थापनका लागि विभिन्न उप-समितिहरू गठन गरेको छ ।
मकरसंक्रान्ति मेलालाई व्यवस्थित, सभ्य र भव्य गर्ने उद्देश्यका साथ समिति गठन गरी कार्यविभाजन भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारीले बताए । अघिल्लो दुइ वर्षकोरोना महामारीले गर्दा मेलामा भक्तजनहरू कम आएको तर यो बर्षअघिल्लो बर्षहरूमा भन्दा धेरै भक्तजनको आउने अनुमान गर्दै मेलालाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्न विभिन्न उपसमितिहरू गठन गरिएको अध्यक्ष अधिकारीले बताए ।
माघेसंक्रान्ति मेला व्यवस्थापन मूल समिति संयोजकत्वमा देवघाट क्षेत्र विकास समितिले अध्यक्ष बद्री प्रसाद अधिकारी, सह-संयोजक देवघाट गाउँपालिका प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुँवर, भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव महर्जन, गैंडाकोट नगरपालिका वडा नम्बर ३ अध्यक्ष शिवकान्त तिवारी रहेको समिति गठन गरेको छ ।
बैठकले स्वयं सेवक परिचालन उप-समिति संयोजकमा रोशन श्रेष्ठ र सह-संयोजकमा अनिल मिश्र, धुनी व्यवस्थापन उप-समितिमा संयोजक सुर्य बहादुर न्यौपाने, बजार व्यवस्थापन, सरसफाई तथा अस्थायी शौचालय व्यवस्थापन उप-समितिमा संयोजक रामहरी पुडासैनी, खानेपानी व्यवस्थापन उप-समिति तनहुँतर्फ संयोजक सुरज मिश्र र चितवन तर्फ माधव चापागाई, प्राथमिक स्वास्थ्य उपचार उप-समितिमा देवघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकी, विजुली बत्ती व्यवस्थापनमा देवघाट गाउँपालिका वडा नम्बर ५ कार्यालय तनहुँ र भरतपुर महानगरपालिका वडा नम्बर १ चितवन रहेको उप-समिति गठन गरेको छ ।
यस्तै, आकस्मिक उद्वार, डुङ्गा व्यवस्थापन एवं स्नानघाट सुरक्षा व्यवस्थापन उप-समितिमा नेपाली सेना, सशस्त्र प्रहरी बल बिपत व्यवस्थापन शिक्षालय कुरिन्टार र स्थानीय बोटे समुदाय रहेको छ । सूचना, सञ्चार एवं प्रचारप्रसार तथा मूल समितिको सचिवालय स्थापनामा देवघाट क्षेत्र विकास समिति, मेला सुरक्षा एवं मांस-मदिरा धुम्रपान र मद्यपान निषेध समितिमा तिन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी रहेका छन ।
सुरक्षाकर्मी र स्वयं सेवक खाना खाजा खर्चमा भरतपुर महानगरपालिका चितवन, रूट निर्धारणमा तनहुँतर्फ देवघाट गाउँपालिका र इलाका प्रहरी कार्यालय, चितवन तर्फ ट्राफिक प्रहरी कार्यालय र देवघाट क्षेत्र विकास समितिको समन्वयमा रूट निर्धारण गर्ने छ भने सडक मर्मतमा तनहुँतर्फ देवघाट गाउँपालिकाले आवश्यक स्थानमा सडक मर्मत गर्ने र चितवन तर्फ भरतपुर महानगरपालिका र सडक डिभिजन कार्यालय रहेको छ । मेलाको मुल्याङ्कन तथा अनुगमनमा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाको नेतृत्वमा समिति बनाइएको छ ।
मेलामा पूर्वदेखि पश्चिम र हिमालदेखि तराइ सबै भेगबाट देवघाटमा संक्रान्तिको अघिल्लो दिनमै श्रद्वालु भक्तजनहरू आउने गर्दछन् । देवघाटधाममा नेपाल, भारत लगायत अन्य मुलुकको हिन्दुधर्मालम्बिहरु मकरस्नान गर्न आउने गर्दछन् ।
बैठकमा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ, वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर कुँवर, देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष टंकनाथ पौडेल र शिवराज पौडेल, शैक्षिक संस्था, सामाजिक, राजनीतिक संघसंस्था सामुदायिक वनहरू, महिला समूहहरू, स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।










