तनहुँमा चैतेधान खेतीको क्षेत्रफलसंगै उत्पादन पनि घट्यो

भञ्ज्याङ न्यूज

तनहुँमा चैते धान खेतीको क्षेत्रफलसंगै उत्पादन पनि घटेको छ । यस वर्ष लामो समय परेका कारण फल राम्रो नलाग्दा उत्पादन घटेको किसान अगुवाहरू बताउँछन् । यस्तै, तनहुँमा पछिल्लो केही वर्षयता चैतेधान खेतीको क्षेत्रफल समेत घट्दै गएको छ । युवा जनशक्ति नहुँदा खेती गर्ने क्रम घट्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

खेतमा सिँचाइ सुविधा नहुँदा यस वर्ष चैते धान उत्पादनमा ह्रास आएको म्याग्दे गाउँपालिका-७ का कृषक अचुतराज काफ्ले बताउँछन् । उनले भने, ‘यस वर्ष धान काट्ने समयमा पानी परेन हामी खुसी नै छौं तर फल हाल्ने बेला लामो खडेरीको सामाना गर्नुपर्दा सोचेअनुसारको उत्पादन हुन सकेन ।’

अघिल्ला वर्ष ९ रोपनी क्षेत्रफलबाट ३० मुरी धान उत्पादन गरेका काफ्लेले यस वर्ष २० मुरी मात्रै उत्पादन हुने अनुमान गरेका छन् । सिँचाइको सुविधा नहुनु, समयमा मलबिउ नपाउनु, सरकारले कृषिमा गर्नुपर्ने जति लगानी नगर्नु, कृषकका आवश्यकता अनुसार सहज रुपमा प्राविधिक सहयोग नपाउनु जस्ता कारणले उर्वर शक्तिमा ह्रास आएको उनले बताए ।

यस्तै, अघिल्ला वर्षका तुलनामा यस वर्ष उत्पादन कम हुने म्याग्दे-७ का कृषक कमल पण्डित बताउँछन् । उनले भने, ‘समयमा मल पाइएन, खडेरीको पनि सामाना गर्नुपर्‍यो । यो वर्ष सोचेजस्तो फल लागेन ।’

कृषक र कृषि क्षेत्रका लागि सरकारबाट जुन रुपमा साथ सहयोग हुनुपर्छ त्यो नहुँदा पनि प्रत्येक वर्षचैते धानको खेती र उत्पादन कम हुँदै गएको पण्डित बताउँछन् । ‘चैते धान थन्काउने समयमा पानी परेर सबै उत्पादन बगाएर लग्छ त्यही कारणले पनि चैते धान लगाउने कृषक र क्षेत्रफल वर्षोनी घट्दै गएका छन्’, उनले भने, ‘धेरथोर खेतीमा लागेका कृषकले समयमा मलबिउ नपाउँदा, सिँचाइको सुविधा नहुँदा र खडेरीका कारण क्षति बेहोर्नु परेको छ ।’

खेतमा काम गर्ने जनशक्तिको कमीका कारण पनि चैते धानको खेती घट्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए । उनले भने, ‘अहिले अधिकांश युवाहरु वैदेशिक रोजगारीमा जान थालेका छन् । हातमा पैसा भएपछि दुखै नगरी विभिन्न प्रकारका चामल पाइने हुँदा हिलोमा गएका काम गर्न कोही रुचाउँदैनन् ।’

कृषिमा आधुनिक प्रविधि भित्र्याउन नसक्दा पनि खेती कम हुँदै गएको उनले बताए । गत वर्ष २ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकोमा ७ हजार मेटि्रक टन उत्पादन भएको थियो भने यस वर्षएक हजार ८ सय हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ । ६ हजार ३ सय मेटि्रकन धान उत्पादन हुने ज्ञान केन्द्रको अनुमान छ ।

जिल्लाका १० वटै पालिकाका सिँचाइ सुविधा भएका फाँटहरुमा चैते धान खेती गर्ने गरिन्छ । चुँदी फाँट, कलेस्ती फाँट, साँघे फाँट, पुट्टार फाँट लगायतका फाँट तथा खेतहरुमा चैते धान खेतीका लागि उपयुक्त मानिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker