अमेरिकी शैक्षिक लगानीको मोडल र प्राविधिक शिक्षा
ध्रुवराज पौडेल

पृष्ठभूमि:
हरेक प्रणाली (System) भन्ने बित्तिकै त्यसमा लगानी, प्रक्रिया र प्रतिफल (Input, Process and Output) हुने गर्दछन् । जुनसुकै
लगानी गरेपछि यसबाट प्राप्त हुने अपेक्षित प्रतिफल सबैका लागि प्रिय लाग्नु स्वाभाविकै हो । शैक्षिक क्षेत्रको लगानी अन्य क्षेत्रको भन्दा फरक र दीर्घकालीन प्रकृतिको हुन्छ । विश्वबैंकको प्रतिवेदन भन्छ अन्य क्षेत्रमा गरिएको लगानीको तुलनामा शिक्षा क्षेत्रमा गरेको लगानीबाट तीनगुणा प्रतिफल प्राप्त गर्न सकिन्छ । आज जुन देशले राष्ट्रको दीर्घकालीन सोच राखेर भिजनरी योजना र कार्यक्रम बनाएको हुन्छ र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ त्यही देश विकासको क्रममा अग्रणी स्थानमा रहेको कुरा विश्वका विभिन्न समृद्ध देशको अवस्थाबाट पुष्टि हुन्छ ।
वास्तवमा गुणस्तरीय र उच्चस्तरको जनशक्ति शिक्षाबाटै प्राप्त हुन्छ जुन हरेक देशको सक्रिय मानव पुँजीको रुपमा रहेको हुन्छ । अत: देशको समृद्धि र गुणस्तरीय शिक्षा एकअर्कोमा परिपुरकको रुपमा रहेका छन् । मेरो अमेरिका बसाइको क्रममा यहाँको शिक्षामा लगानीको मोडेल, यसको प्रतिफल, जनशक्तिको परिचालन र स्थायित्व तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको अवस्थाका बारेमा बुझ्ने उत्सुकता जाग्यो र यस बारेमा व्यक्तिगत रुपमा अध्ययन, अवलोकन, परामर्श तथा आधुनिक सूचना प्रविधिको माध्यमबाट संकलन गरिएको तथ्यका आधारमा तयार गरेको आलेखलाई म प्रिय पाठक वर्गका लागि पस्कन गइरहेको छु ।यस सन्दर्भमा अमेरिकाले अख्तियार गरेको शैक्षिक लगानीको मोडेल तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको लागि लिएका नीतिहरु हाम्रो देशका लागि पनि अनुकरणीय हुन सक्छन् भन्ने ध्येयका साथ यो सामग्री तयार गरिएको छ ।

अमेरिकी शैक्षिक लगानीको मोडेल
- यहाँ पुर्व प्राथमिक तह अर्थात् Pre-schooling मा राज्यले खासै लगानी गर्दोरहेनछ । तोकिएको आम्दानीभन्दा कम आय हुने वर्गका लागि नि:शुल्क भएपनि अन्य सबैका लागि सशुल्क नै रहेछ । यसमा राज्यलाई ठूलो व्ययभार बोक्नु पर्दोरहेनछ ।
- विद्यालय तह (किन्डर गार्टेन/कक्षा १ देखि कक्षा १२ सम्म) मा अमेरिकी सरकारको ठूलो लगानी रहेछ जुन पुर्णतया नि:शुल्क रहेछ, यतिसम्म कि सार्वजनिक स्कुलमा पढ्ने बालबालिकाको यातायात र खाना/खाजा समेत विद्यालयले नै व्यहोर्ने खालको व्यवस्था रहेछ ।
- उच्च शिक्षा यहाँ सशुल्क छ तर यसमा राज्यले ठूलो लगानी त गर्छ तर प्रत्यक्ष विद्यार्थीलाई नभएर सामुदायिक कलेज र विश्वविद्यालयलाई अनुदान दिने नीति रहेछ ।
- यदि कुनै विद्यार्थीले कक्षा १२ सकेपछि उच्च शिक्षा (प्राविधिक धार वा सामान्य धार) लिन चाहने विद्यार्थीलाई विना धितो ऋण उपलब्ध गराउने रहेछ जसलाई उसले पढेपछि कमाएर तिर्छ । कसैले बदमासी गरेमा राज्यबाट पाउनुपर्ने कुनैपनि सेवा सुविधा नपाउने हुँदा त्यसो गर्ने संभावना हुँदो रहेनछ ।
