हिमाल खुले, पर्यटकीय क्षेत्र खुल्न सकेनन् : तनहुँका पर्यटन व्यवसायी चिन्तित

  • नारायण खड्का (भञ्ज्याङ)

पर्यटकीय राजधानी पोखरासंगै जोडिएको जिल्ला हो तनहुँ । धार्मिक, साँस्कृतिक, ऐतिहासिक, प्राकृतिक, साहित्यिक लगायत विविध आयमले भरिपूर्ण तनहुँलाई ग्रामीण पर्यटनका हिसावले उत्कृष्ट गन्तव्यका रुपमा लिन सकिन्छ ।

ग्रामीण पर्यटन प्रवर्द्धनको मुख्य कडिका रुपमा रहेको होमस्टे (घरबास) तनहुँमा २५ वटा भन्दा बढि सञ्चालित छन् । कोरोना कहरका कारण यी होमस्टेहरु अहिले सुनसान बनेका छन् । नेपाल सरकारले चैत महिनादेखि लकडाउन गरेपश्चात अझै पनि जिल्लाका पर्यटकीय क्षेत्र पूर्णरुपमा खुल्न सकेका छैनन् ।

कोरोना कहरका कारण पर्यटकीय क्षेत्र सहजै खुल्न नसक्दा ग्रामीण क्षेत्रको पर्यटकीय गतिविधि थलपरेको छ । दशै तिहारको समय घुमफिरको समय हो । पर्यटकीय सिजन सुरु भएसंगै मौसमले पनि साथ दिएको छ । हरिया पहाडका तरेली, बेसी तथा उपत्यकामा बिहानी समयमा कुहिरोले ढपक्क ढाकिएको सुन्दरता, उत्तर तर्फदन्तलहर जस्तै सेतम्मे भएर ठडिएका मनमोहक हिमश्रृंखलाका दृष्यले पर्यटकलाई स्वागत गरिरहेका छन्। तर, कोरोना संक्रमण त्रासले सहजै पर्यटक घुम्न ननिस्कदा यी सुन्दर दृष्यहरु पनि एक्लिएका छन्।

तनहुँका पर्यटकीय क्षेत्र तथा होमस्टेमा यो समय आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ हुन्थे। विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले पर्यटन क्षेत्रमा नराम्ररी असर परेको भानु नगरपालिका-१३ मिर्लुङको टुटेपानी नमुना सामुदायिक होमस्टेका अध्यक्ष क्या. होम बहादुर गुरुङ बताउँछन् ।

‘कोरोना कहरको प्रत्यक्ष असर अहिले होमस्टेले झेल्दै आएका छन्’, अध्यक्ष गुरुङले भने, ‘ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्ने र गाउँमै रोजगारीको वातावरण सृजना गर्न लाखौ रुपैया लगानि गरी होमस्टेका पूर्वाधारहरु तयार गरेका छौं । तर, लामो समयदेखि पाहुनालाई स्वागत गर्न नपाउँदा हाम्रो लगानि पनि जोखिममा परेको छ ।’

‘घुमफिरका लागि यो मौसम उपयुक्त हो । तर, विगत आठ महिनादेखि नै पर्यटकीय क्षेत्र सुनसान हुँदा पर्यटन व्यवसाय थलपरेको छ’, पर्यटन विज्ञ हरिसिं गुरुङ भन्छन्, ‘ग्रामीण पर्यटन व्यवसाय फस्टाउँदै गएपछि तनहुँका १० वटै पालिकामा गरी करिब २५ भन्दा बढि सामुदायिक होमस्टे सञ्चालनमा आएका छन् । यो समय यी होमस्टे तथा जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकले खचाखच भरिनुपर्ने हो तर, अहिले यस्तो हुन सकेको छैन ।’ कोरोना कहरका कारण पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको र पर्यटन व्यवसायीहरुको लगानि पनि जोखिममा परेको पर्यटन विज्ञ गुरुङ बताउँछन् ।

ग्रामीण क्षेत्रमा पर्यटकीय गतिविधि बढ्दै गएपछि भानु नगरपालिका-१३ मिर्लुङको टुटेपानीका युवाहरु वैदेशिक रोजगारी छाडेर गाउँमै होमस्टे सञ्चालन गर्न थालेको होमस्टे व्यवस्थापन समितिका सचिव अमर गुरुङ बताउँछन् । उनले भने, ‘होमस्ट व्यवस्थापनमा राम्रै लगानी पनि गरेका छन् । तर, कोरोना कहरका कारण होमस्टेमा पाहुनलाई स्वागत गर्न नपाउँदा सञ्चालकहरु निराश बन्दै गएका छन् ।’

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल गण्डकी प्रदेशले तनहुँको टुटेपानी, पर्वतको भुक देउराली र बागलुङको रिगा सामुदायिक होमस्टेलाई यस वर्षो नयाँ गन्तव्यका रुपमा घोषणा पनि गरेको छ। गाउँमा होमस्टे सञ्चालन पछि स्थानीय महिलाहरुको दैनिकी मात्र होइन उनिहरुको जीवनशैलीमै परिवर्तन आएको टुटेपानीकी होमस्टे सञ्चालक कौशिला गुरुङ बताउँछिन् ।

‘कोही नयाँ मान्छे गाउँमा आउँदा बोल्न र आफ्नो नाम भन्न समेत लजाउने र डराउने हामी महिलाहरुको अहिले जीवनशैली परिवर्तन आएको छ’ उनले भनिन्, ‘गाउँमा होमस्टे सञ्चालनसंगै महिलाहरुको बोलीचाली देखि आर्थिक उपार्जनमा समेत टेवा पुगेको छ। सधै चुलोचौकामा सिमित हुने महिलाहरु अहिले पाहुनासंग सहजै आ-आफ्नो अनुभवहरु आदानप्रदान गर्दै सरकारी कार्यालयमा समेत आफ्ना माघहरु राख्न सक्ने भएका छन् ।’

टुटेपानीका ३० घरधुरीमध्ये १६ घरमा ६० बेड क्षमताको होमस्टे संचालन गरिएको छ । यो होमस्टेले पर्यटकलाई आकषिर्त गर्ने गरेपनि यहाँ पुग्नका लागि पर्यटकले कच्चि सडकका कारण निकै सास्ति झेल्नुपरेको भानु-१३ पयास्वाँराका संगम सुमिर पियाँ बताउँछन् ।

‘सडकको पूर्वाधार विकासका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारले कुनै चासो देखाएन’, उनले भने, ‘ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्य मिर्लुङकोट क्षेत्रको उचित प्रचार प्रसार सहज सडक सञ्जाल विस्तार नगरिदा ओझेलमा पर्दै आएको छ ।’

गुरुङ समुदायको संस्कृतिमा आधारित घाटु, सोरठी, चुट्का, पाङदुरे नाच जस्ता मौलिक लोक प्रस्तुतीमा रम्न चाहनेका लागि टुटेपानी उत्कृष्ट गन्तव्य हो । भुटेको मकै, साँधेको गुन्द्रुक, भटमास, कोदो र फापरको रोटी, कोदोको रक्सी, गाउँमै उत्पादन गरिएका स्थानीय जातका कुखुरा, खसीबोकाको मासु लगायतका खानाका परिकार यहाँका विशेषता हुन् । यीनै विशेषताका कारण टुटेपानी होमस्टे नमुना बन्दै गएपनि कोरोना चपेटका कारण पाहुनालाई स्वागत गर्न नपाउँदा होमस्टे सञ्चालकहरु चिन्तित छन् ।

सूर्योदयको मनोरम दृष्य । तस्विर : नारायण खड्का/भञ्ज्याङ

समुन्द्री सतहदेखि करिब १२७५ मिटर उचाईको उत्तरपूर्वमा रहेको टुटेपानी सामुदायिक होमस्टे ग्रामीण पर्यटनका लागि गण्डकी प्रदेशकै नमुना होमस्टेका रुपमा विकास भएको छ । गुरुङ समुदायको संस्कृति, सफा र स्वच्छ गाउँ, एकै रङका घरका छानो, ढुंगा छापिएका घरका आँगन, प्रत्येक घरको आँगनमा रङ्गिविरङ्गि फूलका साथै उत्तरतर्फदन्तलहर जस्तै ठडिएका हिमश्रृंखलाहरु यो होमस्टेका आकर्षण हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker