तनहुँ समाज हङकङद्वारा क्यान्सर पीडितलाई ३ लाख ७५ हजार सहयोग

तनहुँ समाज हङकङले एक ब्लड क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । समाजले तनहुँको भानु नगरपालिका–१३ पोखरीछाप निवासी ५२ वर्षीया क्यान्सर पीडित जमुना गुरुङलाई आर्थिक सहयोग गरेको हो ।
गुरुङलाई नगद रु ३ लाख ७५ हजार सहयोग गरिएको हो ।सोमबार दमौलीमा समाजका पूर्व अध्यक्षहरु जंग थापा र भीमराज गुरुङले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गर्दै प्राप्त रकमको सदुपयोग गर्न अनुरोध गरे ।
१ वर्षदेखि क्यान्सरबाट ग्रसित भइ उपचारको क्रममा रहेकी गुरुङलाई विभिन्न सिलसिलमा हङकङ पुगेका ५७ जना तनहुँङ्गेबाट संकलन गरिएको २१ हजार २ सय ५४ हङकङ डलर हस्तान्तरण गरिएको समाजका पूर्व अध्यक्ष गुरुङले जानकारी दिए । पीडित परिवारबाट सहयोगको याचना भएपछी आफ्नै संयोजकत्वमा आर्थिक संकलन गरिएको उनले बताए ।
सहयोग रकम हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष थापाले विभिन्न रोगको सिकार बनेकाहरुको घाउमा मलम लगाउन पाउदा खुशी मिलेको बताए । उनले भने हामीले समाज सेवा गर्न संस्था सुरु गरेका हौंँ क्षमता अनुसार निरन्तर सहयोग गरिरहनेछौँ । साथै पीडित परिवारले वडा कार्यालयको सिफारिस सहित सहयोगको याचना गरेपछी सोही अनुसार रकम संकलन अभियान थालिदै आएको उनले जानकारी दिए ।
तनहुँ समाज हङकङले हालसम्म ८ जना मृगौला पीडित, एक जना मुटु रोगी, करेण्ट लागेर हात गुमाएका एक जनालाई र एक जना क्यान्सर पीडितलाई गरि लाखौं सहयोग गरिसकेको छ । यसका साथै विभिन्न प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई पनि समाजले सहयोग गर्दै आएको छ ।
०७२ सालको भुकम्प पश्चात जिल्ला विपत् कोषलाई ३ लाख ५० हजार र २४ वटा विद्यालयलाई जस्तापाता तथा नगद गरि १२ लाख भन्दा बढी आर्थिक सहयोग गरेको थियो । त्यस्तै ऋषिङका पहिरो पीडित परिवारलाई २ लाख ६४ हजार आर्थिक सहयोग गरेको बताइएको छ ।
समाजले जिल्लाको शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा पनि ठुलो आर्थिक सहयोग गर्दै आएको छ । भिमाद-४,साराडाँडा स्थित खानेपानी आयोजनालाई ३ लाख ८७ हजार, शुक्लागण्डकी नगरपालिका थप्रेकमा खानेपानीलाई ३ लाख र क्यामिन कोटथोकमा खानेपानी आयोजनालाई ५ लाख आर्थिक सहयोग गरेको समाजका पूर्व अध्यक्ष गुरुङले बताए ।
त्यस्तै गरी समाजले कोभिड संक्रमणका बेला तनहुँका १० वटै स्थानीय तहलाई नगद रु १५÷१५ हजार र व्यास नगर कोभिड अस्पताललाई २ लाख सहयोग गरेको थियो । भानु जन्मस्थलमा तनहुँ समाज हङकङ पुस्कालय निर्माणमा ५ लाख, प्रत्येक वर्ष तनहुँका १० वटा विद्यालयमा अध्ययनरत बहु-आपंगता भएका बालबालिकालाई निरन्तर ७ वर्षदेखि सहयोग गरेको पनि समाजले जानकारी दियो ।
कोभिडका कारण केही वर्ष रोकिएको उक्त कार्यक्रम यसै वर्षबाट सुरु हुने समाजका कार्यक्रम संयोजक प्रदीप काफ्लेले जानकारी दिए ।साथै यस वर्षबाट भानुको पुर्कोट स्थित चण्डिका बाल गृहलाई पनि सहयोग गर्ने योजना बनाइएको उनले बताए । समाजले तनहुँ समाज हङकङ युवा पत्रकारिता पुस्कार स्थापना गरी प्रत्येक वर्ष जिल्लामा क्रियाशिल २ जना पत्रकारलाई सम्मान पनि गर्दै आएको छ भने नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि पनि ७० हजार सहयोग गरेको काफ्लेले जानकारी दिए ।
बिगत १० वर्ष देखि जिल्लाको विभिन्न क्षेत्रमा सघाउदै आएको समाजले पहिलो पटक तनहुँका प्रसिद्ध धार्मिक स्थल छाब्दी बाराही र ढोर बाराहीमा एक एक थान घण्टी हस्तान्तरण गरेको थियो ।
सहयोगीहरुको नामावली













