तनहुँमा शान्तिपूर्ण रुपमा मतदान जारी, दुई प्रतिनिधिसभा सदस्यका लागि २७ जना उम्मेदवार चुनावी मैदानमा

१ लाख ३० हजार ९०६ महिला र १ लाख २३ हजार ४९१ पुरुष गरी २ लाख ५४ हजार ३९७ मतदाता

तनहुँ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ । जिल्लाका १४४ मतदानस्थलका र ३०९ मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदाता सहभागि मतदान गरिरहेका छन् ।

निर्वाचनका लागि तोकिएको मतदान केन्द्रहरू, मतदाता तथा मतदान कार्यलाई शान्तिपूर्ण र भयरहित बनाउनका लागि आवश्यक सुरक्षा व्यवस्था चुस्त दुरुस्त गरी मतदान कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद उपाध्यायले बताए ।

सबैले सहज रुपमा मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दाे प्रबन्ध मिलाइएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न मुख्य निर्वाचन अधिकृत उपाध्यायले आग्रह गरेका छन् ।

यस्तै, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र १५३ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा ७५ मतदानस्थलमा १५६ मतदान केन्द्र कायम गरिएको छ । तनहुँका दुई प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल, स्वतन्त्र गरी २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी गराए ।

तनहुँमा पुरुष मतदाताको संख्या एक लाख २३ हजार ४९१ र महिलाको संख्या एक लाख ३० हजार ९०६ कायम छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको यहाँ क्षेत्र नम्बर १ मा एक लाख २६ हजार ८८२ र र क्षेत्र नम्बर २ मा एक लाख २७ हजार ५१५ मतदाता कायम छन् ।

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

मतदान गरेपछि मतदाताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । अधिकांश मतदाताहरुले आफुले मतदान गरी विजयी गराएको उम्मेदवारले देशमा शान्ति, सु–व्यवस्था, भ्रष्टाचारको अन्त्य र मुलुकको अस्तित्व संरक्षणमा भूमिका खेल्नुपर्ने अपेक्षा गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत तनहुँका केही उम्मेदवारहरूले आफैँलाई मतदान गर्न नपाउने भएका छन् । मतदाता नामावली अन्य निर्वाचन क्षेत्रमा रहेकाले उनीहरू आफ्नै उम्मेदवारी रहेको क्षेत्रमा मतदान गर्न नपाउने भएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवारहरू डा. स्वर्णिम वाग्ले, रामदत्त जोशी, रामलक्ष्मी दुवाल र प्रेमबहादुर थापा आफैँलाई मत हाल्न नपाउने भएका छन् । उनीहरूको मतदाता नामावली सम्बन्धित निर्वाचन क्षेत्र बाहिर रहेको जनाइएको छ ।

त्यस्तै, तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर भण्डारी र श्रीराम न्यौपाने पनि आफ्नै क्षेत्रमा मतदान गर्नबाट वञ्चित हुने भएका छन् । उनीहरूको मतदाता नामावली तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत भानु नगरपालिका क्षेत्रमा रहेको बताइएको छ ।

मतदाता नामावली स्थायी बसोबास वा पूर्व दर्ता गरिएको स्थानका आधारमा तय हुने भएकाले उम्मेदवार भए पनि नामावली रहेको स्थानमै मतदान गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यस्तै, मतदानदेखि मतपेटीका ढुवानी, व्यवस्थापन र गणनासम्मको सम्पूर्ण व्यवस्थापन गरिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्ययाले बताए । एउटै रुटबाट धेरै ल्याउने भन्दा पनि हरेक बुथबाट मिलाएर यथाशीघ्र राती १२ बजेसम्म दुईवटै निर्वाचन क्षेत्रमा संकलन गर्ने र बुझ्नका लागि पनि धेरैभन्दा धेरै टिम खटाएर मात पेटीका बुझ्ने र स्टोर गर्ने सबै व्यवस्थापन मिलाइएको उनले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker