अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश

लमजुङ । विश्व पर्यटन बजारमध्ये एक मानिने चक्रीय अन्नपूर्ण पदमार्ग यतिबेला सुनसान भएसँगै पर्यटन व्यवसायी निराश बन्न थालेका छन् । केहीहप्ता अघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान बन्दा पर्यटन व्यवसायी निराश बन्न थालेका हुन् ।

कोरोना सङ्क्रमण र चिसो मौसमपश्चात् फष्टाउन थालेको पर्यटन क्षेत्र पुनः बर्खाले थला पारेको छ । विदेशी पर्यटक यतिबेला एक दुई दिन विराएर दुई चार जना मात्र आउने गरेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्रले जनाएको छ ।

यस पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले भन्नुभयो,“केही समय अघिसम्म पर्यटकको चलपहल हुँदा दैनिक रु ३०/४० हजारभन्दा बढी आम्दानी हुने गरेपनि यतिबेला पर्यटक नआउदा दुई चार पैसा देख्न पनि मुस्किल हुन थालेको छ ।

हाम्रो मुख्य आम्दानीको स्रोत भनेकै पर्यटक हो, पर्यटक आए आम्दानी, नआए समस्या हुने गरेको छ ।” बर्खा लागेसँगै पदमार्गमा आउने पर्यटकलाई समस्या हुने कारणले पर्यटक दुई तीन महिनासम्म नआउँदा व्यवसाय पनि नचल्ने भएकाले निराश हुन परेको उहाँले बताउनुभयो ।

अर्का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भन्नुभयो, “पर्यटकको आगमन ठप्प भएसँगै आम्दानी पनि ठप्प भएको छ । व्यवसाय चलायमान हुँदै जाँदा बर्खाका कारण पुनः पर्यटक घटेकाले पदमार्ग सुनसान भएसँगै आफू मात्र नभइ यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी निराश हुन थालेको उहाँको भनाइ थियो ।

यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् ।

मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङको चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ ।

सन् २०२३ सुरु भएयता हालसम्म यस पदमार्गमा नौ हजार बढी पर्यटकको आगमन भएको एक्याप पर्यटक जाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार यसअघि फ्रान्स, जर्मनलगायत देशका बढी पर्यटक आएका थिए ।

बर्खा लागेकाले अफसिजन भएको र दृश्य पनि राम्रो नदेखिने तथा बर्खामा बाटो हिँड्न समस्या हुनेलगायत कारण पर्यटकको आगमन ह्वात्तै घटेको उहाँको भनाइ थियो । पर्यटक नआउँदा पर्यटन व्यवसायी मात्र नभइ आफू पनि फुर्सिदिलो बन्न पुगेको पर्यटन सहायक गुरुङले सुनाउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker