तनहुँको देवघाटमा विभिन्न कार्यक्रम गरी शहीद सप्ताह मनाउने तयारी
- भञ्ज्याङ समाचारदाता (देवघाट)
तनहुँको देवघाट गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गरी शहीद सप्ताह मनाउने तयारी गरेको छ। गाउँपालिकाले यही माघ १० गतेबाट विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रुपमा शहीद सप्ताह मनाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।
शहीदहरूको उच्च सम्मानका निम्ति शहीद दिवसलाई लक्षित गर्दै जनप्रतिनिधि, बैंक, वित्तीय संस्था, सहकारी, नागरिक समाज, सामुदायिक वन, सरकारी तथा गैर सरकारीका प्रतिनिधि, स्वास्थ्य, गुरूकुलहरूलाई संयुक्त भेला गरी ५१ सदस्यीय समिति गठन गरिएको वडा नं ५ का अध्यक्ष यालबहादुर गुरुङले जानकारी गराएका छन् ।
शहीद सप्ताह अन्तरगत पहिलो दिन साँस्कृतिक झाँकी सहितको र्याली, शहीदलाई माल्यार्पण र साँस्कृतिक कार्यक्रम, दोस्रो दिन अंग्रेजीमा हाजिरी जवाफ कार्यक्रम र अन्तर मावि भलिबल प्रतियोगितासँगै साँस्कृतिक कार्यक्रम, तेस्रो दिन स्वास्थ्य शिविर, भजन प्रतियोगिता, चौथो दिन (अन्तर युवा क्लव रवन) फुटबल प्रतियोगिता र अन्तर मावि विज्ञान प्रदर्शनी, पाचौं दिन अंग्रेजी शब्द लेखन प्रतियोगिता र कृषि कार्यक्रम, छैटौं दिन हाट बजार संचालन प्रतियोगिता र उद्योग प्रवर्द्धन र शहिद दिवसका दिन सम्पूर्ण टोलटोलमा सरसफाइ कार्यक्रम, शहिदका परिवार सम्मान र पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।