माघे संक्रान्ति मनाइयो, देवघाटमा भक्तजनको भीड
भञ्ज्याङ समाचारदाता/तनहुँ

माघ महिनाको पहिलो दिन आइतबार बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे संक्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति अर्थात् माघ १ गते मकर (माघे) संक्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कुल परम्परामा चलेको चलनअनुसार यो पर्व मनाएका छन् ।
माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा क्रमशः रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले यसदिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको थियो ।
तराइवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउनेले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराइले बताए ।
यसदिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
जाडो महीनामा घ्यू, चाकु, चरुल, लड्डु, तिलौरी जस्ता परिकार खाँदा न्यानो हुनाका साथै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यो पर्वलाई मानव स्वास्थ्यसँग समेत जोडेर हेर्ने गरिन्छ । घ्यू, चाकु, तरुल, लड्डु, तिलौरी जस्ता परिकारले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोग गर्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् ।
देवघाटमा भक्तजनको भीड
तनहुँ, चितवन र नवलपुरको संगमस्थल पवित्रधाम देवघाटमा माघे संक्रान्ति मेलाका लागि भक्तजनको भीड लागेको थियो । शनिबार बिहान कालीगण्डकी र त्रिशूली नदीको सङ्गम बेनीमा बाँसको लिङ्गो गाडेर माघे संक्रान्ति मेला विधिवतरूपमा सुरुआत गरिएको मेला आइतबार साँझसम्म भक्तजनहरु आउनेजाने क्रम चलिरहेको थियो ।
शनिबार दिउँसोदेखि नै भक्तजन देवघाटधाम आउने क्रम सुरु भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । मेला भर्न पाँच लाख भक्तजन आउने अनुमान गरिएको छ । मेला भर्न आउनेका लागि प्रवेशद्वार रामनगरमा र बाहिरिने आँपटारीबाट बनाइएको थियो ।
मेलाको अववसरमा राति भक्तजन जाग्राम बस्ने प्रचलन छ । हरेक वर्ष पुसको अन्तिम दिन र माघ १ गते देवघाटमा माघे सङ्क्रान्ति मेला लाग्ने गर्दछ । मेलालाई व्यवस्थापन गर्न क्षेत्र विकास समितिले एक सय ५१ सदस्यीय मूल समिति र विभिन्न उपसमिति बनाएर मेला व्यवस्थापनको काम गरेको छ ।