- उच्च शिक्षा अन्तर्गत विशेषत: स्नातकोत्तर र विद्यावारिधि तहमा अमेरिकाका विभिन्न विश्वविद्यालयहरूले संसार भरीका उत्कृष्ट विद्यार्थी (Cream student) लाई उनीहरूको प्रोफाइल र Concept paper का आधारमा छनोट गरी पुर्ण छात्रवृत्तिमा अध्यापन गराउने रहेछ ।
- विश्वविद्यालय र यहाँका प्रोफेसरहरूलाई अथाह अधिकार दिइएको हुन्छ, कस्तो प्रकारको जनशक्ति चाहिन्छ, कहाँबाट ल्याउने, कति लगानी गर्ने, कति अबधि पढाउने, उसलाई कसरी यहीं राख्ने जस्ता पर्याप्त अधिकार छ । यसमा राज्यको लगानी ठूलो छ तर यो उनीहरूका लागि राष्ट्रिय पुँजीको रूपमा रहेको हुन्छ किनकी सम्बन्धित तहबाट दिक्षीत भइसकेपछि उनीहरूलाई राज्यले रोजगारी दिन्छ, अन्य विभिन्न अवसरहरू उपलब्ध गराउछ, उचित बसोबासको व्यवस्था गर्छ, शुरूमा ग्रीनकार्ड र पछि अमेरिकी नागरिकता प्रदान गर्छ र त्यो उच्चस्तरको जनशक्तिले अमेरिकाको लागि काम गर्छ, पलायनको संभावना हुँदैन । यसरी अमेरिकाले उच्च शिक्षामा गरेको लगानी कुनैपनि हिसाबले खेर जाँदैन ।
- यसरी शिक्षामा गरिएको लगानी खेर गएन भने पक्कैपनि राज्यले दक्ष जनशक्ति पाउँछ जसबाट देशको समृद्धि संभव हुन्छ ।
- यो लगानीको मोडेलबाट के देखिन्छ भने आधारभूत तहको शिक्षा (कक्षा १२ सम्म) राज्यको पूर्ण दायित्वको कुरा हो यसमा लगानी गर्न राज्य तयार हुनुपर्छ । त्यसैगरी उच्च शिक्षा अध्ययनका लागि ऐच्छिक विषय हो । यसका लागि कमजोर वर्गका लागि राज्यले सहयोग गर्ने हो त्यो पनि ऋणको रुपमा दिने पछि कमाएर तिर्ने गरी । यसरी उच्च शिक्षामा राज्यको लगानी आधारभूत तहको तुलनामा कम मात्र भएको देखिन्छ ।

- यहाँका प्रत्येक नागरिकको सामाजिक सुरक्षा नम्बर हुन्छ जुन एउटा व्यक्तिको एउटा मात्र हुँदोरहेछ । यसलाई एकपटक रजिष्ट्रेशन भैसकेपछि सम्पूर्ण कारोबार त्यसैबाट हुन्छ । सामाजिक सुरक्षा नम्बर रजिष्ट्रर गरिसकेपछि प्रत्येकको आर्थिक अवस्था, उसको आम्दानी, खर्च, सन्तुलन, क्रयशक्ति र आर्थिक क्षमता सबैको वारेमा राज्य पूर्णत: जानकार रहेको हुँदोरहेछ । यसैका आधारमा कुन व्यक्ति गरिबीको रेखामुनि छ, को सम्पन्न छ वा कसलाई सहयोग चाहिएको छ, कसलाई आवश्यक छैन, कसले विगतमा कर्जा लिएको थियो, उक्त कर्जा समयमा नै तिर्यो कि तिरेन, उसको इमान्दारिता कस्तो छ, अव पनि ऋणका लागि काविल छ कि छैन आदि जस्ता कुराहरु स्पष्ट रुपमा देखिन्छ । यहि आर्थिक प्रोफाइलका आधारमा नै राज्यले उक्त नागरिकको लागि कस्तो व्यवहार गर्ने भन्ने कुराको निर्धारण हुँदोरहेछ ।
अमेरिकामा प्राविधिक शिक्षा र व्यवसायिक तालिमको अवस्था (Technical Education and Vocational Training in America)
- संयुक्त राज्य अमेरिकाको शिक्षा प्रणाली समयसापेक्ष र गुणस्तरीय छ जुन सजिलै श्रम बजारमा विक्ने खालको रहेको छ । यसै सन्दर्भमा शिक्षा भन्ने वित्तिकै प्राविधिक शिक्षा र व्यवसायिक तालिम पनि यसका अभिन्न अंग नै हुन् । प्रविधिको अत्याधिक प्रयोग गर्ने मुलुकमा पर्दछ अमेरिका । विश्वमा सबैभन्दा बढी प्रविधिको प्रयोग गर्ने राष्ट्र दक्षिण कोरिया रहेछ, त्यसपछि धेरै प्रविधिको प्रयोग गर्ने मुलुक अमेरिका हो । तेस्रोमा चाइनिज स्वशासित राज्य ताइवान पर्दोरहेछ । यसैगरी युरोपका विकशित मुलुकहरु पर्दछन् । एशियामा जापान, सिंगापुर, इजराइल, संयुक्त अरब इमेरेट्स आदि अग्रस्थानमा रहेका छन् ।
- आधुनिक प्रविधिको प्रयोगले जनशक्तिको प्रयोगमा पनि कमि आउने, हरेक कार्यसम्पादन छिटो छरितो हुने, कम लागतमा काम हुने, सेवाग्राही पनि सन्तुष्ट हुने रहेछ । यसबाट हरेक देशको सरकार र जनता बीचको सम्बन्ध सुमधुर बन्नुका साथै यसबाट सभ्य र विकशित समाजको प्रतिबिम्ब पनि झल्कँदो रहेछ ।
- अमेरिकामा अत्यन्त कम मात्र व्यक्तिहरु सरकारी वा अन्य कार्यालयमा पुग्छन् । सबै कुरा अनलाइनबाट हुने भएपछि किन लाइन वस्नुपर्यो, किन हार्डकपि पेश गर्नुपर्यो, किन शारीरिक परिश्रम गर्नुपर्यो, किन समयको बर्वादी गर्नुपर्यो ? खानेपानी, विजुली बत्ती, विद्यालय, कलेज, राजस्व तथा कर दाखिला, एयर टिकट, रेल तथा बसको टिकट, सुपर मार्केट, ग्यास स्टेशन, कार्यालयमा निवेदन, परीक्षा, नतिजा, आदि मात्र होइन कुनै स्थानमा गाडी पार्कङ् गर्नुछ भने पनि अनलाइन बुकिङ् गर्न सकिने रहेछ । यहाँका ९९ प्रतिशत नागरिकले प्रत्यक्ष नगद कारोबार गर्दैनन् । सबैले डेबिट कार्ड वा क्रेडिट कार्डको प्रयोगबाट दैनिक व्यवहार चलाउँदा रहेछन्

- अमेरिकामा यहाँका नागरिकहरुले कामको वा श्रमको सम्मान गर्दछन् । काम भनेको सानो ठूलो हुँदैन । बेरोजागरी अभिसाप हो भन्ने मान्यता स्थापित छ । हरेक काम गर्नका लागि तालिम वा विशेष सीप अनिवार्य छ । काम गर्नुपूर्व सम्बन्धित निकायबाट अनुमति लिनु जरुरी छ जसका लागि तालिम वा विशिष्ट ज्ञान जरुरी हुन्छ । यसका लागि अमेरिकी सरकारले विद्यालय तहदेखि नै इच्छुक विद्यार्थीका लागि यो व्यवसायिक तालिमको प्रावधान राखेको छ ।
- विद्यालय शिक्षा कक्षा १२ उत्तीर्ण गरिसकेपछि उच्च शिक्षा वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम का लागि विद्यार्थीहरुका लागि दुईवटा स्ट्रीम हुन्छ ।
- विद्यालय तहको शिक्षा पुरा गरेपछि प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि मुख्य विषयका रुपमा STEM (Science, Technology, Engineering and Mathematics) रहेका छन् ।
- प्राविधिक शिक्षाको धार तर्फ लाग्ने व्यक्तिहरुले उच्च शिक्षा अन्तर्गत विधावारिधि तहसम्म नै प्राप्त गर्न सकिने अवस्था छ । यो अलि लामो अवधिको, महंगो र बढी जटिल पनि हुने क्षेत्र रहेको छ ।
