तनहुँमा निर्माण गर्न लागिएको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढ्दै

तनहुँमा निर्माण गर्न लागिएको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाइएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत् निर्माण गर्न लागिएको तल्लो सेती जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।
आयोजनाका विभिन्न संरचनाका लागि आवश्यकपर्ने निजी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउने प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । जग्गा प्राप्ति ऐन, २०३४ मा भएको व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रारम्भिक अधिकारी तोकिएपछि आयोजनाका लागि आवश्यकपर्ने जग्गा अधिग्रहण सुरु गरिने उहाँको भनाइ छ ।
आयोजना अन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६.८ किलोमिटर लामो सुरुङमार्फत् सेती नदीको सङ्गमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ ।
आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३, १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने छ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ ।
अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुडँेगाउँसम्म विस्तार हुनेछ । आयोजनाबाट वार्षिक रुपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको अनुमानित लागत रु २५ अर्ब रहेको छ ।
आयोजनाका लागि लगानी सुनिश्चित गराउनसमेत पहल थालिएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणमार्फत् आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग सहजीकरण गरिदिन अनुरोध गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।
आयोजना प्रमुख भण्डारीका अनुसार विसं २०८१ मा बोलपत्र आह्वानको तयारी गरिएको छ । तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अघि बढाएको थियो ।
परामर्शदाताले पेस गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ । विज्ञ समूहले पेस गरेको आयोजनाको डिजाइन बमोजिम थप केही काम गर्ने तयारी गरिएको छ ।
कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३.५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इन्जीनीयरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजगात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत÷निप्पन कोइ जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker