बच्चा कोरल्न नेपाल आउने पर्यटक चरा

के.बि. मसाल

धेरैलाई अचम्म लाग्न सक्छ । चरा पनि पर्यटक हुन्छ भन्ने कुराले । प्रकृतिमा भएका जगंली जनावर मात्र होइन धेरै चराहरु पनि पर्यटक बनेर संसारमा घुमफिर गर्दछन् । आकाशमा उडदा चरालाई कसैले रोक्दैन । बन्द, हडताल र यस्तै अन्य कारणले पनि पर्यटक चराहरुलाई भिसा चाहिदैन उनिहरु आकाशमा उडन स्वतन्त्र हुन्छन कतै रोकतोक हुँदैन । कतिपय पर्यटक चराहरु घुमफिरकै क्रममा बिचरन गर्दछन् । बच्चा जन्माउछन् र आफ्नो बासस्थानतिर फर्कन्छन् ।

विश्वमा ११ हजार ३२ प्रजातिका चरा पाइन्छन् । चरा विज्ञहरुका अनुसार नेपालमा विश्वको करिब नौ प्रतिशत अर्थात् आठ सय ८७ प्रजातिका चरा पाइन्छन् । ती चरा हेर्न भनेर विदेशी पर्यटकहरु नेपाल आउने गर्दछन । विश्वमै दुर्लभ मानिने ४२ प्रजातिका चराहरु नेपालमा पाइन्छन् । उत्तरी ध्रुवमा हिमपातको सुरुआतसँगै हिउँदयामको बढदो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तर्राईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँसरी आउने गर्दछन् । खासगरी उत्तरी ध्रुवमा हिमपातको सुरुआतसँगै अनुकूल मौसम, सुरक्षित वासस्थान र चरनको खोजीमा बर्सेनि करिब १५० प्रजातिका पर्यटक चरा उत्तरी देश रुस, किर्किस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गर्दछन् । पर्यटक चराहरुमा करिब ५० प्रजाति त बाई पास नेपाल हुँदै भारत, पाकिस्तान र श्रीलकातिर जाने गर्छन् । पर्यटक चराहरु मध्य बार हेडेड गुजर अर्थात् खोया हाँस नामक चराले त सर्वोच्च शिखर सगरमाको घुमफिर समेत गर्दछ ।

हिउँदको समयमा आउने पर्यटक चराहरु अधिकांश समय कोशीटप्पु, बिसहजारी ताल, जगदिशपुर, घोडाघोडी ताल, शुक्लाफाँटाका ताल क्षेत्र र कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा आफ्नो गन्तब्य बनाउँछन् । पर्यटक चराहरुले पर्यटन व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा आर्थिक फाइदा नदिए पनि चराको महत्व मानिसको जीवनसँग जोडिएको हुन्छ । चराहरुले बालीनालीमा लाग्ने किरा खाएर बालीनाली संरक्षणमा चराको महत्वपूर्ण भूमिका रहन्छ । यस्तै चराले वातावरण स्वच्छ राख्न पनि उत्तिकै भूमिका खेलेका हुन्छन् । प्रकृतिका कुचिकार गिद्धले मरेका जनावरको सिनो खाएर वातावरण स्वच्छ बनाएर हैजा, रेविजजस्ता रोग फैलन रोक्दछ । लाटोकोसेरोले मुसा खाएर बाली नोक्सान गर्नबाट रोक्दछ । यसरी विभिन्न प्रजातिका चराले वातावरण संरक्षणमा मात्र होइन मानव जीवनलाई स्वस्थ्य रहन महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । आजभोलि खासगरी सिमसार क्षेत्रको विनाश, चराहरुको उडान मार्गमा हुने अवरोध, कृषिमा रासायनिक मलको बढदो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तनजस्ता कारणले जलपंक्षी विस्थापित हुँदै गएका छन् ।