- अमेरिकाले कक्षा १२ सम्म सबै विद्यार्थीलाई नि:शुल्क शिक्षा दिन्छ । त्यसपछि उच्च शिक्षा वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम लिनका लागि बजेट भएन भने सम्बन्धित विश्वविद्यालय शिक्षालय वा निजी शिक्षण संस्थाहरुसँग माग गरेमा सहुलियत दरमा पढ्नका लागि ऋण उपलब्ध गराउँदो रहेछ । यो ऋण व्यक्तिले पढाइ सकेपछि कमाउँदै किस्ताबन्दिमा तिर्न सक्ने रहेछ । कुनै पनि व्यक्तिले कर छल्ने संभावना अत्यन्त न्यून हुनेरहेछ । एउटै खाता नम्बर वा सामाजिक सुरक्षा संकेत नम्बर बाट मात्रै सबै कारोबार हुने हुनाले पारदर्शिता र बस्तुनिष्ठता पनि देखिने रहेछ ।
- अमेरिकामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम दिनका लागि ७४०७ वटा संस्थाहरु सञ्चालनमा छन् । व्यवसायिक तालिम प्रदान गर्ने संस्थाहरुलाई Trade School पनि भनिदो रहेछ ।
- यहाँ भएका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको अवधि २ वर्षदेखि ४ वर्षसम्मको हुन्छ । चारवर्षे कोर्सका लागि सामान्यतया ३० हजार देखि ४० हजार डलरसम्म खर्च हुन्छ ।
- व्यवसायिक तालिम अन्तर्गत मुख्यतया: Agriculture, Business and office, Marketing and distribution, Health, Occupational and economics, Trade and industry (Construction, mechanics and repairs, and precision production) and Technical and communication विषयहरु पर्दछन् ।
- कुनै व्यक्तिले व्यक्तिगत रुपमा विशिष्टिकृत व्यवसायका लागि लिन चाहेमा पनि लिन सकिन्छ जस्तै Carpentry, Plumbing, Welding, Cosmetology, Food service, Warehouse management आदि ।
- अमेरिकामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमका लागि समन्वय व्यस्थापन तथा नियमन गर्नका लागि केन्द्रीय तहमा Office of Career, Technical and Adult Education (OCTAE) भन्ने निकाय रहेको छ ।
- विभिन्न कम्पनीहरुका माग बमोजिम As a whole मा जनशक्ति तयार गर्ने काम र तोकिएको कम्पनीको विशिष्टीकृत कामका लागि तयार गर्ने On the Job Training – OJT यी दुबै काम प्राविधिक शिक्षालयहरुले गर्दा रहेछन् ।
- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम पुरा गरिसकेपछि व्यक्ति सर्टिफाइड हुनका लागि International Career Institute – ICI ले प्रमाणित गरेपछि मात्र त्यो व्यक्ति बजारमा बिक्छ । नेपालमा यस प्रकारको निकायलाई National Skill Testing Board-NSTB भनिन्छ जुन CTEVT अन्तर्गत रहेको छ ।
- तालिम प्राप्त व्यक्तिको माग सर्वत्र रहेको हुन्छ ।तालिम लिएका र सरकारी निकाय ICI बाट प्रमाणपत्र लिइसकेपछि उसको जागीरको ग्यारेन्टी जस्तै हुँदोरहेछ किनकी अमेरिका ठूलो देश भएको हुनाले यहाँ Job market निकै वृहत रहेको छ ।अधिकांश काम अनलाइनबाटै खोज्ने र प्रविधिको माध्यमबाट कामदारहरु आह्वान गर्ने चलन रहेको छ । क्षमतावान, जाँगरिलो र तालिम प्राप्त व्यक्तिका लागि अमेरिकामा अवसरै अवसर रहेको छ ।अमेरिकी जनताको प्रवृत्ति सरकारी जागीर भन्दा निजी व्यवसाय, कम्पनी, फर्म तथा मार्केटिङ् तर्फ रहेको देखिन्छ । तथापि सरकारी सेवामा रहेका कर्मचारीहरुका लागि देशको जुनसुकै स्थानमा पनि सहुलियतको व्यवस्था हुँदोरहेछ ।

