शालिग्राम करिडोरको ज्वाला खोला मोटरेवल पुल उद्घाटन
भञ्ज्याङ समाचारदाता/तनहुँ

शालिग्राम करिडोर अन्तर्गत ऋषिङ गाउँपालिकाको वडा नं. ४ मधुवन र वडा नं. ५ को रुपटार जोड्ने ज्वाला खोला मोटरेवल पुलको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार एक कार्यक्रमका बीच पुल उद्घाटन गरेका हुन् ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पूर्वाधार विकास कार्यालय तनहुँद्वारा २०७७ सालमा ३ करोड २५ लाखमा सम्झौता भएको सो पुल २ करोड ९६ लाखमा निर्धारित समयमा निर्माण सम्पन्न गरिएको हो ।
एति बिल्डर्स काठमाडौँले निर्धारित समयमा सम्झौता रकम भन्दा २५ लाख कम लागतमा सो पुलको निर्माण गरेको छ । पुल उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले शालिग्राम करिडोर गण्डकी प्रदेश सरकारको गौरवका आयोजना भएको र यसलाई देवघाटदेखि सेती वेनि पर्वत हुँदै बूढीगण्डकी जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कालीगण्डकी धार्मिक क्षेत्र भएकोले धार्मिक पर्यटन स्थलका रुपमा विकास गर्न र पोखरालाई नेपालको पर्यटनको केन्द्र पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न प्रदेश सरकार लागि परेको उनले बताए । प्रदेश सरकारले यस आर्थिक वर्षमा मात्र ऋषिङ गाउँपालिका भित्रका भौतिक पूर्वाधार तथा सडकका लागि २२ करोड, विभिन्न खानेपानीका योजनाहरुका लागि २ करोड रुपैयाँ तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि १ करोड रुपैयाँ विभिन्न शीर्षकमा विनियोजन गरेको समेत जानकारी दिए ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले प्रदेश सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए । गण्डकी प्रदेशका कृषि मन्त्री महेन्द्रधवज जिसीले कालीगण्डकी आसपासका जति पनि टारहरुको व्यस्थापन र विकासका लागि आफू लागि परेको बताए । गण्डकी प्रदेशका अर्थमन्त्री जितप्रकाश आलेले श्रृङ्ग मार्ग, कृष्ण मार्गको स्तर सुधारका लागि हर सम्भव प्रयास गर्ने बताए । अर्थमन्त्री आलेले ७० वर्षअगाडि खोलिएको श्रुङ मार्ग, कृष्ण मार्गको स्तर सुधारका लागि हर सम्भव प्रयास गर्ने बताए ।
गण्डकी प्रदेशको महत्वपूर्ण गौरवको योजना सडक योजना भारतको कोरल जोड्ने र शालिग्राम करिडोर लगाएतका महत्वपूर्ण योजनाहरू सम्पन्न गर्न लागेको बताए । आर्थिक मामिला मन्त्री हुँदै गर्दा आफू नेपाली कांग्रेसको मात्रै मन्त्री नभएर समग्र गण्डकी प्रदेशकै मन्त्री भएको र योजना छनोट गर्दा आवश्यकताका हिसाबले प्राथमिकताका राखेर बजेट विनियोजन गरी गरिबी र पछौटेपन हटाउन लागि परेको बताए ।