चराहरु उडने भएकाले अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजिमा एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा बसाइँ सरी आउने-जाने गर्दछन् । पर्यटक चराहरु बीच-बीचमा बास बस्दै र केही सिधै उडेर हजारौं किलोमिटरको यात्रा र अनेकौ जोखिमहरु पार गर्दै नेपाल आउने गर्दछन् । पर्यटक चराहरु गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि सूर्य तथा ताराहरु, नदी, भौगोलिक श्रृंखला, चुम्बकीय दिशा आदिको सहारा लिने गर्दछन् । यसरी चराहरुले बसाइँसराइको बेला प्रयोग गर्ने बाटोलाई फ्लाई वे भनिन्छ । जाडो सकिँदै गर्दा हिउँदे आगन्तुक चराहरु आ-आफ्नो देश अर्थात् बासस्थानमा र्फकन्छन् । दक्षिणी मुलुकहरु र अफ्रिकाबाट हजारौ ग्रीष्मकालिन आगन्तुक पर्यटक चराहरु बच्चा कोरल्न नेपाल आउँछन् । पर्यटक चराहरु असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी नेपाल आउने करिब साठी प्रजातिका चराहरु कोइली प्रजातीको हुन्छन । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातीले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दछन् । चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई पनि हुर्काउँछ । नेपाल आउने अन्य चराहरुमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि पर्दछन् । ग्रीष्मकालीन आगन्तुक पर्यटक चराहरुको मुख्य बासस्थान भने बन जगलको आसपासका घाँसे मैदानमा हुने गर्दछ ।

नेपालमा चराहरुको अध्यन अवलोकन गर्न बेलायती, अमेरिकी, जर्मनीलगायत युरोप र अमेरिकाका पर्यटकहरु बढी आउने गरे पनि पछिल्लो समय एसियाली देश मलेसिया, थाइल्यान्ड, सिंगापुर, चीनलगायत देशका पर्यटकहरु पनि चराहरुकै अध्यन अवलोकन गर्न नेपालमा आउने गरेका छन । नेपालमा आउने कतिपय पर्यटकको उद्देश्य भनेको चरा अवलोकन गर्ने हुन्छ । वन जंगलमा कतिपय चरा ओथारो बसिसके हुन्छन् भने कति पोथी चराहरु भालेलाई आकर्षित गर्न नाचिरहेका हुन्छन् । कतिपयले गुँड बनाउने चुच्चो तिखारी बास बस्नको लागि गुँड बनाउने तयारी गरिरहेका हुन्छन् । विशेषगरी पद मार्गमा यात्रा गर्ने पर्यटकहरुले यस्ता दृष्यलाई रुचिपूर्ण अवलोकन गर्ने गर्दछन् । पर्यटकहरु प्रकृति प्रेमी हुन्छन । प्रकृति प्रेमी भएपनि मानिस स्वभावले नै प्रकृति भित्रको विविधता मन पराँउछ । त्यसैले त पर्यटकहरु वन जगंलमा चराहरुको सबै गतिबिधि खोज अध्यन गर्न रुचाउछन । चरा अवलोकन गर्ने पर्यटक निकै खर्चालु र लामो समय बस्ने पर्यटकहरुमा पर्दछन् । एउटा पर्यटकले आफूले हेर्न र क्यामरामा कैद गर्न खोजेको चरा र जंगली जनावर नदेखेसम्म बस्ने मन गर्दछन् । चाहे जति पैसा खर्च गरेर भए पनि त्यो पूरा गर्ने भएकाले यस्ता पर्यटकबाट राम्रो आम्दानी पर्यटन ब्यवसायीहरुले लिन सक्दछन्। अन्य पर्यटकबाट भन्दा चरा हेर्न आउनेबाट मुलुकलाई धेरै फाइदा हुन्छ । विशेषतः रिटायर्ड लाइफमा धनीमानीहरु चराहरुको अध्यन गर्न रुचाउछन । उनीहरुलाई हतार हुँदैन किनकि हतारिएर चरा देख्न सकिन्न । हप्तौं वा महिनौंसम्म नेपालमा बस्छन् र ठूलो रकम खर्च गर्छन् ।

