दमौली अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिदै, पाइप लाइन विस्तारका लागि ३० लाख पायो
भञ्ज्याङ न्यूज

तनहुँको सदरमुकाम दमौलीमा रहेको दमौली अस्पतालमा अक्सिजन प्लान्ट जडानकार्य अघि बढाइएको छ । गण्डकी प्रदेश सरकारले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि अस्पतालमा अक्सिजन प्लान्ट जडानकार्य अघि बढाइएको हो । कोभिड-१९ संक्रमणको दोस्रो लहर तीब्र बनेसँगै अक्सिजनको अभाव हुन थालेपछि प्लान्ट निर्माण प्रक्रिया अघि बढाइएको छ ।
कोभिडका बिरामीका लागि अस्पतालले छुट्टै कक्षको स्थापना गरी उपचारको व्यवस्था मिलाइएको छ । अक्सिजन प्लान्टका लागि प्रदेश सरकारले ७५ लाख रुपैयाँ बजेट विनियोजित गरेकामा ५३ लाख रुपैयाँमा बोलपत्र स्वीकृत भई काम शुरु गरिएको दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए ।
बन्दाबन्दीको अवस्था भए पनि अत्यावश्यक क्षेत्र भएकाले उपकरण भारतबाट ल्याई छिट्टै प्लान्ट निर्माण गर्न लागिएको उनले बताए । अक्सिजन प्लान्ट निर्माणपश्चात दैनिक १० सिलिण्डर उत्पादन गर्न सकिने बताइएको छ ।
अस्पतालमा अक्सिजन उत्पादन हुन थालेपछि बाहिरबाट खरिद गर्नुपर्ने समस्याको अन्त्य हुने विश्वास गरिएको छ । आफ्नै प्लान्ट भएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने र आपूर्तिमा विश्वसनीय हुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
कोरोना लक्षित बिरामीका लागि अस्पतालमा भेन्टिलेटर सहितको अलग उपचारकक्ष सञ्चालन गरी २१ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । उपचारका लागि अहिले चार चिकित्सक र चार स्टाफ नर्स परिचालन गरी सेवा प्रदान गरिएको छ । दमौली अस्पतालमा छिमेकी जिल्ला लमजुङ, गोरखा र कास्कीका केही क्षेत्रका मानिस उपचारका लागि आउने अस्पतालले जनाएको छ ।
यस्तै, दमौली अस्पतालको अक्सिजन उत्पादन तथा सिलिन्डरमा भर्नका लागि आवश्यक पर्ने पाइप लाइन विस्तारका लागि अर्थमन्त्रालयले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार सम्पन्न मन्त्रिस्तरको बैठकले दमौली अस्पतालमा पाइप लाइन विस्तारका लागि उक्त बजेट उपलब्ध गराउने निर्ण्र्ााभएको प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ किसानले जानकारी गराएका छन् ।
यस्तै सोही बैठकले विभिन्न ११ वटा अस्पतालहरुमा अक्सिजन प्लाण्ट स्थापन तथा दमौली अस्पतालमा पाइप लाइन विस्तारका लागि १६ करोड ८० लाख रुपैयाँ बजेट थप निकासा गरेको जनाइएको छ ।










