कार्यालयका लागि जग्गा खोज्दै व्यास-३ को वडा कार्यालय

तनहुँको व्यास नगरपालिका वडा नं ३ ले वडा कार्यालय भवन निर्माणका लागि जग्गा खोज्ने प्रक्रिया अगाडी बढाएको छ। नगरपालिकाको पुरानो भवनमा रहदै आएको वडा कार्यालय उक्त ठाउँबाट अन्यत्र सर्नुपर्ने भएपछि आफनै भवन निर्माणको लागि जग्गा खोज्ने प्रक्रियामा रहेको वडा सदस्य दधिराज घिमिरेले बताए।
नगरपालिकाले पुरानो भवन भत्काएर व्यवसायिक कम्प्लेक्स बनाउन लागेपछि वडा कार्यालय उक्त ठाउँबाट सर्ने भएको छ । वडा सदस्य घिमिरेका अनुसार तत्कालका लागि भाडामा घर लिएर वडा कार्यालय सञ्चालन गरिने भएको छ ।
उनले भने, ‘तत्काल भवन निर्माण हुने सम्भावना छैन, अहिलेलाई हामीले घर भाडामा लिएर वडा कार्यालय सार्ने छौ’, उनले भने, ‘नगरपालिकाको प्राविधिकहरुसंग छलफल गर्दै हामीले जग्गा खोज्दै छौं ।”
वडा कार्यालयको भवन निर्माणका लागि जग्गाको खोजी बिसघरे जाने बाटोमा गरिएको छ। वडा कार्यालयले २०७४ साल देखिनै भवनको समस्या झेल्दै आएको छ । २०७४ सालमा भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रमा रहेको भवनबाट सेवा प्रदान गर्दै आएको वडा कार्यालय पछि नगरपालिकाको पुरानो भवनमा सरेको थियो ।