नेपालको राष्ट्रिय चरो डाँफे हो । हाम्रो देश नेपालमा पाइने केही प्रचलित चराहरु काँडे भ्याकुर, कोकलसारा, काठ फोरुवा, लामपुच्छ्र्रे चरा, बकुल्ला, लाटोकोसेरो, मैनाचरी, काग, कोइली, चील, परेवा, बाज, चिबे, तित्रा, कोकले, च्याखुरा, प्याउँरा, मयुर, सारस, कालिज, गिद्ध, डाँफे, फिस्टो, मुनाल, सुगा, कुखुरा, चमेरो, ढुकुर, बट्टाइ, हाँस र हलेसो हुन् । काँडे भ्याकुर नेपालको पहाडी भेग र नेपालमा मात्र पाइने चरा हो । बर्डलाइफ इन्टरनेशनलका अनुसार नेपालको ३३ प्रजातिका चराहरु आइ.यू.सी.एन. रेडलिस्टमा सूचीकृत भएका छन् । जसलाई विश्वमा नै दुर्लभ भनिन्छ । शान्तिको प्रतीक मानिने परेवा, प्रकृतिका नर्तक-नर्तकी मयुर, मांसहारी बाघको सूचना दिने सारस, चोरचकारहरुको समेत सूचकका रुपमा लिइने सुगा, प्रकृतिका कूचीकार गिद्ध, ठाउँसरी बस भन्दै सूचनावाहकका रुपमा लिइने काग, झिसमिसे बिहानीको सूचक कुखुरालगायतका चराहरुले गर्दा नेपालमा चरा अवलोकन गर्ने पर्यटकहरु बर्षोनी बढदै गएका छन ।

काफल पाक्यो चरा आगन्तुक अर्थात् पर्यटक चरा हो । काफल पाक्यो, काफल पाक्यो भन्दै सुरिलो ध्वनि प्रवाहित गर्ने चरा वसन्त ऋतुमा नेपाल भित्रिने गर्दछ । काफल पाक्यो मात्रै होइन, कोहो कोहो भन्ने अर्को प्रजातिको पर्यटक चरा पनि चैत-वैशाखमा नेपाल भित्रिन्छ । करिब ६ महिना यतै विचरण गर्दछ । अण्डा कोरल्छन्, बच्चा हुर्काउँछन् र आफ्नै स्थायी बासस्थान फर्कन्छन् । काफल पाक्यो चराले चीनमा मेदेखि जुलाइसम्म, नेपाल र भारतमा मार्चदेखि अगस्तसम्म, बर्मामा जनवरीदेखि जुनसम्म र मलेसियामा जनवरीदेखि अगस्तसम्म बच्चा कोराल्छन् । काफल पाक्यो चराले कोइलीले जस्तै अरु चराका गुँड, खासगरी भ्याकुरको गुँडमा अण्डा पार्दछ र कोरलेपछि भ्याकुरले आफ्ना र काफल पाक्यो चराको चल्लामा कुनै भेदभाव नगरी हुर्काउँछ । यस्ता कुरा पर्यटकहरुले रुचिपूर्वक अध्ययन गर्दछन् । पहाडका जंगलहरुमा काफल पाक्यो चराले काफल पाक्यो ! काफल पाक्यो ! भन्दै कराएको सुनिन्छ । जुन समयमा काफल पाकेकै पनि हुन्छ । काफल पाकेपछि वनजंगल हराभरा हुन्छ । तर काफल पाक्यो चराको आवाजको अर्थ भने फरक छ । मानिसले काफल पाक्यो भनेर सुन्ने आवाज काफल पाक्यो चराको पोथीले भालेलाई आकर्षित गर्नका लागि निकालेको आवाज हो । अर्थात् भालेलाई बोलाएको हो। यही आवाजबाट भाले आकर्षित हुन्छ र सन्तान वृद्धि हुन्छ । यो आवाजबाट उसले आफ्नो क्षेत्र निर्धारण गरेको सन्देश अरु प्रजातिका चरालाई दिनेपनि गर्दछ ।

