गुणस्तरहीन कामको असर : भत्कियो दमौली खेलमैदानको पर्खाल
भञ्ज्याङ समाचारदाता/दमौली
गुणस्तरहिन काम हुँदा तनहुँको व्यास नगरपालिका-३ विपी वनवाटिकास्थित खेलमैदानमा निर्माण गरिएको पर्खाल भत्किएको छ । आइतबार परेको वर्षाले पर्खाल भत्किएको हो । नगरपालिकाले वि.सं. २०७६ सालमा सम्झौता गरी उपभोक्ता समिति मार्फत् उक्त काम गराएको थियो । कूल ५० लाख रुपैयाँको योजनामध्ये दश लाख रुपैयाँ अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । नगरपालिकाले सम्झौताकै वर्ष उपभोक्ता समितिलाई १३ लाख २० हजार रुपैयाँ पेश्की दिएको थियो । उपभोक्ता समितिले पर्खाल निर्माणको काम एकदमै गुणस्तरहिन गरेकाले कमजोरी लुकाउन केही समय अगाडि मात्रै पर्खालमा प्लाष्टर समेत गरेको थियो ।
नगरपालिकाले भने सम्झौता भएपछि उपभोक्ता समितिले प्राविधिकसँग समन्वय नगरी काम गरेको बताएको छ । उपभोक्ता समितिले गरेको काम प्राविधिक हिसाबले नभएपछि नगरपालिकाले वि.सं. २०७७ साउन २१ गते सम्झौता रद्द गरेको थियो ।
उपभोक्ता समितिमार्फत् १७ लाख रुपैयाँको काम भएको मूल्याङ्कनपछि नगरपालिकाले आफ्नो दायित्वको ८० प्रतिशत रकम फछ्र्यौट गरेको योजना कार्यान्वयन उपशाखाका नासु भेषराज तिवारीले जानकारी दिए । ‘उपभोक्ता समितिले पेश्कीबापत् लगेको रकममात्रै फछ्र्यौट भएको छ, थप रकम भुक्तानी भएको छैन’, उनले बताए । उपभोक्ता समितिमार्फत् भएका कामको नगरपालिकाका इन्जिनियरले मूल्याङ्कन गर्न नसक्ने भएपछि सम्झौता रद्द गरिएको नगरपालिकाले जनाएको छ । बिममाथिबाट पिल्लर उठेको हुनाले त्यो भन्दा माथि थप संरचना निर्माण गर्न नमिल्ने प्राविधिकले ठहर गरेका थिए । ‘इन्जिनियरिङ पाटोबाट जति मूल्याङ्कन गर्न सकिन्थ्यो त्यतिमात्रै मूल्याङ्कन भएपछि सम्झौता रद्द भइसकेको छ’, तिवारीले बताए ।
व्यास नगरपालिकाका योजना शाखा प्रमुख वरिष्ठ इन्जिनियर डा. राजु पौडेलले आफू घरायसी कामका कारण जिल्ला बाहिर रहेकाले नगरपालिकाका अर्का इन्जिनियरलाई यसबारेमा बुझन पठाएको जानकारी दिए । उपभोक्ता समितिका अध्यक्ष कुमार श्रेष्ठले भने पर्खाल भत्किएको विषयमा आफूलाई जानकारी नभएको र उक्त काम पहिल्यै आफूहरुले छाडिसकेको प्रतिक्रिया दिएका छन् । रासस










