तनहुँमा चैतेधान खेतीको क्षेत्रफलसंगै उत्पादन पनि घट्यो
भञ्ज्याङ न्यूज

तनहुँमा चैते धान खेतीको क्षेत्रफलसंगै उत्पादन पनि घटेको छ । यस वर्ष लामो समय परेका कारण फल राम्रो नलाग्दा उत्पादन घटेको किसान अगुवाहरू बताउँछन् । यस्तै, तनहुँमा पछिल्लो केही वर्षयता चैतेधान खेतीको क्षेत्रफल समेत घट्दै गएको छ । युवा जनशक्ति नहुँदा खेती गर्ने क्रम घट्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
खेतमा सिँचाइ सुविधा नहुँदा यस वर्ष चैते धान उत्पादनमा ह्रास आएको म्याग्दे गाउँपालिका-७ का कृषक अचुतराज काफ्ले बताउँछन् । उनले भने, ‘यस वर्ष धान काट्ने समयमा पानी परेन हामी खुसी नै छौं तर फल हाल्ने बेला लामो खडेरीको सामाना गर्नुपर्दा सोचेअनुसारको उत्पादन हुन सकेन ।’
अघिल्ला वर्ष ९ रोपनी क्षेत्रफलबाट ३० मुरी धान उत्पादन गरेका काफ्लेले यस वर्ष २० मुरी मात्रै उत्पादन हुने अनुमान गरेका छन् । सिँचाइको सुविधा नहुनु, समयमा मलबिउ नपाउनु, सरकारले कृषिमा गर्नुपर्ने जति लगानी नगर्नु, कृषकका आवश्यकता अनुसार सहज रुपमा प्राविधिक सहयोग नपाउनु जस्ता कारणले उर्वर शक्तिमा ह्रास आएको उनले बताए ।
यस्तै, अघिल्ला वर्षका तुलनामा यस वर्ष उत्पादन कम हुने म्याग्दे-७ का कृषक कमल पण्डित बताउँछन् । उनले भने, ‘समयमा मल पाइएन, खडेरीको पनि सामाना गर्नुपर्यो । यो वर्ष सोचेजस्तो फल लागेन ।’
कृषक र कृषि क्षेत्रका लागि सरकारबाट जुन रुपमा साथ सहयोग हुनुपर्छ त्यो नहुँदा पनि प्रत्येक वर्षचैते धानको खेती र उत्पादन कम हुँदै गएको पण्डित बताउँछन् । ‘चैते धान थन्काउने समयमा पानी परेर सबै उत्पादन बगाएर लग्छ त्यही कारणले पनि चैते धान लगाउने कृषक र क्षेत्रफल वर्षोनी घट्दै गएका छन्’, उनले भने, ‘धेरथोर खेतीमा लागेका कृषकले समयमा मलबिउ नपाउँदा, सिँचाइको सुविधा नहुँदा र खडेरीका कारण क्षति बेहोर्नु परेको छ ।’
खेतमा काम गर्ने जनशक्तिको कमीका कारण पनि चैते धानको खेती घट्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए । उनले भने, ‘अहिले अधिकांश युवाहरु वैदेशिक रोजगारीमा जान थालेका छन् । हातमा पैसा भएपछि दुखै नगरी विभिन्न प्रकारका चामल पाइने हुँदा हिलोमा गएका काम गर्न कोही रुचाउँदैनन् ।’
कृषिमा आधुनिक प्रविधि भित्र्याउन नसक्दा पनि खेती कम हुँदै गएको उनले बताए । गत वर्ष २ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकोमा ७ हजार मेटि्रक टन उत्पादन भएको थियो भने यस वर्षएक हजार ८ सय हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ । ६ हजार ३ सय मेटि्रकन धान उत्पादन हुने ज्ञान केन्द्रको अनुमान छ ।
जिल्लाका १० वटै पालिकाका सिँचाइ सुविधा भएका फाँटहरुमा चैते धान खेती गर्ने गरिन्छ । चुँदी फाँट, कलेस्ती फाँट, साँघे फाँट, पुट्टार फाँट लगायतका फाँट तथा खेतहरुमा चैते धान खेतीका लागि उपयुक्त मानिन्छ ।