कतिपय गाउँमा पर्यटकहरुका लागि पदमार्ग समेत निर्माण गरेका छन् । वन जंगलको बाटोमा चराको चिरविर चिरविर आवाज पर्यटकहरुलाई गीत संगीतजस्तै लाग्छ । वन जंगलमा चराले आफ्नै भाषामा साथीसंगीसँग कुरा गरेको दोहोरो आवाज सुन्दा पर्यटकहरु रमाउँछन् । चराले काफल पाक्यो, काफल पाक्यो भन्दा निकै आनन्द मान्दै कतिपय पर्यटकहरु चराले काफल पाक्यो भन्दा चरासँगै स्वरमा स्वर मिलाएर काफल पाक्यो भन्दै रमाउछन् । पर्यटकहरु नयाँ चरा देख्यो भने घण्टौंसम्म हेरिरहने बानी हुन्छ । चराको गतिबिधी नियाल्ने, आवाज सुन्ने र फोटो खिच्न पर्यटकहरु मन पराउछन । धेरै पर्यटकहरुलाई रंगीविरंगी र टाढाबाट बसाइसराइ गरेर आउने चराहरुलाई मन पराउछन । चरा देख्नमा राम्रा हुन्छन् । कुनै साना त कुनै ठूला । तिनका आनीबानी हेर्दा र चिरबिर सुन्दा पर्यटकहरुको दुःख हराउँछ र मनमा शान्ति छाउँछ । त्यही आनन्द लिनको लागि पर्यटकहरु नेपाल आउछन । जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराहरुमा धेरै हाँस प्रजातिका चरा हुन्छन । अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झयाप्सी, भद्राइ आदि पर्दछन् । भदौ मध्यदेखि पुस मध्यसम्ममा पर्यटक चरा नेपाल आउने क्रम सुरु हुन्छ । पर्यटक चराहरुले फागुन मध्यदेखि स्थायी ठाउँमा फर्किने क्रम सुरु हुन्छ । चैतसम्ममा प्रायःजसो प्रजातिले नेपाल छाडि सकेका हुन्छन । तर बच्चा कोरल्न र हुर्काउन बाँकी रहेका केही प्रजातिका चरा गर्मीको प्रारम्भ सँगसँगै र्फकन्छन् । तर पनि असोजदेखि चैतसम्मको महिनालाई पर्यटक चराको मुख्य सिजनको रुपमा लिने गरिन्छ ।

मानव जीवनमा चराको ठूलो महत्व रहेको छ । जस्तै; प्रेम र शान्तिको प्रतीक, हुलाकी, दूत, सन्देशवाहक, प्रकृतिको कुचिकार, पारिस्थितिक पद्धतिको महत्वपूर्ण घटक, बिरुवाको परागसेचन, बिउ बिजन स्थानान्तरण समेत चराहरुबाट हुने गरेको छ । नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरिनै नेपालमै रहन्छन् भन्ने हुँदैन । नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइँ वर्षभरि नै निरन्तर चलिरहन्छ । आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन् । पछिल्लो समय पर्यटन चराहरुको बारेमा प्रचार प्रसार हुन थालेपछि हिउँदमा साइवेरियन चराको अध्ययन गर्न र लोपोन्मुख बिभिन्न जातिका जलचर, स्थलचर तथा जैविक विविधताको दृश्यावलोकन र खोज अनुसन्धान गर्न विभिन्न मुलुकका अध्ययनकर्ता तथा पर्यटकहरु नेपाल आउने गरेका छन । नेपालमा पर्यटनको विकास गर्न चराका लागि महत्वपूर्ण बासस्थानको नियमित अध्ययन, तथ्यांक अध्यावधिक तथा क्षेत्र विस्तार सम्भावित नयाँ क्षेत्रको पहिचान एवं विस्तृत अध्ययन अनुसन्धान र संरक्षणमुखी क्रियाकलापको खाँचो छ । आगन्तुक पर्यटक चराहरु हाम्रा पाहुना हुन् । पाहुनाको संरक्षण गर्नु र जैविक सन्तुलन कायम गर्नु हाम्रो कर्तव्य पनि हो । अब यसतर्फ सबैको ध्यान जान पर्दछ ।