- यसरी देशमा रोजगारी सिर्जना गर्ने, नागरिकलाई आत्मनिर्भर बनाउने, उत्पादकत्व बढाउने र समग्रमा राष्ट्रलाई नै समृद्धिको मार्गमा अगाडि बढाउने क्षेत्र भनेकै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम भएकोले अमेरिकामा यसको विशेष स्थान रहेको देखिन्छ ।
- शिक्षामा अमेरिकी सरकारले गर्ने लगानी उल्लेख्य मात्रामा छ । संघीय सरकारले कूल बजेटको न्यूनतम् ३ प्रतिशत शिक्षामा लगानी गर्दछ । त्यसैगरी प्रत्येक राज्यबाट शिक्षामा प्राथमिकताका साथ लगानी भैरहेका छन् । विशेषत: विभिन्न गैरसरकारी संघसंस्था र धार्मिक संस्थाबाट समेत अथाह लगानी भैरहेका छन् ।
- शैक्षिक लगानीको कुरा मात्रै होइन अमेरिकामा विद्यार्थीहरुका लागि आधुनिक सूचना प्रविधिको उच्चतम् प्रयोग गराइएको छ ।विद्यालय तहदेखि नै एक्काइसौं शताब्दीको चुनौतीको सामना गरी विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति तयार गरेको छ ।उत्पादित दक्ष जनशक्ति सबैलाई रोजगारको प्रत्याभूति गरेको छ । व्यवसाय गर्नका लागि आवश्यक मात्रामा विना धितो ऋण उपलब्ध गराएको छ । उत्पादित जनशक्ति कोहि पनि देशबाट बाहिर पलायन हुने गुञ्जाइस छैन ।
निष्कर्ष:
- यसरी शिक्षामा अमेरिकी सरकारले गर्ने लगानीको मोडेल हाम्रा लागि पनि अनुकरणीय बन्न सक्छ । नेपालको शिक्षाको समस्या भनेको एउटा त रोजगारमूलक शिक्षा भएन, डिग्री पास गरेको व्यक्ति वेरोजगार बस्नुपर्ने अवस्था छ, अर्को कुरा नेपालमा रोजगारीका अवसरहरू पर्याप्त भएन, देशको वातावरण पनि दक्ष जनशक्तिको लागि बसौं बसौं भन्नेजस्तो नभएपछि रोजगारी र जीवनचर्यालाई सहज बनाउन अवसरको खोजीमा वैदेशिक गन्तव्य खोज्न बाध्य हुनुपरेको यथार्थ हाम्रो सामु छर्लङ्ग छ । यसैगरी हाम्रो पाठ्यक्रम पनि विदेशमा कसरी एडजस्ट हुने, कसरी IELTS, Toefl, GRE ….. मा उत्तीर्ण हुने र विदेश जाने भन्ने खालको रहेको छ भन्ने पनि विज्ञहरुको टिप्पणी रहेको सुनिन्छ । यसलाई अन्त गरी नेपालमा नै संभावना र अवसर देखाउने र यहिंको माटो खनीखोस्री गर्ने र नेपालमा नै रोजगार गरी नेपालको सेवा गर्ने खालका जनशक्ति उत्पादन हुने खालको नेपालमैत्री पाठ्यक्रम तयार गर्नु जरुरी छ ।
- नेपालको शिक्षामा लगानी वास्तवमा बालुवामा पानी हालेजस्तो भएको छ, कक्षा १२ पास गरेपछि युवाहरू विदेशको सपना देख्ने, स्नातक गरेपछि विदेशका विश्वविद्यालयमा पढ्ने सपना देख्ने र जसरी हुन्छ पलायन हुने अवस्था सिर्जना भएकोले हाम्रो लगानी वास्तवमै खेर गएको छ । अर्को कटुसत्य के हो भने युरोप, अष्ट्रेलिया, अमेरिका र क्यानडा जाने युवाहरू ९९% नेपाल फर्कदैनन् …! यसर्थ नेपालको काम भनेको विदेशीका लागि आवश्यक उच्चस्तरको जनशक्तिका लागि आधार तयार गरिदिने मात्रै भएको छ । समग्रमा हेर्दा हामीले गरेको लगानीले हाम्रै लागि काम नगरेसम्म अथवा उत्पादित जनशक्ति नेपालमा नै बस्ने, योग्यता र क्षमता अनुसारको रोजगारी पाउने वातावरण नभएसम्म देश समृद्ध हुन सक्दैन । यस प्रकारको अवस्थाबाट मुक्ति पाउनका लागि पनि अमेरिकी मोडल अपनाउन सकिन्छ जसले उत्पादित जनशक्तिलाई नेपालमा नै रोजगारीको ग्यारेन्टी गरेर बौद्धिक पलायनलाई रोक्ने प्रयास गरोस् ।
- आधारभूत तहसम्मको शिक्षालाई पुर्ण निशुल्क बनाउने जुन राष्ट्रको दायित्व पनि हो । सबै तहमा सबैलाई (सम्पन्न वर्गका लागि पनि) नि:शुल्क शिक्षा भन्ने लोकप्रिय नारालाई अव पुनर्विचार गर्नुपर्ने हो कि । राज्यले सहयोग गर्ने अशक्त, असहाय र विपन्न वर्गलाई मात्र हो । सम्पन्न वर्गले आँफै खर्च गर्न सक्छ, कर पनि तिर्नसक्छ, उसलाई किन सहयोग गर्नुपर्यो र भन्ने कुरा निकै विचारणीय छ ।
- अर्को कुरा कक्षा १२ पास गरिसकेपछि विद्यार्थीलाई तीनवटा धार रोज्न दिने जसमा साधारण धार, प्राविधिक धार र उपल्लो तहको शिक्षा पढ्न नचाहनेका लागि व्यवसायिक तालिमको धार । यसका लागि बिना धितो सहज ऋण उपलब्ध गराउने र उत्तीर्ण भैसकेपछि रोजगारको ग्यारेन्टी गरिदिने । यसो भएमा विद्यार्थी आत्मनिर्भर हुन्छ, विदेश जानेकुरा पनि सोच्दैन र सरकारबाट लिएको ऋण पनि तिर्न सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको दक्ष जनशक्तिलाई योग्यता अनुसारको रोजगारी सुनिश्चितता हुनु जरुरी छ ।

- यसैगरी उच्च शिक्षा अन्तर्गत विश्वविद्यालय तहमा राज्यले ठुलो लगानी गर्नुपर्छ । यसमा विशेषत: अनुसन्धान र प्रयोगात्मक कक्षामा ठूलो लगानी आवश्यक पर्दोरहेछ । आज स्नातकोत्तर उत्तीर्ण व्यक्तिको हातमा सीप नभएर बेरोजगार बस्नुपरेको तीतो सत्य हाम्रा सामु छन् । अव यसको अन्त गराउनुपर्छ ।यसरी शिक्षामा गरिएको लगानीबाट उत्पादित दक्ष जनशक्तिले आफ्नै देशको सेवा गरुन् जस्तै अमेरिकामा ९६.२ प्रतिशत नागरिक रोजगारमा रहेका छन् र पो देश समृद्ध बनेको छ ……! यसरी हामीले पनि नेपालीमैत्री पाठ्यक्रम निर्माण गर्ने, आधारभूत तहसम्मको शिक्षा पूर्णतया: (व्यवहारमा नै) नि:शुल्क गराउने, उच्च शिक्षा ऐच्छिक गराउने, पढ्न चाहनेका लागि विनाधितो शैक्षिक कर्जा उपलब्ध गराउने, उत्पादित जनशक्तिलाई रोजगारीको ग्यारेन्टी गर्ने, विद्यार्थीमा लगानी गरेको उच्च शिक्षा कर्जा असुल गर्ने, देशबाट हुने बौद्धिक पलायनलाई पूर्णत: रोक्ने, विश्वविद्यालयहरुलाई पूर्ण रुपमा स्वायत्तता प्रदान गरी उत्कृष्ट अनुसन्धानको हवको रुपमा विकास गर्ने र नेपाली युवालाई आफ्नै देशमा बसौं बसौं भन्ने प्रकारको अनुकूल, युवामैत्री र व्यवसायिक वातावरण निर्माण गर्न सकेको खण्डमा हामीले भन्ने गरेको समृद्ध मुलुक निर्माणको सपना पुरा गर्न सकिन्थ्यो कि भन्ने लेखकको निष्कर्ष रहेको छ । धन्यवाद ।
ध्रुवराज पौडेल
उपसचिव, नेपाल सरकार










