आदिकवि भानुभक्त क्याम्पसको ४०औं साधारण सभा, शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड

दमौली : तनहुँको व्यास नगरपालिका–१, विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसको ४०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा क्याम्पसको चार दशक लामो शैक्षिक यात्रा, संस्थागत विकास र आगामी योजनाबारे चर्चा गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि तथा भौतिक पूर्वाधार विस्तारमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।
गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले क्याम्पसको स्थापना र विकासमा अग्रज तथा स्थानीय समुदायले गरेको संघर्ष र योगदानको चर्चा गर्दै संस्थाको थप उन्नतिका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए । उनले क्याम्पसमा सञ्चालित बोरिङको पानी संकलन गरी समुदायलाई समेत वितरण गर्न सकिने गरी ओभरहेड ट्याङ्की निर्माणका लागि आफ्नो पहलमा प्रदेश सरकारबाट केही रकम निकासा भएको जानकारी दिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले क्याम्पसको संस्थागत विकास, शैक्षिक गुणस्तर सुधार, पूर्वाधार विस्तार र सामुदायिक सहभागितालाई थप प्रभावकारी बनाउनुपर्ने बताए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले आफूले यही क्याम्पसमा २३ वर्ष क्याम्पस प्रमुखका रूपमा काम गरेको अनुभव सुनाउँदै स्थापना र विकासका क्रममा भएका संघर्ष तथा चुनौती स्मरण गरे ।
क्याम्पस सञ्चालक समितिका पूर्वउपाध्यक्ष एवं म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले क्याम्पसको उपलब्धि सामूहिक प्रयास र योगदानको परिणाम भएको बताए । उनले म्याग्देसहित छिमेकी स्थानीय तहका विद्यार्थीको उच्च शिक्षाको प्रमुख गन्तव्यका रूपमा रहेको क्याम्पसको विकासमा स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वय जारी रहने प्रतिबद्धता जनाए ।
सभामा नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठले सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि राजनीतिक दलबीच एकता आवश्यक रहेको बताए । नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कँडेलले क्याम्पसलाई मानित विश्वविद्यालय बनाउने लक्ष्यमा साथ दिने प्रतिबद्धता व्यक्त गरे । एमालेका पूर्वकेन्द्रीय सदस्य पीएल श्रेष्ठले दक्ष जनशक्ति उत्पादन गरी विदेश पलायन रोक्ने शिक्षा आवश्यक रहेको धारणा राखे । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका जिल्ला सचिव अनिल श्रेष्ठले प्रविधिमैत्री, पारदर्शी र रोजगारमूलक शिक्षाको विकासमा सहकार्य गर्ने बताए ।
निवर्तमान क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले आफ्नो कार्यकालमा सुरु भएका राम्रा अभ्यास र पूर्वाधार विकासका योजनालाई निरन्तरता दिन आग्रह गरे । समुदायको विश्वास र सामूहिक प्रयासले क्याम्पसलाई प्रतिष्ठित अवस्थामा पु¥याएको उल्लेख गर्दै उनले तेस्रो चरणको गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्ति र मानित विश्वविद्यालयको लक्ष्य हासिल गर्न निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सभामा क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने, सोही अवसरमा क्याम्पसको वार्षिक प्रतिवेदन ‘भानुश्री’ र अनुसन्धानमूलक लेखहरूको संग्रह ‘जर्नल अफ आदिकवि’ को भोल्युम १४ विमोचन गरिएको थियो ।