चरा संरक्षण कुनै क्षेत्र विशेष र विशुद्ध एकल अभियानबाट हुन सक्दैन । बसाइँसर्राई गर्ने पर्यटक चराहरु एक देशबाट अर्को देशमा पनि जाने आउने गर्ने हुँदा संरक्षणका लागि अन्तरदेशीय सहकार्य हुनु पर्दछ । चराहरुको दीर्घकालिन संरक्षण गर्न स्थानीय समुदाय, राजनैतिक शक्ति, सरकारी, गैरसरकारी र निजी क्षेत्रको समन्वयात्मक क्रियाशीलता, एकीकृत सोंच, अवधारणा र कार्यक्रमहरुबाट सम्भव हुन्छ । चराहरुको अस्तित्व, संरक्षण र सम्वर्द्धनका लागि सबै पक्षबाट चरामैत्री वातावरणको सिर्जना आजको खाँचो हो । जसमध्ये एउटा वातावरणअन्तर्गत सीता, अशोक, ब्याम्बो गाज आदि रुखका विरुवा लगाउन पर्दछ । यी रुखमा रेडबर्ड, सुगा, लामपुच्छ्रे र काठफोरुवा, मलवा, पानी हाँसलगायतका चरा जोडीसहित वास बस्न आउँछन् । चेरी बोट प्रायः सबै चराले मन पराउने रुख हो । यसकारण मौसम तथा वातावरणका आधारमा आउने पर्यटक चराले मन पराउने तथा गुँड बनाउने खालका रुख बिरुवा, घाँसे मैदान, झाँडी, बुटयान आदिको पहिचान गरी वृक्षरोपण गरिनु पर्दछ । यसबाट चराको वासस्थानमा वृद्धि हुन्छ । चरा अवलोकन गर्ने पर्यटकहरुको संख्या बढ्छ । जसले गर्दा चरा अवलोकन पथप्रदर्शकको रोजगारीमा वृद्धि तथा पर्यटन क्षेत्र नै थप आयमूलक बन्न सक्दछ।

काफल पाक्यो चरालाई साहित्यकार स्रष्टाहरुले पनि प्रयोग गर्दछन् । काफल पाक्यो चरालाई अर्थात् शब्दलाई नेपाली कविता, आख्यान र उखानमा समेत विम्वका रुपमा प्रयोग भएको पाइन्छ । प्रजातन्त्रको काफल पाक्योदेखि काफल गेडी कुटुक्कलगायत धेरै गीतमा काफल र चरी प्रयोग भएका छन् । यही नामको एउटा फिल्मसमेत बनेको छ । नेपाल र भारतमा काफल पाक्यो चरीमा आधारित धेरै लोककथा लेखिएका छन् । नेपालका चराहरुका बारेमा धेरै पुस्तक लेखिएका छन् । तर अहिलेसम्म चरालाई पर्यटनसँग जोडने किसिमका पुस्तकहरु लेखिएका छैनन् भन्दा पनि हुन्छ । चरा अवलोकन क्षेत्रलाई टुरिष्ट फिल्ड गाइडमा जोडन पर्दछ । नेपालमा पाइने चराहरु कहाँ छन् ? तिनिहरु अवलोकन गर्न कुन मौसममा कसरी जाने ? त्यहाँसम्म कसरी पुग्ने, दूरी कति छ ? अवलोकन गर्न समय र खर्च कति लाग्छ ? बास बस्ने ठाउँ कस्ता छन् ? चरा अवलोकनका निम्ति गाइडहरुसँग कसरी सम्पर्क गर्ने भन्ने जानकारी समेटिएको चरासम्बन्धी पुस्तक लेख्न पर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker